नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा माफी मागे - समाचार - कान्तिपुर समाचार

नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा माफी मागे 

प्रधानमन्त्रीबारे दिएको आपत्तिजनक अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखलाई गरे आग्रह
सुवास विडारी

हेटौंडा — संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित भएका नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आत्मलोचनासहित माफी मागेका छन् ।

शुक्रबारको नीति तथा कार्यक्रमको छलफलमा आफ्नो धारणा राख्ने क्रममा सांसद वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । चौतर्फी विरोधपश्चात् शनिबारको प्रदेशसभा बैठकमा उनले पार्टीको निर्देशनअनुसार आत्मालोचना गरेका हुन् ।

‘मैले संसद्को रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाई फिर्ता लिन्छु ।’ सदनमा वैद्यले आफूले बोलेको कुरा कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी रहेको औंल्याए ।

‘हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्दछु,’ उनले भने ।

वैद्यले सदनमा आफ्नो भनाइलाई स्पष्ट पार्न समय उपलब्ध गराइदिन सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेका थिए । ११ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो बसेको थियो । आफ्नै पार्टीको केन्द्रीय र प्रदेशको निर्देशन तथा सत्तारुढ एमालेले समेत उनको भनाइको विरोध गरेको थियो ।

उनलाई अभिव्यक्ति फिर्ता लिन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले समेत निर्देशन दिएका थिए । सदनमै आपत्तिजनक अभिव्यक्ति दिएकाले वैद्यलाई संसद्बाटै माफी माग्न कांग्रेस सांसदहरुले आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ २९, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

गल्लीमा गुन्जिरहने सदावहार धुन 

मनोजबाबु पन्त

गत मे महिनामा विश्व–सिनेमा जगत्ले सत्यजित रे (२ मे, १९२१–२३ अप्रिल, १९९२) को १ सय औं जन्म–जयन्ती मनायो । जान्नेहरु भन्छन्– ‘सत्यजित रेका सिनेमा नहेरी बाँच्नु भनेको घाम नहेरी बाँच्नुजस्तै हो, जून नहरी बाँच्नुजस्तै हो ।’ सत्यजितको ‘पथेर पाञ्चाली’ र त्यस फिल्मकी एक कलाकार चुनीबाला देवीमाथिको विमर्श :

‘पथेर पाञ्चाली’ र त्यस फिल्मकी एक कलाकार चुनीबाला देवीको पोट्रेट

देखो, दिल्ली देखो,

दिल्ली देखो

दिल्लीका कुतुर देखो

आगरेका ताज देखो

मद्रासका मन्दिर देखो

बम्बईका बन्दर देखो

हातमा डमरु बजाएर विज्ञानको चटक देखाउन भनी बाइस्कोप बोकेर गाउँ छिरेको छ एक चटके ।

– पानीको दहमा बगेका नीलकमलका पातहरू ।

– सानो पोखरीमा चिप्लिरहेका वाटर स्केर्ट्स ।

– अनि तालमा खसेको झरीको थोपाले बनाएको आकृति ।

अहो ! जगतको कति सूक्ष्म अवलोकन !

आजभन्दा ६० वर्षजति अघि, न्युयोर्क सहरको कला–संग्रहालयमा एउटा भारतीय सिनेमा हेर्न भनी गएका दर्शकको हूलमा कुनै उत्साह थिएन । जीवनभन्दा परको अतिरञ्जित कथनी गाँसिहिँड्ने भारतीय सिनेमाको खासै स्वाद थिएन । बिनाउम्मिद हलको कुर्सीमा बसेका सिनेफिलहरू, हलबाट निस्कँदा आँखामा दीप्ति बोकेर निस्किए । मनमा परम–सन्तोक बोकेर निस्किए । उनीहरूले श्रव्य–दृश्यको माध्यममा यति गहिरो जीवनको काव्य पहिलो पटक अनुभव गरेका थिए । उनीहरूले भारतमा बनेको यति सुन्दर सिनेमा पहिलो पटक हेरेका थिए । कलकत्ता सहरको एक रैथाने युवकले पहिलो पटक बनाएको सिनेमाले संसारैभरि तहल्का पिट्यो । सिनेमासँगै संसारले उनलाई सम्मानले हेर्न थाल्यो । जापानिज चर्चित दिग्दर्शक आकिरा कुरोसावाले भने, ‘सत्यजित रेका सिनेमा नहेरी बाँच्नु भनेको घाम नहेरी बाँच्नुजस्तै हो, जून नहरी बाँच्नुजस्तै हो ।’

