२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जसपाको आधिकारिकतामा यादवको दाबी

आयोगमा बुझाए ३० जनाको हस्ताक्षर
राजेश मिश्र

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा दलको आधिकारिकतामा दाबी गरेका छन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरसँग विवाद उत्कर्षमा रहेका बेला यादवले राजनीतिक दलसम्बन्धी ऐनले गरेको दलको मान्यतासम्बन्धी विवाद निरूपणका लागि शुक्रबार आयोगमा निवेदन दिएका हुन् ।

जसपाको आधिकारिकतामा यादवको दाबी

दलको नाम, छाप, विधान, झन्डा, पदाधिकारी, निर्णय वा केन्द्रीय समितिको आधिकारिकताका विषयमा कुनै विवाद उत्पन्न भए त्यसको निरूपण हुनेसम्बन्धी व्यवस्था ऐनले गरेको छ । गत वर्ष वैशाख १० मा एकीकरण भएको जसपा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेर्ने दृष्टिकोणमै विवाद प्रारम्भ भएर विभाजनको अवस्थामा पुगेको छ ।

ठाकुर पक्ष केही माग पूरा भएको भन्दै ओली सरकारमा सहभागी भइसकेको छ । यादव भने ओलीलाई विस्थापन गरेर कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अर्को गठबन्धनमा छन् ।

दुई महिनायता ठाकुर र यादवले पार्टीको गतिविधि अलगअलग ढंगले सञ्चालन गरिरहेका छन् । दुवैले आफूलाई आधिकारिक दाबी गरिरहेका बेला अब त्यसको छिनोफानो गरिदिने विषय आयोगमा पुगेको हो । यादवले ऐनको दफा ४३ (ग) बमोजिम दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकताको विषयमा निर्णय गरिदिन आयोगलाई आग्रह गरेका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिमा आफूहरूको बहुमत रहेको उनको दाबी छ । ५१ सदस्यीय कार्यसमितिमा रहेका ३० जनाको हस्ताक्षर उनले आयोगलाई बुझाएका छन् । यादवले पार्टीको बैठकमा नआई ठाकुरले एकपक्षीय रूपमा गुट बनाएर काम गरिरहेको आरोप लगाउँदै त्यसमा रोक लगाएर आफूहरूलाई आधिकारिकता प्रदान गर्न माग गरेका छन् । आयोगले यसअघि दुवै अध्यक्षले एकले अर्कालाई गरेको कारबाहीलाई मान्यता दिएको थिएन ।

आयोगका सचिव सुरेश अधिकारीले यादव पक्षले पेस गरेका कागजात अध्ययन गरेर सचिवालयले आयोगसमक्ष पेस गर्ने जानकारी दिए । ‘आयोगले उपयुक्त देखे विवाद निरूपणको प्रक्रिया प्रारम्भ हुन्छ,’ उनले भने । आधिकारिकताको मागदाबीपछि आयोगले अर्को पक्षलाई जवाफ दिन १५ दिन समय दिनुपर्ने प्रावधान छ । समय माग गरिए आयोगले थप १० दिन दिन सक्छ । त्यसपछि दुवै पक्षलाई विवाद निरूपणका लागि सहमतिको अवसर दिनुपर्ने कानुनी प्रावधान छ । विवाद समाधान नभए आयोगले प्रमाणका आधारमा केन्द्रीय समितिको बहुमत रहेको पक्षलाई आधिकारिकता तथा अर्को पक्षलाई छुट्टै राजनीतिक दल दर्ताको अवसर दिने सक्नेछ ।

ऐनले आधिकारिकता टुंग्याउनलाई केन्द्रीय समितिको संख्यालाई महत्त्वपूर्ण मानेको छ । जसपाको विधानअनुसार केन्द्रीय समितिको संरचना बनिसकेको छैंन । आयोगमा केन्द्रीय कार्यकारिणी समितिको अभिलेख मात्रै छ । विधानले कार्यकारिणी समितिलाई केन्द्रीय समिति नबसेका बेला त्यसले प्रयोग गर्ने सबै काम गर्न तथा तत्काल सम्पादन गर्नुपर्ने विषयमा निर्णय लिने अधिकार दिएको छ ।

ठाकुर पक्षद्वारा समितिमा हेरफेर

जसपाका अध्यक्ष ठाकुरले केन्द्रीय कार्यकारिणी समितिमा हेरफेर गरिएको जानकारी आयोगलाई गराएका छन् । आयोगका सचिव अधिकारीका अनुसार समितिमा १७ जना सदस्य फेरबदल गरिएको विवरण ठाकुर पक्षबाट आएको बताए । ठाकुरले साविकको राजपामा रहेका र अहिले यादव पक्षमा लागेकाहरूलाई निकालेको तथा केही नयाँ सदस्य थपिएको जानकारी आयोगलाई दिएका छन् ।

दुई दिन अगाडि आयोगमा पठाइएको पत्रमा जेठ ३ गतेको निर्णयबाट कार्यकारिणी समितिमा सदस्य हेरफेर गरिएको उल्लेख छ । त्यस्तै, गत पुसको ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समितिमा सदस्य हेरफेरको अख्तियारी ठाकुरलाई दिने निर्णय गरेको दाबी आयोगमा गरिएको छ ।

प्रकाशित : असार ५, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?