नारायणी नदीमा बहाव बढ्दो, सजगता अपनाउन स्थानीयलाई प्रशासनको आग्रह- समाचार - कान्तिपुर समाचार

नारायणी नदीमा बहाव बढ्दो, सजगता अपनाउन स्थानीयलाई प्रशासनको आग्रह

नवीन पौडेल

परासी — नारायणी नदीको गण्डक ब्यारेजमा पानीको बहाव बढ्दो अवस्थामा रहेकोले जोखिम बढेको छ । मंगलबार दिउँसो ४ बजे पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजमा २ लाख ५० हजार क्युसेक पानीको बहाव रहेकोमा राति ८ बजेर ३० मिनेट जाँदा पानीको बहाव बढेर २ लाख ९७ हजार पुगेको छ । 

पानीको बहाव बढ्दा बाढी बस्तीमा पस्ने खतरा बढेपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ । नदीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिंह थापाले बताए ।‘पानी पर्न रोकिएको भए पनि नारायणीमा पानीको बहाव उच्च छ । पहाडीभेगको पानी ब्यारेजसम्म आउँदा थप बाढीको जोखिम छ’, उनले भने,‘गण्डक ब्यारेज जीर्ण हुँदै गएकाले तीन लाख क्युसेक पानीभन्दा बढी बहाव भयो भने खतराको संकेत हुन सक्दछ । ’

नदीमा पानीको सतह बढेपछि गण्डक क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह प्रशासनले आग्रह गरेको छ । गण्डक ब्यारेजमा ४ लाख क्युसेक पानीको बहावमा खतराको सुचक मानिने भएपछि संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको बहावमा नै खतराको संकेत मानिन्छ । नारायणी नदीमा पानी बढेपछि त्यसको सहायक खोलाहरुमा पनि पानीको सतह ह्वात्तै बढेको छ । पूर्वी र पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले नदी आसपासमा बस्ने सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेका छन् भने चार वटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेका छन् ।

प्रकाशित : असार १, २०७८ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्

मेलम्ची नदीमा भीषण बाढी : केही बेपत्ता भएको आशंका

अनिश तिवारी

सिन्धुपाल्चोक — ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबार आएको बाढीले इन्द्रावती मेलम्ची लगायतका करिडोर क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ । दिउँसोदेखिको अविरल वर्षाका कारण मेलम्ची नदीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म, रिसोर्टमा कार्यरत केहीलाई बगाएर बेपत्ता बनाएको अपुष्ट खबर आएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाकाअनुसार हेलम्बुदेखि मेलम्ची बजारक्षेत्र भन्दा तल्ला भेगसम्मका गरी स्थानीय सोधपुछका आधारमा ३ जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ । ‘अहिले सुरक्षामा र तत्कालीन व्यवस्थापन उद्धारमा व्यस्त छौं, कति जना को को भन्ने सम्पूर्ण विवरण प्रस्ट खुलेको छैन, बाढीले नदी किनारक्षेत्रका अधिकांश संरचना तहसनहस बनाएकोबारे बुझ्दैछौं, ’उनले भने । अविरल वर्षातले मुहानस्थलबाट नै उर्लिएर आएको मेलम्ची नदीको बाढी हेलम्बु पुगेपछि त्रसित स्थानीय र सुरक्षाकर्मी सुरक्षित स्थानमा सरेको उनले सुनाए ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाब बेलुकी करिब ६ बजेबाट क्रमश: बढ्दै आएको थियो । मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प ध्वस्त बनाएर उर्लिएको बाढीले क्रमश: वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग चलेको थियो । ‘क्षति र बेपत्ताबारे विस्तृत विवरण आउन बाँकी छ, ’डिएस्पी सापकोटाले भने ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाअनुसार हेलम्बु भेगमा मात्रै ४/५ जना बेपत्ता भएको अनुमान छ । मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ किउल, ग्याल्थुम र मेलम्ची नदी आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ । 'जताततै पुल सडक बगाएको छ, जसबारे बुझ्दैछौं, यकिन विवरण आइसकेको छैन,' उनले भने ।

हेलम्बु गापा २ किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारसम्म एक दर्जनभन्दा बढी स्थानीय घर छाडेर सुरक्षित छिमेकी या अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । मेलम्ची नगरका स्थानीय सुचिन सुवेदीले इन्द्रावती गाउँपालिका र मेलम्ची नगर जोड्ने पुल मेलम्ची नदीले बगाइसकेको बताए । ‘यहाँ बिजुली छैन, हामी सबै नगरपालिका र अन्यतिर सुरक्षित स्थानमा सरेका छौं,’उनले भने ।

स्थानीयलाई नदी आसपासका क्षेत्रमा जान नदिन र सुरक्षाकर्मीले घेरा हालेर सावधानी अपनाइरहेका छन् । मेलम्ची नदी किनारक्षेत्रका केही घरमा बाढी पस्ने जोखिम भएपछि त्यहाँका परिवारलाई स्थानीय विद्यालयमा ल्याएर आश्रय दिइएको स्थानीयले बताएका छन् । त्यसैगरी भोटेकोसी नदीको सतह बढेपछि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित : असार १, २०७८ २२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×