जाजरकोटको कुशे पाटनमा बेपत्ता सात जनाको सकुशल उद्धार- समाचार - कान्तिपुर समाचार

जाजरकोटको कुशे पाटनमा बेपत्ता सात जनाको सकुशल उद्धार

भीमबहादुर सिंह

जाजरकोट — प्रहरीले जाजरकोटको कुशे पाटनमा बेपत्ता भएका गोठालाहरूको सकुशल उद्धार गरेको छ । हावाहुरीका कारण ४ दिनदेखि कुशे हिमालको जलजला पाटनमा हराइरहेका कुशे गाउँपालिका ८ र ९ का ७ जनालाई प्रहरीले उद्धार गरेको हो । 

कुशे गाउँपालिका ८ र ९ का ७ जना स्थानीय बेपत्ता भएको जलजला पाटन । तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर 

बेपत्ताको खोजी गर्नको लागि प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली २ दिन पैदल हिँडेर जलजला पाटन पुगेको थियो । शुक्रबार बिहान मौसम खुलेपछि प्रहरी टोली जलजला पाटनमा पुगेर बेपत्तालाई फेला पारेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।

गोठालाहरू पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएको डीएसपी थापाले बताए । चिसो र ४ दिनदेखि भोकै रहेका कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएकाले प्राथमिक उपचार सुरु गरिएको उनले बताए । भेडा, बाख्रा, गाईभैंसी पाटन छाड्न गएका उनीहरु ठूलो हावाहुरी पानीका कारण सम्पर्कविहीन भएका थिए ।

कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीया धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय बेपत्ता भएका थिए । हावाहुरीका कारण पाटनमा दर्जनौं पशुचौपाया मरेको डीएसपी थापाले जानकारी दिए । मौसम प्रतिकुल भएकाले पाटन पुगेको प्रहरी टोलीले के कति क्षति भयो भन्नेचाहिँ यकिन गर्न नसकेको उनको भनाइ छ ।

पाटनमा हराएकाको हवाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटले गृह मन्त्रालयलाई बिहीबार अनुरोध गरेको थियो । हेलिकप्टरद्वारा खोजी गर्न तयारी गरिरहेका बेला उनीहरूलाई पैदल नै गएको प्रहरी टोलीले उद्धार गरेको हो ।

प्रकाशित : असार ४, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्

किमले भने : उत्तर कोरिया अमेरिकासँग वार्ता र संघर्ष दुवैका लागि तयार रहनुपर्छ

इकान्तिपुर डेस्क

काठमाडौँ — उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग ‘वार्ता र संघर्ष’ दुवैका लागि मुलुक तयार रहनुपर्ने बताएका छन् । 

फाइल तस्बिर : केसीएनए/रोयटर्स

उत्तर कोरियाली नेता किमले बाइडेन प्रशासनप्रति पहिलो पटक सार्वजनिक रुपमा प्रतिक्रिया दिएका हुन् । बिहीबार बसेको सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले अमेरिकासँग ‘उपयुक्त रणनैतिक तथा सामरिक प्रतिवाद’ का आधारमा व्यवहार गर्नुपर्ने बताएका हुन् ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले नेता किमको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘महासचिवले संवाद र संघर्षका लागि तयार रहनुपर्ने कुरामा जोड दिनु भएको छ । विशेष रुपले हाम्रो मुलुकको गरिमाको रक्षा र स्वतन्त्रका विकासका लागि पूर्ण रुपमा मुलुक तयारी अवस्थामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।’

यस्तो कदमले उत्तर कोरियामा शान्तिपूर्ण वातावरणका साथै सुरक्षाको प्रत्याभूति हुने पनि किमको भनाइ रहेको थियो । उत्तर कोरियाका लागि भर्खरै नियुक्त भएका अमेरिकी दूत सुङ किम दक्षिण कोरिया आउनुभन्दा २ दिनअगाडि किम जोङ उनको प्रतिक्रिया सार्वजनिक भएको हो । सुङ किमले सियोलमा रहँदा दक्षिण कोरियाली र जापानी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका परमाणु मामिलासम्बन्धी विज्ञ विपिन नारंगले बाइडेन सत्तामा आए पनि उत्तर कोरियाले ‘पर्ख र हेर’ कै नीतिलाई निरन्तरता दिएको बताउँछन् । ‘यसले प्योङयाङले बल अहिले अमेरिकी कोर्टमा रहेको सोचिरहेको छ । उसले बाइडेन प्रशासन कसरी अघि बढ्छ भन्ने कुरालाई पर्खिरहेको छ,’ रोयटर्ससँग कुराकानीमा नारंगले भनेका छन्, ‘ तर पछिल्लो समय मुलुकमा देखिएको कोभिड-१९ र खाद्य संकटका कारण किमले संघर्ष नचाहेको देखिन्छ ।’

पछिल्लो समय उत्तर कोरियामा खाद्य संकट देखा परेको विभिन्न रिपोर्टहरुमा उल्लेख छ । पछिल्लो समय उत्तर कोरियामा महँगी बढेको बताइएको छ । दक्षिण कोरियाली समाचार संस्था एनकेन्युजका अनुसार अहिले उत्तर कोरियामा एक किलो केराको भाउ ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ ।

प्रकाशित : असार ४, २०७८ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×