१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरकारको दबाबमा सांसद वैद्यविरुद्ध जाहेरी दर्ता गरिएको कांग्रेसको आरोप

सुवास विडारी

मकवानपुर — राजनीतिक प्रतिशोधका आधारमा सरकारको दबाव र प्रभावका कारण आफ्नो पार्टीका प्रदेशसभा सदस्य नरोत्तम वैद्यमाथि हत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता गरिएको प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ ।

सरकारको दबाबमा सांसद वैद्यविरुद्ध जाहेरी दर्ता गरिएको कांग्रेसको आरोप

प्रदेशसभा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेकोभन्दै संसदीय मर्यादाविपरित अभिव्यक्ति दिएका थिए । उनीविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सत्तारुढ एमालेको भातृ संगठन युवा संघका जिल्ला सदस्यले हत्या दुरुत्साहनको आरोपमा मुद्दा चलाउन जाहेरी दर्खास्त दर्ता गराएका हुन् ।

कांग्रेस वाग्मती प्रदेश संसदीय दल नेता इन्द्रबहादुर बानियाँले सोमबार विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा देशमा व्याप्त चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितीको विश्लेषण गर्दै उदाहरणको क्रममा भावावेशमा आएर प्रधानमन्त्रीप्रति लक्षित गरी अभिव्यक्ति दिएको बताएका छन् । ‘वैद्यको अभिव्यक्ति पार्टीको आदर्श, नीति र संसदीय अभ्यास र गरिमा विपरीत भएकाले अभिव्यक्ति फिर्ता लिन लगाएका हौं । सदनको रेकर्डबाट हटाउन सभामुखलाई औपचारिक रुपमा अनुरोध गरिसकेका छौं । सोहीअनुसार रेकर्डबाट समेत हटाइसकिएको छ । यस्तो अवस्थामा राजनीतिक प्रतिशोधका आधारमा सरकारको दबाव र प्रभावमा हत्या दुरुत्साहनमा प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधानको धारा १८७ मा प्रदेशसभाको विशेष अधिकारको उपधारा १ मा संविधानको अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रता हुनेछ । प्रदेशसभामा व्यक्त गरेको कुनै कुरा वादिएको कुनै मतलाई लिएर प्रदेशसभा सदस्यलाई पक्राउ गर्ने थुनामा राख्ने वा निजउपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने संवैधानिक व्यवस्थाको पूर्णरुपमा बर्खिलाप बद्नियतपूर्ण तवरबाट जाहेरी दर्ता भएकोमा संसदीय दल गम्भीर आपति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेश सभाको विशेषाधिकारको हनन् गर्दै प्रदेशसभाको मानहानी गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा रहेको र प्रहरी अनुसन्धान अधिकारीलगायत सरकारका कुनै पनि निकायलाई यसो गर्ने कानूनी अधिकार नभएको कांग्रेस संसदीय दलका नेता बानियाँको दाबी छ । उनले प्रहरीले जोहरी दर्ता गरेर संवैधानिक मूल्यमान्यता र संसदीय अभ्यासमा गम्भीर आघात पुर्‍याएको बताए । ‘संवैधानिक व्यवस्था विधिका शासन र प्रचलित कानुनविपरित गरेको यस्तो कार्यको आवश्यक परेमा प्रदेशसभामा सशक्त प्रतिवाद गर्नेछौं,’ उनले भने ।

यो पनि पढ्नुहोस्ः

प्रधानमन्त्रीबारे वैद्यको आपत्तिजनक अभिव्यक्ति, चौतर्फी आलोचना

नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा माफी मागे

प्रकाशित : जेष्ठ ३१, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?