२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कतार र टर्कीका लागि हुने उडान दोब्बर बनाइयो

सुरज कुँवर

काठमाडौँ — युरोप र अमेरिका लक्षित हुने चार्टर उडानबाट नेपाली ट्राभल एजेन्सीले कम्तीमा तेब्बर भाडा असुल्न थालेपछि सरकारले कतार र टर्कीको उडान दोब्बर बनाएको छ ।

कतार र टर्कीका लागि हुने उडान दोब्बर बनाइयो

पर्यटनमन्त्री उमाशंकर अरगरियाले चार्टर उडानमा यात्रुको गुनासो सुनिएकाले सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकले नेपालबाट कतारको दोहा र टर्कीको इस्तानबुलका लागि हुने नियमित उडानलाई दोब्बर बनाइएको बताए ।

‘चार्टर उडानमा भइरहेको मनपरीलाई कम गर्न जेठ १९ देखि सातामा एक उडान मात्र खुला गरिएका मुलुकमध्ये कतार र टर्कीमा सातामा दुईटा उडान गर्ने निर्णय भएको छ,’ पर्यटनमन्त्री अरगरियाले बिहीबार साँझ कान्तिपुरसँग भने ।

उनका अनुसार मन्त्रिपरिषदको सोमबारको निर्णय पर्यटन मन्त्रालयमा आइसकेको छैन । ‘मन्त्रिपरिषदको निर्णयको पत्र प्राप्त हुने बित्तिकै भइरहेकाउडान दोब्बर हुने छन्,’ हाल गृह जिल्ला जनकपुर रहेका पर्यटनमन्त्री अरगरियाले भने ।

यो निर्णय अनुसार अब नेपाल वायुसेवा निगम र कतार एयरवेजले सातामा दुईटा (आउने र जाने गरी चारवटा) उडान गर्ने छन् । त्यस्तै, सातामा एउटा मात्रै उडान गर्दै आइरहेको टर्किस एयरलायन्सले पनि दुईटा उडान गर्न पाउने छ ।

पर्यटनमन्त्रीले आन्तरिक उडान पनि चाँडै सञ्चालनमा ल्याइने तर मिति तय भइनसकेको बताए । ‘पहिले अन्तर्राष्ट्रिय उडान खुल्दै जानेछन्,’ उनले भने, ‘त्यसपछि आन्तरिक वायुसेवा पनि खुलाइने छ ।’

चार्टर उडानमा एजेन्ट र वायुसेवाको मिलोमतोमा भइरहेको मनपरी भाडाबारे आफूलाई प्रमाणसहित जानकारी प्राप्त भएमा विदेशी वायुसेवालाई निलम्बन सम्म गर्ने उनले बताएका छन् ।

यसैबिच सीसीएमसीले मलेसिया, साउदी अरब, युएई र जापानमा नियमित उडान सुरु गर्न सकिने सिफारिस गरेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । त्यसैगरी पर्यटन मन्त्रालयले पनि केही अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान खोल्न प्रस्ताव पठाएको जनाएको छ । ‘शुक्रबार बिहान छलफल छ । होटल क्वारेन्टाइनबारे टुंगाे लागेसँगै केही मुलुकमा थप उडान सुरु गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव गरेका छौं,’ पर्यटन मन्त्रालयका एक सहसचिवले भने ।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएपछि सरकारले २० गतेदेखि आन्तरिक र २३ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । नियमितमा रोक लगाइएपनि चार्टर उडानको टिकटमा केही नेपाली ट्राभल एजेन्टले मनपरी गर्न थालेपछि सरकारले जेठ १९ बाट भारतसहित, चीन, कतार र टर्कीकालागि सर्तसहित संख्या तोकेर नियमित उडान खुला गरेको थियो ।

प्रकाशित : असार ३, २०७८ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?