सन् १९९२, अप्रिल २३ का दिन मुटुको व्यथाले मर्नुअघि सत्यजितले पूर्णकदका तीसवटा सिनेमा बनाए । गएको मे महिनामा विश्व–सिनेमा जगत्ले सत्यजित रेको १ सय औं जन्म–जयन्ती मनायो । रेको जन्म–जयन्तीको सन्दर्भमा यी युगीन मानव र उनको पहिलो सिनेमा ‘पथेर पाञ्चाली’ माथि केही लेख्न भनी बसेको छु ।

बितेको आधा शताब्दी, ‘पथेर पाञ्चाली’ माथि धेरै चर्चा–विमर्श भए सिनेफिलियाका मञ्चहरूमा । हामी सिनेमाका विद्यार्थीले कुनै तीर्थ–यात्राझैं यो सिनेमाको यात्रा गर्‍यौं । हाम्रा लागि मक्का–मदिना पनि यही, काशी–बनारस पनि यही । पण्डित रविशंकरले बजाएको थेम म्युजिक बजाउँछु र ‘पथेर पाञ्चाली’ का दृश्यहरूमा हराउन खोज्छु । पानीमा चिप्लिरहेको पानी कीराहरूझैं सिनेमाका दृश्यहरू चिप्लिरहन्छन् ।

...

अभाव बास बसेको एउटा जीर्ण घर ! कविता बेचेर धनी हुने हावादारी सपना देख्ने बबुरो हरिहर ! व्यवहारको सिउँडीले घोचेर सधैं चिड–चिडा भइरहेकी सर्वोजया ! अनि उनीहरूका निर्दोष उन्मुक्त बालकहरू, जो झरी–बतासमा दौडिरहेछन्, भिजिरहेछन् । म सम्झिरहेछु– तुलसीको मठछेउ खेलिरहेका बिरालाका पाठाहरू, पिँडीको खाँबोमा छेल पारेर दिदीको यातना हेरिरहेका अपुका तेजिला आँखाहरू ।

शरद यामको एक दिन ! सेतै फुलेको कासघारीछेउ पहिलो पटक रेल हेर्न कुरिरहेछन्– दुर्गा र अपु । एउटा भीमकाय मालगाडी कालो धूवाँ पुतपुताउँदै धामन सलबलाएझैँ आउँछ अनि जान्छ । बालकहरू पहिलो पटक सभ्यताको जादुमा सम्मोहित हुन्छन् । अपुमा म आफ्नो प्रतिच्छाया देख्छु र पुग्छु स्मृतिको चिहानमा धेरैपर । धेरै वर्षपहिले पारि–बाटोमा बुल्डोजर आउला र हेरौंला भन्दै मैले दिन बिताएथेँ । झमक्कै साँझ पर्‍यो, किन्तु बुल्डोजर आएन । त्यो सपनाको बुल्डोजर जिन्दगीमा कहिल्यै आएन । यतिबेला सितारको धुन सकिएर बाँसुरीको लामो आलाप बज्न लागेको छ ।

भोटबाट निको भएर मुनालाई भेट्न आएको मदनझैं, हरिहर ट्याङ्का बोकेर आफ्नो जीर्ण घरमा आइपुग्छ । छोरी दुर्गालाई ल्याइदिएको धोती ट्याङ्काबाट निकाल्न लाग्दा हरिहरले थाहा पाउँछ– उसकी छोरी यो संसार छाडेर परलोक गइसकी । त्यो बोधमा भत्किएर रोएको हरिहर अनि त्यति नै बेला रविशंकरले मुटु छेड्ने गरी बजाउन लगाएको सनाहीको धुन ! यो जत्तिको कारुणिक दृश्य विश्व सिनेमामा सायदै होलान् ।

