३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाढी आए आपतकालीन कार्य गर्न असमर्थ रहेको भन्दै खाँडो नदी आयोजनाले उठायो हात

अवधेशकुमार झा

राजविराज — खाँडो नदीमा यसवर्ष बाढी आए आपतकालीन नियन्त्रणका कार्य गर्न असमर्थ रहेको भन्दै खाँडो नदी व्यवस्थापन आयोजना राजविराजले हात उठाएको छ । 

आयोजनाले सप्तरीका स्थानीय तहहरुलाई पत्राचार गर्दे आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रममा आपतकालीन नदी नियन्त्रणतर्फ बजेट नछुटयाइएकाले वर्षापछि बाढी आए आपतकालीन नदी नियन्त्रण कार्य गर्न असमर्थ रहेको उल्लेख गरेको छ ।

खाँडो नदीबाट रुपनी र तिलाठी कोईलाडी गाउँपालिका तथा राजविराज नगरपालिका अत्यधिक प्रभावित हुँदै आएका छन् । हरेक वर्ष खाँडो नदीको बाढीका कारण विस्थापन हुनेको संख्या बढ्दै गएको छ ।

असार,साउन र भदौ महिनामा भारी वर्षा कारण खाँडो नदीमा आउने बाढीले नदी किनार कटान गरी जग्गा बगरमा परिणत गर्ने तथा नदी किनारका गाउँबस्तीमा प्रवेश गरी ठुलो धनजनको क्षति गर्दै आएको छ ।

यसवर्ष विगतका वर्षभन्दा बढी नै वर्षा हुनेका साथै लामो समयसम्म मनसुन रहने भएकाले बाढीजन्य प्रकोपबाट सम्बन्धित निकायहरुले समयमै सर्तकता अपनाउन आयोजना प्रमुख रेवाकान्त यादवको बताएका छन् । ‘आपतकालीन नदी नियन्त्रण समबन्धी बजेट कटौती हुँदा बाढीजन्य विपद् व्यवस्थापन कार्य गर्न खाँडो नदी व्यवस्थापन आयोजना राजविराज सप्तरी असमर्थ भएको व्योहोरा अनुरोध छ,’ आयोजना प्रमुख यादवले पालिकाहरुलाई लेखेको पत्रमा भनिएको छ ।

नेपाल सरकारबाट आपतकालीन नदी नियन्त्रणतर्फ बजेट व्यवस्थापन गराउनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गर्दै आयोजना प्रमुख यादवले बजेट व्यवस्थापन नहुन्जेल आ-आफनो क्षेत्रमा सम्बन्धित पालिकाबाटै आपतकालीन नियन्त्रणका कार्यहरु गर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।

बाढी आउने समयमा सरकारले आपतकालीन कार्यका लागि बजेट नछुट्याउनु गम्भीर लापरबाही भएको पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवले बताए । उनले भने,‘यो गम्भिर विषय हो,संवेदनशील विषयमा सरकार हात उठाउनु गैर जिम्मेवारीपूर्ण हो ।’

प्रकाशित : जेष्ठ ३१, २०७८ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?