एमाले सुदूरपश्चिम संसदीय दलद्वारा ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय

निलम्बन गरिएकामा पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरा रहेका छन्
अर्जुन शाह

धनगढी — ह्वीप उल्लंघन गरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको सोमबार बसेको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ । 

एमाले सुदूरपश्चिम संसदीय दलद्वारा ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय

निलम्बन गरिएकामा पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरा रहेका छन् । उनीहरुमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय गरिएको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् ।

जेठ २५ गते मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णयका विरुद्ध अध्यक्ष ओली पक्षधर उनीहरुले दलको ह्वीप उल्लंघन गरेका थिए । त्यस अभियोगमा उनीहरुलाई दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टिकरण सोधेका थिए । आइतबार निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रमको समेत उनीहरुले विपक्षमा मत जाहेर गरेका थिए ।

निलम्बनको निर्णयमा परेका सांसदहरुले भने दलको विधान नै वैधानिक नभएकाले त्यसको कुनै औचित्य नभएको बताएका छन् । ‘संसदीय दलको विधान केन्द्रिय कमिटिबाट अनुमोदन हुनुपर्ने नियम छ, त्यो भएको छैन्,’ सांसद बोहराले भने, ‘हामीले पार्टी निर्देशन मान्य हो । पार्टीले विपक्षमा मतदान गर्न निर्देशन गरेको हो ।’ दलको बैठकमा निलम्बन गरिएका सांसदहरु पनि उपस्थित थिए ।

संसदीय दलले गरेको निर्णय सभामुखले स्वीकृत गरी सूचना टाँस गरेमा मात्र उनीहरु निलम्बनमा पर्ने छन् । ‘अब सभामुखको हातमा छ, हामी त भोलि संसद बैठकमा जान्छौ,’ सांसद बोहराले भने ।

प्रकाशित : जेष्ठ ३१, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?