१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना कहरमा बढ्दो छटपटी

मनोचिकित्साको क्षेत्रमा काम गर्ने विज्ञका अनुसार मानसिक भय, अवसाद र मनोघात भोग्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ
जनकराज सापकोटा

काठमाडौँ — बालाजु बस्ने ममता (नाम परिवर्तन) लाई हिजोआज छिनमै रिस उठ्छ, छिनमै दिक्क लाग्छ । महिना दिनभन्दा लामो निषेधाज्ञामा घरभित्रै बस्दाको छटपटीले मात्रै होइन, आफन्त र साथीभाइ कोरोना संक्रमित भएको, उपचार पाउँदा अनेकन् सास्ती खेपेको र कतिपयको मृत्यु भइरहेको समाचार पढ्दा र सुन्दा उनलाई भित्रभित्रै डर लागेर आउँछ ।

कोरोना कहरमा बढ्दो छटपटी

आफू पनि संक्रमित भइसकेको छु कि, कतै उपचार नपाएर मरी पो हाल्छु कि भन्ने डरले उनलाई बेलाबेला झ्याप्पै समातेजस्तो हुन्छ । गत साता एक साथीको सहयोगमा मनोपरामर्श लिएपछि भने उनले शान्ति महसुस गरेकी छन् ।

मनमा डर बोकेर निषेधाज्ञाका विरक्तलाग्दा दिन कटाउने ममता एक्ली पात्र होइनन् । कोरोना संक्रमण तीव्र बन्दै गएको, संक्रमितको मृत्युको ग्राफ नघटेको र समग्र स्वास्थ्य सेवा नै प्रभावित बनेको खबरले धेरैलाई मनोसामाजिक समस्या थपिदिएको छ । यस्तो समस्या खेप्नेहरूको आँकडा सार्वजनिक नभए पनि मनोचिकित्साको क्षेत्रमा काम गर्नेहरूका अनुसार मानसिक भय, अवसाद र मनोघात भोग्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।

सेन्टर फर मेन्टल हेल्थ एन्ड काउन्सिलिङ नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठ कोरोना संक्रमणको दर घटे पनि यस अवधिमा देखा परेको मनोसामाजिक समस्याको प्रभाव समाजमा लामो समय रहने बताउँछन् । संक्रमणको बढ्दो रफ्तारका माझ मृत्यु भएकाहरूको परिवारका सदस्य र आफन्तमा पर्ने मानसिक आघातको पीडा भयावह हुने उनले बताए । त्यस्तो आघातको असर मृतक श्रीमान् भए श्रीमतीमा, श्रीमती भए श्रीमान्मा, मृतकका बाबुआमा वा छोराछोरीमा मात्रै नभएर परिवारका अन्य सदस्य, साथीभाइ र समाजमै धेरथोर पर्ने उनको भनाइ छ । उनको संस्थाले १६६०१८५०८० नम्बरको टोल फ्री नम्बर सञ्चालन गरेको छ । यो नम्बरमा प्रत्येक दिन त्रास महसुस हुने गरेको बताउँदै सल्लाह माग्नेका ४/५ वटा कल आउँछन् । कोरोना संकटमा हुर्किएको मनोसामाजिक समस्या समयमै हल नगर्ने हो भने यसले परिवार हुँदै सिंगो समाज प्रभावित पार्ने श्रेष्ठले बताए ।

लगनखेलस्थित मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. वासुदेव कार्की कोभिडले पैदा गरेको त्रासको मनोवैज्ञानिक समाधान खोज्न जरुरी भइसकेको बताउँछन् । उनले बालबालिका र ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या देखा पर्ने सम्भावना बढी हुने बताए । उनका अनुसार व्यक्तिका विचार, भावना र व्यवहारमा परिवर्तन आएमा, त्यस्ता परिवर्तन केही दिनसम्म स्थिर रहेमा र त्यसले दैनिक जीवनयापन, पारिवारिक सम्बन्ध, उत्पादनशीलतामा कमी आएमा आफूभित्र समस्या छ भनेर बुझ्नुपर्छ । ‘धेरै जना त गलत र भ्रमपूर्ण सूचनाका कारण पनि आत्तिएका छन्,’ उनले भने, ‘भय पैदा गर्ने समाचारबाट परै बस्नु राम्रो ।’ मानसिक अस्पतालले घरमै बसेर मनोसामाजिक परामर्शका लागि ११६६ नम्बरको नि:शुल्क हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पछिल्लो एक महिनामा यो नम्बरबाट १ सय ९४ जनाले नि:शुल्क परामर्श लिएको उनले बताए ।