दशाले खाएको घरमा बस्न हरिहरको मनले मानेन । टाँगाको टाङमुनि लाल्टिन झुन्ड्याउँदै यी दुःखी–आत्मा काशी–बनारसको यात्रा गर्दा भए । उजाड घरमा एउटा ठूलो साँप लस्किँदै अन्तर–कुन्तरबाट छिर्दै थियो । मानवीय अवस्थाको कति प्रगाढ दृष्टि ! भारतीय सिनेमाका स्ट्रिपहरूमा पहिलो पटक जीवन र जगत् अवतरण गरेको थियो । मन्दिरमा बज्ने नियमित आरतीको धुनझैं यो गल्लीको गीत सिनेफिलियाको मन्दिरमा एउटा पवित्र धुन बनेर गुन्जिरह्यो,गुन्जिरहनेछ । वाटर स्केटरहरूझैं दृश्यहरू चिप्लिरहन्छन् । तर, एउटा चरित्र चिरस्थायी भएर बसिरहन्छ– जीर्ण घरमा जीवनका अन्तिम दिन बाँचिरहेकी बूढी काकी इन्दिर ठाकरुन । वैकुण्ठ जान भनी एउटा खुट्टा उचालिसकेकी यी माताले इम्ब्रेस गरेको जीवन–लीला सडकको गीतको सुन्दर मुखडाझैं लाग्छ । खिइसकेको बूढो हड्डी अनि त्यसलाई मोडेको चमडाबाहेक केही छैन जीवनको किनारामा बाँचिरहेको देहमा । यति गहिरो जीवन–रस कसरी निचोरे होलान् सत्यजितले ? तिनै जरा–जीर्ण माताको केहीबेर चर्चा गर्ने अनुमति चाहन्छु । यतिबेला रविशंकर आफ्नो सृजनामा मदहोस भएर सितारमा औंलाहरू चलाइरहेछन् ।

...

टाढाको नाताले छोएकी काकी पिँडीको कुनामा बसेर आफ्नो बटुकोमा चुपचाप जाउलो डल्लो पारेर निलिरहेकी छन् । अभाव बास बसेको जीर्ण घरमा यी जीर्ण आत्मा बोझ बनेर बसेकी छन् । आफूलाई माया गर्ने हैसियतका सबै आफन्त बितिगए । आफ्नो बूढो ज्यानलाई एउटा ओत चाहिएको छ । सबै खस्रा वचन सहेर पनि यी माताको क्लान्त कलेबरमा जीवनको मदहोस मुस्कान खेलिरहेछ । उसलाई घरमा राख्न सर्वोजयालाई कुनै रहर छैन । जाने अन्त कुनै ठाउँ छैन । बाँकी छ त्यही बैकुण्ठलोक, तर त्यो दिन कहिले आउँछ केही ठेगान छैन ।

इन्दिर ठाकुरनलाई लाचार भएर त्यही जीर्ण घरमा जेमराजले उठाएर नलगुन्जेल बाँच्नु छ । छिमेकीको बगैंचाबाट उसका लागि दुर्गाले चोरेर ल्याएका फलहरूमा ऊ स्वर्णिम आनन्द भेट्छे । बूढी इन्दिर ठाकुरन त्यही मुहताज महलमा घोचपेच सहेर जीवनका अन्तिम दिनहरू घिसारिरहन्छे ।

...

