१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ — सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान भएको स्थायी कमिटी सदस्य लेखराज भट्टले जानकारी दिए ।

एमालेले बोलायो स्थायी कमिटी बैठक

सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गर्दै कर्णाली प्रदेशका चार सांसदको पुनर्बहाली गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा परेको छ । स्थायी कमिटी बैठकमा अदालतको आदेशपछिको रणनीतिमाथि छलफल हुने भएको छ । यद्यपि अदालतको फैसलालाई लिएर एमालेको संस्थापन पक्षले पुनरावलोकनमा जाने बताएको छ ।

नेकपा भंग भएसँगै ओलीले फागुन २८ मा नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरेर दसौं महाधिवेशन आयोजक कमिटी बनाएका थिए । तर, खनाल-नेपाल समूहले यसलाई अस्वीकार गर्दै समानान्तर गतिविधि र कमिटी निर्माणमा लागेको थियो ।

पार्टी एकताका लागि भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ बुँदे प्रस्तावलाई झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अस्वीकार गरेसँगै एमाले एकता थप संकटमा परेको छ ।

स्थायी कमिटीका अर्का एक सदस्यले खनाल–नेपाल समूहले भिन्दै पार्टी बनाउन सक्ने आफूहरुको निष्कर्ष रहेको भन्दै बैठकमा त्यसबारे छलफल हुने बताए । उनका अनुसार बैठकमा गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ सरकारको बहिर्गमनको पनि समीक्षा हुनेछ । यहीबीचमा खनाल–नेपाल समूहको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ ।

खनाल–नेपाल पक्षले परिणामविहीन, अर्थहीन जालझेलको वार्तामा अलमलिने समय नभएको भन्दै बाध्य भएर नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन लागेको बताएको छ ।

खनाल–नेपाल समूह सरकारमाथि दबाब बनाउने रणनीतिमा छ । यो समूह भिन्दै पार्टी जस्तै विपक्षी गठबन्धनमा छ । संसद् विघटन गर्ने प्रधानमन्त्रीको पछिल्लो कदमपछि खनाल–नेपाल समूह घोषित रुपमा गठबन्धनमा सहभागी छ । यो समूहका २३ सांसद संसद् पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा समेत पुगेका छन् ।

सरकारमाथि सत्ता बचाउन बाह्य शक्तिसँग साठगाठ गरेको समेत आरोप लागेको छ । यद्यपि दुवै पक्षका दोस्रो तहका नेताहरु पार्टी एकताको पहलका लागि संवादमा पनि छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?