१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विज्ञ भन्छन्- संक्रमण घटेजस्तो लागे पनि जोखिम कायमै

बुनु थारु

काठमाडौँ — सरकारले जारी निषेधाज्ञा खुकुलो पार्ने मोडालिटी तयार पारिरहँदा कोरोना परीक्षण ह्वात्तै घटेको छ । जसका कारण परीक्षण दर घट्नुका साथै सक्रिय संक्रमितको ग्राफ पनि कम देखिएको छ । तर ग्राफकै आधारमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको भन्न नमिल्ने विज्ञ चिकित्सकहरु बताउँछन् ।

विज्ञ भन्छन्- संक्रमण घटेजस्तो लागे पनि जोखिम कायमै

जेठ महिनाको तथ्यांक हेर्दा ७ गते सबैभन्दा धेरै २२ हजार ३५३ पीसीआर परीक्षण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक केलाउँदा परीक्षण संख्या निरन्तर ओरालो लागेको छ । जेठ १ गते १० हजार ४७१ पीसीआर परीक्षण गरिएकोमा २९ गते (शनिबार) यो संख्या घटेर ८ हजार ५०६ मा सीमित भएको छ ।

सहरी क्षेत्रमा संक्रमण कम देखिए पनि ग्रामीण क्षेत्रमा परीक्षणको दायरा विस्तार नहुँदा र कन्ट्याक्ट ट्रेसिंगसमेत नहुँदा जोखिमपूर्ण अवस्थाउस्तै रहेको विज्ञ बताउँछन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोेजक डा. शेरबहादुर पुनले परीक्षण पहिलेभन्दा कम भएको मानिए पनि यकिनका साथ घटेको भन्न नसकिने बताए । ‘पहिलेझैं अझै पनि बिरामी भए वा परिवारका सदस्य बिरामी भए मात्र परीक्षणका लागि आउने गर्छन् । पहिलेभन्दा साँच्चिकै तीव्र गतिमा सायद संक्रमण नदेखिएको पनि हुन सक्छ,’ उनले भने, ‘संक्रमण घटेजस्तो लागे पनि जोखिम भने कायमै छ भनेर बुझ्नुपर्छ ।’ उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ नभएकाले संक्रमितको संख्या त्यो भन्दा बढी पनि हुन सक्छ । ‘धेरै जना संक्रमित भइसकेर निको पनि भइसके होला त्यसैले पनि परीक्षण नगराएका होलान्,’ उनले भने ।

डा. पुन हालको अवस्था हेर्दा संक्रमण अझै बढ्न सक्ने सम्भावना कम देखिरहेको बताउँछन् । आगामी हप्ता दिनमा संक्रमण अपेक्षाकृत घट्न सक्ने उनको भनाइ छ । ‘गाउँको अवस्था भन्न सकिन्न तर सहरी क्षेत्रमा भने आगामी हप्ता कम हुनुपर्छ । जति संक्रमित हुनुपर्ने थिए, ती सबै भइसकेका छन् जस्तो लाग्छ । किनकी अहिले मानिसबीच भेटघाट छैन ।’

पहिलो लहरमा पनि केही हप्तासम्म संक्रमणको लहर उक्लिदा पछि ओरालो लागेको थियो । आगामी दिनमा यो भन्दा पनि खराब भेरिएन्ट आयो भने, बेलैमा खोप नपाउने हो भने वा जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने हो भने अर्को लहर नआउला भन्न नसकिने उनले बताए ।

भाइरोलोजिस्ट डा. लुुना भट्ट निषेधज्ञाले मानिसहरु परीक्षण गराउन नगएकाले परीक्षण कम भएको हुन सक्ने बताउँछिन् । मानिसहरुलाई परीक्षण गराउन प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिइन् । ‘साँच्चिकै संक्रमण घटेको हो भने किन भनेर सरकारले खुलाउनुपर्‍यो । जबर्जस्ती संक्रमण दर घट्यो भनेर लुकाउन भएन,’ उनले भने ।

हाल धेरैले खोपको पूरा डोज लगाइसकेका छैनन् । झन् त्यसले जोखिम बढाइरहेको हुन सक्ने विज्ञ बताउँछन् । ‘अहिले डेल्टा भेरिएन्टको भाइरस एकदमै संक्रामक मानिएको छ । हाम्रोमा पनि भित्र–भित्रै म्युटेसन भइरहेको होला । भाइरसले आफूलाई फाइदा हुने हिसाबमा म्युटेसन गर्न सक्छ । यसले त झन् महामारी सिद्धिने होइन झन् बढ्न सक्छ,’ डा. भट्टले भनिन् । राजनीतिक अस्थिरताका कारण पनि तेस्रो लहरसँग जुध्न पूर्वतयारीका लागि विज्ञहरुसँग सल्लाह गरेर अघि बढ्न उनले सुझाव दिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले परीक्षण घट्नुमा विभिन्न कारण रहेको बताउँछन् । ‘धेरैजना सामान्य लक्षण भएर परीक्षणमा गएका छैनन् । अर्को, अझै पनि परीक्षण गर्न जाने कुरामा हिच्किचाहट छ,’ उनले भने, ‘पीसीआर मात्रै घट्नुमा एन्टिजेन परीक्षण गाउँगाउँमा पुग्नु पनि हो ।’

तथ्यांक हेर्दा संख्यात्मक हिसाबले धेरै कम भए पनि नियन्त्रणमा आइनहालेको र जोखिमकै अवस्था रहेको उनले बताए । ‘टेस्ट पोजिटिभिटीमा ठाउँ अनुसार भेरिएसन छ । काठमाडौं उपत्यका लगायतमा यो दर घट्दो छ,’ उनी भन्छन्, ‘समुदायमा जहाँ आउटबे्रक भएको छ, एन्टिजेन टेस्ट गर्दा अझै पनि उच्च पोजिटिभ छन् । तर अहिलेको ट्रेन्ड हेर्दा संक्रमणको दोस्रो लहर केही घट्दै छ कि भन्ने देखाइरहेको छ ।’

परीक्षणको संख्या अनुसार संक्रमित देखिने दर (पर्सेन्ट पोजिटिभ रेट, पीपीआर) ५ प्रतिशत भन्दा तल नगएसम्म निषेधाज्ञाका धेरै प्रावधान खुलाइहाल्न नहुने उनले बताए । हाल नेपालको पीपीआर २८ प्रतिशत रहेको छ । उक्त संख्यालाई ५ प्रतिशतमा पुर्‍याउनलाई अझै धेरै मिहिनेत गर्नुपर्ने उनले बताए ।

‘अहिलेको हालतमा धेरै क्षेत्र खोलिहाल्ने अवस्थामा छैनौं । आइसियु र संक्रमित राख्ने वार्डको अवस्था, टेस्ट पोजिटिभिटी र अर्को र्‍यान्डम टेस्ट गर्दा कति संक्रमित पत्ता लागे त्यो पनि हामी हेर्छौँ,’ उनले भने, ‘तथ्यांकलाई हेरेर ठाउँको जोखिम हेर्दै निषेधाज्ञा बारे सीसीएमसीले निर्णय गर्नेछ ।’

जेठपीसीआरसंक्रमितपीपीआर
२३
१०,४७१३,०२४२८.८७
२४१२,००२३,३७०२८.०७
२५१२,०६५३,८७०३२.०७
२६१२,०४७३,४४९२८.६२
२७९,९०१२,८७४२९.०२
२८९,५९८२,७०९२८.२२
२९८,५०६२,३८२२८.००


प्रकाशित : जेष्ठ ३०, २०७८ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?