विभूतिभूषण बन्धोपाध्यायले उपन्यासमा खिपेको इन्दिर ठाकुरनको चरित्र गर्ने कलाकरको खोजमा निक्लिए सत्यजित । त्यो अस्थिपञ्जर काय भेटिनु कहाँ ? कुनै कम उमेरकी महिलालाई शृङ्गार पोतेर वृद्ध बनाउने परम्पराप्रति सख्त नफरत थियो सत्यजितलाई । त्यही नाटकीय परम्पराबाट उम्केर यथार्थको नजिक पुग्न खोज्ने उडान जो थियो । उनले थुप्रै वृद्ध अनुहारमा ठाकुरनको प्रतिच्छाया खोजे अनि निराश भए । उनलाई थाहा थियो, जुन बेलासम्म यो जीर्ण जीवन बाँच्ने उपयुक्त चरित्र भेटिँदैन ‘पथेर पाञ्चाली’ बन्दैन । केही दृश्यको छायांकन सकीवरी फुर्सदमा झोक्रिरहेका बेला सिनेमाकी सह–कलाकारले एक नाम सुझाइन्– कलकता सहरको बेश्यालयको गल्लिमा दरिद्र जीवन गुजारिरहेकी– चुनीबाला देवी । अनि सत्यजित चुनीबाला देवीलाई खोज्दै कलकत्ता सहरको रेडलाइट एरियाका गल्लीहरू चहार्दा भए ।

कलकत्ता सहरको देहबजारछेउको सानो घर– आफ्नो जवान उमेरमा रङ्गमञ्चमा केही रङ्गरस गरेकी, एक–दुई सिनेमामा सानो भूमिका गर्न भ्याएकी चुनीबाला देवी । ८० पारिको उमेर, उमेरका सबै रसहरू जिन्दगीको कलमा पिसिएर सकिए, छोक्रा मात्रै बाँकी छन् । असी कुनामा बसी ! यो सपना देख्ने उमेर होइन । नदेखेको सपना ढोकासम्मै आइपुग्छ र आफ्नो जीवनका अन्तिम दिनहरूमा यस्तो उपहार दिएर जान्छ र उनलाई अजम्बरी बनाइदिन्छ– यो कुरा चुनीबाला देवीलाई के थाहा ? थुप्रै वर्ष कलकत्ता सहरको जिस्म–बजारको छिँडीमा बिताएकी माताको कायामा ऐंझेरु पलाइसकेको छ । जिन्दगी घर्किसकेको छ । जिस्म–बजारको सानो घरको ढोकामै जेमराज ढुकिरहेको छ । कुनै पनि दिन उसले ढोका ढकढक्याउन सक्छ । नभन्दै उनको ढोका ढकढक्यायो । तर, जेमराजले होइन, सत्यजितले । चुनीबालाले ढोका खोलिन्, बस्न अनुरोध गरिन् ।

‘के खोज्न आएको ?... केटी ?’

‘हैन, तपाईंलाई खोज्न आएको ।’

चुनीबाला देवीलाई उदेक लाग्यो– यो उमेरमा उनलाई खोज्न को आउँछ ? बूढो चमडामाथि भद्दा मजाकझैं ! चुनीबालालाई यो कुरा उति निको लागेन । सत्यजित सम्भावना देखिरहेका थिए । तर, यी मातासँग काम गर्नु उति व्यावहारिक देखिन्थेन । जब सत्यजितले आफ्ना योजना बेलिविस्तारमा सुनाए चुनीबालाको मस्तिष्कमा जुगौं पहिले आफूले गरेका कर्मका यादस्तहरू खेल्न थाले ।

कलकत्ता सहरबाट रेल चढेर जानु थियो प्रत्येक दिन– १५ माइल टाढा, बोरल गाउँ । छायांकन सकेर त्यसरी नै फर्कनु थियो । बदलामा उनले ज्याला पाउने भइन् हरेक दिन भारु– २० । चुनीबाला देवीले सहजै स्वीकार गरिन् । केवल एक माग थियो उनको– हरेक दिन खाजाका बेला दुइटा अफिमको डल्लो, सर्त मिल्यो । अन्ततः सत्यजितले इन्दिर ठाकुरन पाए । हामीले ‘पथेर पाञ्चाली’ पायौँ ।

बिहान मिर्मिरेमै रेल चढेर कलकत्ताको जिस्म– बजारबाट हरेक दिन १५ माइल यात्रा गर्दै बोरल गाउँसम्म पुग्न थालिन्, चुनीबाला । दशकौंअघि आफूले गरेको कर्म बिउँझिएको थियो । उनलाई

