हावाहुरी चलेर कुशे पाटनमा ७ जना बेपत्ता

७ दर्जन पशुचौपाय मरे 
भीमबहादुर सिंह

जाजरकोट — हावाहुरीमा परेर कुशे पाटनमा ७ जना बेपत्ता भएका छन् । भेँडा, बाख्रा, गाईं, भैंसी लगायत पाटन छाड्न गएका कुशे गाउँपालिका ८ र ९ का ७ जना स्थानीय पाटनको जलजलाबाट बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय च्रन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीय धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय छन् ।

हावाहुरी चलेर कुशे पाटनमा ७ जना बेपत्ता

पाटनमा पशुचौपाय छाड्न गएका उनीहरु गत मंगलबारदेखि हावाहुरीमा परेर जलजलाबाट बेपत्ता भएका हुन् । गाईं, भैंसी, भेँडा लगायतका पशुचौपाय लिएर ११ जना गत जेठ ३१ गते पाटन पुगेका थिए । जसमध्ये २४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीय गंगा रोकाय घर फर्केको र अन्य ७ जना पाटनमै बैपत्ता भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए । तीन दिनपछि पाटनबाट फर्केका कुशे–९ पैंकका भक्तबहादुर रोकायले प्रहरी चौकी पैंकमा खबर गरेपछि घटनाबारे थाह भएको प्रनाउ थापाले बताए ।

बेपत्ता भएकाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली पाटनतर्फ गएको प्रहरी प्रमुख थापाले बताए । घटनास्थल रहेको कुशे हिमालको जलजला पाटनमा पुग्न प्रहरी चौकी पैंकबाट दुई दिन पैदल हिँड्नु पर्ने उनले बताए ।

भारी वर्षात् र हावाहुरीका कारण पाटनमा पुगेर बेपत्ताको खोजी गर्न कठिनाई रहेको उनले बताए । प्रतिकूल मौसम, हाइ अल्टीच्युट, कठिन भूगोल, टेलिफोन सुविधा नहुनुलगायत कारण बेपत्ताको खोजी गर्न चुनौती भएको उनको भनाइ छ । स्थानीय र प्रहरी टोली कुशे हिमालको फेदीमा पुगेको र हावाहुरी तथा चट्याङका कारण लेक चढ्न नसकेको उनी बताउँछन् ।

हावाहुरी (वौका) र चट्याङले कुशे पाटनमा १० भैंसी, २२ गाई र ५५ भेँडाबाख्रा मरेका छन् । कुशेमा टेलिफोनको नेटवर्क नहुँदा बुधबार रातिमात्रै घटनाबारे खबर आएको थापाले बताए । कुशे गाउँपालिकाका स्थानीयले जेठदेखि भदौ महिनासम्म हजारौं पशुचौपाय चरीचरणका लागि कुशे पाटनमा राख्ने गर्दछन् । भेडा बाख्रा लगायत पशु चौपाय चरीचरण गर्ने कुशे पाटन ४ हजारदेखि ४ हजार ८ सय मीटरको उचाईमा रहेको छ ।

प्रकाशित : असार ३, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?