नि:शुल्क मनोसामाजिक परामर्श दिइरहेको संस्था राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष निर्मलकुमार उप्रेतीले पछिल्लो निषेधाज्ञामा सयभन्दा धेरैलाई नि:शुल्क मनोपरामर्श दिएको बताए । उनका अनुसार कतिले मरिन्छ कि भन्ने डर लागेको कुरा बताए भने कतिले भोलि के गर्ने होला भन्ने चिन्ताले गालेको सुनाए । कतिले घरायसी झगडाका कारण तनाव बढेको बताएका थिए । निषेधाज्ञाका कारण वैदेशिक रोजगारीमा जान रोकिएको, आफ्नो पैसा फसेको र मानसिक तनाव बढेको भनेर समस्या राख्नेहरू पनि सम्पर्कमा आएका थिए । ‘कोरोनाको अलावा उपचार नपाइएला भन्ने डरदेखि जीविकोपार्जनको चिन्ता, घरभित्र बस्दाको दिक्दारी, अनिश्चित समय र भविष्यको छटपटीले धेरैलाई सताएको देखिन्छ,’ उप्रेतीले भने । उनका अनुसार यस्तो समस्या भए ९८८१२१७२६६, ९८२३४८१७४७, ९८४३५८६९०२ नम्बरमा फोन गरेर नि:शुल्क मनोपरामर्श लिन सकिन्छ ।

मनोपरामर्शको क्षेत्रमा काम गरिरहेको बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टीपीओ नेपाल) ले कोरोनाको पहिलो लहरमा ७ प्रदेशका २ हजार १४ जनामाझ अनलाइन सर्वेक्षण गरेको थियो । जसमा तपाईंलाई कस्तो अनुभव भइरहेको छ भन्ने प्रश्नमा चारवटा उत्तर छनोट गर्ने अवसर दिइएको थियो । पहिलो थियो, डर वा त्रास, दोस्रो अन्योल तथा चिन्तित, तेस्रो दिक्क, खिन्न, नरमाइलो महसुस र चौथो छटपटी, महसुस विकल्प राखिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये ३२ प्रतिशत उत्तरदाताले चारमध्ये दुईवटा लक्षण आफूमा देखिएको बताएका थिए भने ५० प्रतिशतले चारमध्ये कम्तीमा एक लक्षण आफूभित्र रहेको बताएका थिए ।

महामारीको पहिलो लहरमा काठमाडौं महानगरपालिकाले पनि सर्वेक्षण गरेको थियो । ३२ नम्बर वडाका ६ सय २६ जनामा गरिएको सर्वेक्षणमा घरभित्रै रहनुपर्ने बाध्यताका कारण २९ प्रतिशत उत्तरदाताले आफ्नो परिवारमा मानसिक समस्या परेको कुरा व्यक्त गरेका थिए । यो नजिताले संक्रमणको ग्राफ र त्यसबाट हुने मृत्युदरसमेत उच्च रहेको दोस्रो लहरमा मानसिक समस्या पर्ने परिवारको संख्या झनै बढेको सहजै अनुमान गर्न सकिन्छ । टीपीओ नेपालका कार्यकारी निर्देशक डा. प्रमोद गौतमले पहिलोमा भन्दा दोस्रो लहरमा संक्रमित र मृत्यु हुनेको संख्या उच्च भएकाले त्यसले समाजमा थप भय पैदा गरेको र मनोसामाजिक समस्या बढेको सुनाए । उनले भने, ‘हामीले सञ्चालन गरेको टोल फ्री नम्बरमा परामर्श लिनेहरूले पनि आफूलाई डर लाग्ने, आत्तिने र छटपटी हुने जस्ता समस्या देखिएको बताउने गरेका छन् ।’

टीपीओले हरेक दिन बिहान ८ देखि बेलुका ६ बजेसम्म टोल फ्री नम्बर १६६००१०२००५ सञ्चालनमा ल्याएको छ । संस्थाबाट खटिएका ३ जना मनोपरामर्शदाताले फोनमा आएका समस्या समाधानको पहल गर्छन् । डा. गौतमले कोरोना संक्रमणसँगै व्याप्त भयले मानिसमा एन्जाइटी र डिप्रेसन बढिरहेको बताए । बेरोजगार र विपन्नता बढ्दै जाँदा र लामो समय घरभित्रै थुनिएर बस्दा पनि यस्ता समस्या वृद्धि भएको हुन सक्ने उनले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?