१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गण्डकी सरकारको प्रवक्तामा मन्त्री खड्का

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश सरकारको आइतबार बसेको बैठकले मन्त्री कुमार खड्कालाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । विनाविभागीय मन्त्रीका रूपमा शनिबार शपथ लिएका खड्का कांग्रेसनिकट हुन् । 

गण्डकी सरकारको प्रवक्तामा मन्त्री खड्का

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसै गरी बैठकले पूर्वमुख्यमन्त्रीको सम्मानका लागि सेवासुविधा दिने विषयमा पनि छलफल गरेको छ । पूर्वमुख्यमन्त्रीको सेवासुविधासम्बन्धी ऐन जारी नहुँदासम्म बैठकले नै निर्णय गर्ने गरी छलफल भएको प्रवक्ता खड्काले बताए ।

‘यसभन्दा अघि पूर्वमुख्यमन्त्री नभएकाले पनि सेवासुविधाबारे ऐन छैन,’ उनले भने, ‘हामी अब ऐन बनाएर नै अगाडि बढ्छौं ।’ नयाँ सरकार गठनपछिको यो पहिलो बैठक हो । बैठकले नीति तथा कार्यक्रम र बजेट ल्याउने समय भएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र दलका नेता पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको उनले बताए । खड्काका अनुसार मुख्यमन्त्री नेपालीले गुरुङलाई भेट गर्ने कार्यक्रम तय भएको छ । ‘प्रतिपक्षको भावना कदर गर्दै अगाडि बढ्छौं,’ उनले भने ।


प्रकाशित : जेष्ठ ३०, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?