आफ्नो चरित्रमा यति लगाव भइदियो उध्रिएर, च्यात्तिएर, प्वाल पर्न थालेको धोती पनि नफेरी उनले ठाकुरनको जीवन बाँचिरहिन्– अभिनयमा लामो समयदेखि लागेको साधकझैं । उनको लगावदेखि सत्यजित पनि छक्क परे । चुनीबालाको केही गुनासो थिएन, केही माग थिएन । केवल प्रत्येक दिन अफिमका दुई डल्लाहरू, जेसँग उनको क्लान्त आत्मा गाँसिएको थियो । सायद नियतिले उनलाई थेगिरहेको थियो, एउटा कालजयी सिनेमाको अजर चरित्र बाँच्नका लागि ।

माछाको कत्लाझैं जर्खरिएको छालाले मोडेको अस्थिरपञ्जर प्रणाली । लगभग पचास डिग्रीमा भुइँतिर नुगिसकेको कुप्रो शरीर । चुनले पोतेझैं मुडुलो सेताम्मे शिर । आँखामा जाला पसेर तिनले जगत् धमिलो देख्न थालेका छन् । परलोक जान भनी सबै द्वारहरू खोलिसकेकी छन् उनले । बूढो घरमा अन्तिम सास फेर्ने, अन्तिम इच्छा मात्रै बाँकी छ । तर, सर्वोजयालाई यी बूढी माता घरमा बसेको त्यति रुचेको छैन । कटु–वचनका सुइरोले छेडिरहन्छिन् । गलेको बूढो मनमा ठेस पुग्छ । आत्मसम्मानको घाउ दुखेको रन्कोमा इन्दिर ठाकुरन सानो कुम्लो र थोत्रो काम्लो काखीमुनि च्यापेर टुकुटुकु घर छाडेर बिदा हुन्छिन् । घरको अलि पर्तिर, सानी दुर्गा जब ठाकुरनको काम्लो समाएर रोक्न खोज्छिन् त्यहीबेला पण्डित रविशंकर सितारको मधुर धुन बजाउँछन् । सायद तपाईंलाई पनि त्यसबेला सिनेमा टक्क रोकेर त्यो दृश्य निरन्तर हेरिरहन मन लाग्छ ।

सर्वोजयाले छोरो जन्माएको खबर पाएपछि खुसीले पुलकित हुँदै ठाकुरन काम्लो बोकेर त्यही घर फर्किन्छिन् । सर्वोजयाको छेउमा पल्टिरहेको नवजात शिशुको अनुहार हेर्दा परमआनन्द भेट्छिन् । भर्खर यो लोकमा आएको सानो बालकको मुहार हेरिरहँदा लोकबाट परलोक जाने बेलाकी ती वृद्ध माताको आँखा आँसुले भरिन्छ । उनी आफ्नो पुरानो धोतीले आँसु पुस्छिन् । मान्छेको मनमा बास बसेको करुणाको योभन्दा बलियो दस्ताबेज के होला ?

साँझपख पिँडीमा अढेस लगाएर सम्मोहक लयमा झलुङ्गो हल्लाउँदै लोरी गाइरहन्छिन्–

जुरेलीले खायो धान

कसरी तिर्नु अर्काको धन

सुत बाबु सुत

डुंगा चढी हाम्रो राजा नदी पार गरन

सुनारलाई भनिदिउँला

सुनको सिक्री बनाउन !

...

