नारायणी नदीमा बहाव बढ्दो, सजगता अपनाउन स्थानीयलाई प्रशासनको आग्रह

नवीन पौडेल

परासी — नारायणी नदीको गण्डक ब्यारेजमा पानीको बहाव बढ्दो अवस्थामा रहेकोले जोखिम बढेको छ । मंगलबार दिउँसो ४ बजे पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा २ लाख ५० हजार क्युसेक पानीको बहाव रहेकोमा राति ८ बजेर ३० मिनेट जाँदा पानीको बहाव बढेर २ लाख ९७ हजार पुगेको छ । 

नारायणी नदीमा बहाव बढ्दो, सजगता अपनाउन स्थानीयलाई प्रशासनको आग्रह

पानीको बहाव बढ्दा बाढी बस्तीमा पस्ने खतरा बढेपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ । नदीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिंह थापाले बताए ।‘पानी पर्न रोकिएको भए पनि नारायणीमा पानीको बहाव उच्च छ । पहाडीभेगको पानी ब्यारेजसम्म आउँदा थप बाढीको जोखिम छ’, उनले भने,‘गण्डक ब्यारेज जीर्ण हुँदै गएकाले तीन लाख क्युसेक पानीभन्दा बढी बहाव भयो भने खतराको संकेत हुन सक्दछ । ’

नदीमा पानीको सतह बढेपछि गण्डक क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह प्रशासनले आग्रह गरेको छ । गण्डक ब्यारेजमा ४ लाख क्युसेक पानीको बहावमा खतराको सुचक मानिने भएपछि संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको बहावमा नै खतराको संकेत मानिन्छ । नारायणी नदीमा पानी बढेपछि त्यसको सहायक खोलाहरुमा पनि पानीको सतह ह्वात्तै बढेको छ । पूर्वी र पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले नदी आसपासमा बस्ने सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेका छन् भने चार वटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेका छन् ।

प्रकाशित : असार १, २०७८ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?