कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ठाकुरले थपे कार्यकारिणी सदस्य

काठमाडौँ — आफ्नो पक्षमा बहुमत नजुटेपछि जसपा अध्यक्ष महन्थ ठाकुरले एकपक्षीय रूपमा केन्द्रीय कार्यकारिणी समिति विस्तार गर्दै त्यसको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

ठाकुरले थपे कार्यकारिणी सदस्य

एकीकृत पार्टीको नाम दर्ता गर्ने क्रममा जसपाले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको विवरण आयोगमा बुझाएको थियो । उक्त समितिका सदस्यहरूमा अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत रहेपछि ठाकुर समस्यामा छन् ।

ठाकुर र यादव पक्ष एकअर्काविरुद्ध कारबाहीमा उत्रिएपछि त्यसको वैधानिकताको विवाद आयोगमा पुगेको थियो । आयोगले दुवै पक्षलाई केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहितको विवरण पेस गर्न भनेको थियो ।

यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयसहित विवरण पेस गरेको थियो । ठाकुर पक्षले पेस गर्न ढिलाइ गरेपछि आयोगले पछिल्लो पटक दिन किटान गरेरै सात दिन समय दिएको थियो । तर ठाकुर पक्षले विवरण पेस गर्नुअघि नै आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

आयोगको निर्णयपछि अध्यक्ष ठाकुरले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थपेर विवरण आइतबार पेस गरेका हुन् । ‘अध्यक्ष ठाकुरजीसँग २४ जनाको हस्ताक्षर पहिल्यै थियो । कोरोनाको समस्या नभएको भए बहुमत पुग्थ्यो, केही साथी बाहिर भएकाले आउन सक्नुभएन, अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी थप १० जना थपेर आयोगमा बुझाउनुभएको हो,’ शुक्लले भने । उनका अनुसार आयोगले आफूहरूको विवरण बुझाउनुअघि नै निर्णय लिइसकेकाले त्यसको प्रयोजन भने समाप्त भएको बताए ।

ठाकुरले केन्द्रीय कार्यकारिणी समितिमा सदस्य थप गरेको विषयलाई लिएर उनकै समूहका केही नेता भने असन्तुष्ट छन् । ठाकुरनिकट नेता जितेन्द्र सोनलले भने अध्यक्ष ठाकुरले थप २० जना सदस्य केन्द्रीय कार्यकारिणी समितिमा थप गरेको बताए । कार्यकारिणी समितिमा सदस्य थपघट गर्न ठाकुरलाई यसअघि नै अधिकार दिइएको उल्लेख गर्दै उनले भने, ‘कार्यकारी समिति पुनर्गठन गर्ने अधिकार पहिलो अध्यक्ष ठाकुरलाई दिएको छ । त्यही अधिकार प्रयोग गरेर उहाँले २० जना सदस्य थप गर्नुभएको हो ।’

प्रकाशित : असार २, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?