२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आफैले तोकेको निर्वाचन गराउन सरकार तयार छैन : पूर्वमन्त्री पुन

काशीराम डाँगी

रोल्पा — पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकार निर्वाचन गराउने ‘मुड’मा नभएको बताएका छन् । उनले कोरोना महामारी नियन्त्रणमा सुस्त गतिमा सरकार लागेकाले सत्ता टिकाउनमै ध्यान दिएको समेत आरोप लगाए ।

आफैले तोकेको निर्वाचन गराउन सरकार तयार छैन : पूर्वमन्त्री पुन

‘आफैले तोकेको निर्वाचन गराउन सरकार तयार छैन ।’ स्वास्थ्य सामग्री लिएर आफ्नो गृहजिल्ला आएका पूर्वमन्त्री पुनले भने, ‘निर्वाचन गराउने सवालमा सरकार आफै ढुक्क छैन । बरु सरकार लोकतान्त्रिक व्यवस्था ढाल्न लागिपरेको जस्तो छ ।’

ओली सरकार लोकतन्त्र खत्तम पार्न लागिपरे पनि माओवादी र कांग्रेससहितको विपक्षी गठबन्धन बलियो बनाउँदै लोकतन्त्रको पक्षमा जुटेको उनको भनाइ छ । ‘ओलीजी लोकतान्त्रिक अवस्था ढाल्न लाग्नु भएको छ । हामी भने जोगाउन लागेका छौं’, उनले भने । आफै संलग्न ओली सरकार यथास्थितिमै रहेको तर कांग्रेस प्रगतिशील देखिएको उनको जिकिर छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा पुन यसअघि ऊर्जा, जलस्रोत एवं सिँचाई मन्त्री थिए ।

रोल्पाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका पूर्वमन्त्री पुनले सरकारले अघि सारेको कोरोना नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सुझाव दिए । कोरोना नियन्त्रणका क्रममा जिल्लामा ल्याइएको स्वास्थ्य सामग्री वितरण र खरिद प्रक्रियामा आफूलाई जोडेर सञ्चारमाध्यममा चर्चा गरिएकोमा उनले दुःखी भएको बताए । ‘केही सामग्री आफ्नै पहलमा ल्याइएको हो । केही व्यवसायीसँग समन्वय गरी ल्याइएको हो । तर व्यवसाय गरिएको होइन’ पुनको स्पष्टीकरण छ

नेकपा माओवादी केन्द्र र सहयोगीले संकलन गरेको स्वास्थ्य सामग्री लिई पुन जिल्लामा आएका हुन् । उनको साथमा पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगर पनि आएकी छन् । पुनले रोल्पा अस्पतालसहित जिल्लाका १० वटै स्थानीय तहलाई सामग्री हस्तान्तरण गरिने बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?