२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

केन्द्रीय समितिमा भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन मिति प्रस्ताव गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनको मिति सर्ने भएको छ । शनिबार पार्टी सभापति निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले भदौ ७ देखि १० गते सम्म गर्ने भनेको महाधिवेशन ९ दिन पर सार्ने प्रस्ताव गरेको छ । 

केन्द्रीय समितिमा भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन मिति प्रस्ताव गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय

कोरोना संक्रमणको जोखिमसँगै पार्टीको क्रियाशिल सदस्यको टुंगो लगाउन नसकिएपछि पूर्व घोषित मितिलाई ९ दिन पर सरिएको हो । पदाधिकारी बैठकले आगामी भदौ १६ गते देखि १९ गते सम्म महाधिवेशन गर्ने मिति केन्द्रीय समितिमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले महाधिवेशनको मिति सरेसँगै निर्वाचन केन्द्रीत गतिविधि र जिल्ला नगरका अधिवेशनको पनि समय तालिका हेरफेर प्रस्ताव गरेको बताए । यसअघि असार ६ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ । पदाधिकारीले संशोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएको छ ।

कोभिड संक्रमणको जोखिम बढेसँगै कांग्रेसले आफ्नो महाधिवेशनको डिजिटल प्रविधि मार्फत गर्न सकिन्छ भनेर कांग्रेस समर्थित युवा विद्यार्थी भन्दै आएका छन् । कांग्रेसको केन्द्रीय तहको बैठकमा डिजिटल प्रविधि मार्फत महाधिवेशन गर्ने बारे कुनै छलफल नै भएको छैन । कांग्रेसले कार्यसमितिको बैठक आगामी असार ३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?