केही वर्षहरू बितेका छन् । अपु अब खेल्ने/दगुर्ने भएको छ । जुगौंदेखि नयाँ वस्त्र फेर्न नपाएकी ठाकुरनको च्यादरको भ्वाङ झन् ठूलो भएको छ । त्यही च्यादरले गुजारा गर्नुपरेको छ । बूढो ज्यानलाई रातको चिसो छल्न एउटा बाक्लो च्यादर चाहिएको छ । तर, उनको आङले तातो च्यादर भेट्दैन । पिँडीमा बालकहरूलाई डायनको कथा सुनाइरहन्छिन् । तातो च्यादरको चिसो आस पालिरहन्छिन् ।

रातको सिरेटोमा पिँडीको दिलमा थोत्रो खास्टो ओढेर एक्लै आफ्नै धुनमा गुनगुनाइरहन्छिन्–

मलाई पनि नदी पार गरिदेऊ न ए माझी दाइ

मेरा आफन्तहरू सबै नदी तरिगए

जो पहिले आए, ती सबै गइसके

म मात्रै बाँकी छु

म एउटा निर्धन भिखारी

मेरो नाममा फुटेको कौडी पनि छैन

हेर मेरो थैली खाली छ

दिन ढल्यो, रात पर्‍यो

मलाई पनि नदी पर गरिदेऊ न ए माझी दाइ...!

...

बूढो मन दुखाएर, बारम्बार घर छोडेर, गाउँलेको शरणमा पुगिरहन्छिन् ठाकुरन । सम्बन्धको तातो कतै छैन । उनलाई आफ्नो भनेर स्वीकार गर्ने आफन्तको अभाव छ । नाउमा चढाएर नदी–पार गराउने देवदूत नआउन्जेल बूढो हड्डीलाई आफैं सुमसुम्याउनु छ । बिरामीले गल्न थालेपछि ठाकुरनलाई लग्यो– अब म मर्छु । त्यही बूढो घरमा मर्ने इच्छाले बिन्तीभावमा उनी शरण परिन् । तर, दरिद्र घर त्यो रुग्ण वृद्धालाई माया गर्न अझै तयार छैन ।

शरदको एक साँझ, गाउँको अलि पर, बाँसको झ्याङमुनि उनले देह त्यागिन्, सुनसान पखेरोमा । अक्सर सामान्यकृत मृत्युभन्दा फरक उनी परलोक लाग्दा दुःखी भएर धुरिने आफन्त छैनन् । मृत्युमा कंकला शब्दले रुने नातेदार छैनन् । पानीको निरन्तर चापले नदी–किनारको बालुवाको ढिस्को बुङ्ग खसेर पानीमा विलीन भएजस्तो अथवा धमिराले खाएको बूढो रूख हावाको सानो झोकामा डङ्रङ्ग ढलेजस्तो एउटा दार्शनिक प्रश्न मनमा आउँछ– अमेजनको घना जंगलबीच एउटा बूढो रूख आफ्नो कालगतिले ढलेर मर्‍यो । मान्छेको बस्तीभन्दा धेरै पर त्यो रूख ढलेको कसैले देखेन, कसैले सुनेन भने त्यो रूख ढल्दा आवाज आयो कि आएन ? ठाकुरनहरूले जीवन बाँचे कि बाँचेनन् ? चुनीबालाहरूले जीवन बाँचे कि बाँचेनन् ?

...

‘पथेर पाञ्चाली’ को छायांकन किस्ता–किस्तामा भएको थियो । केही फुटेजहरू खिच्दै, निर्माता फकाउँदै जाँदा ३ वर्ष बित्यो, अझै छायांकन सकिएन । सुटिङ नसकिँदै चुनीबाला देवी सकिन्छिन् कि भन्ने डर थियो सत्यजितको मनमा । तर, उनी भाग्यमानी रहे, छायांकनको अन्तिम दिनसम्म चुनीबालाको शरीर र सत्यजितको सपना दुवै जिउँदै थिए । ठाकुरनको मृत्युको दृश्य अन्तिम दिन खिचिँदै थियो । चुनीबाला, जो आफैं कालको असाध्यै समीप थिइन्, उनले आफू मरेको बनिबनाउ विश्वास गर्नु थियो । मृत्युभन्दा केहीअघि एउटा अर्को मृत्यु मर्नु थियो । बाँसको खटमा बाँधेर मलामीहरूले बाटोको कुनैकुना खोला किनार लैजान थाले । सुटिङ सकेपछि मलामीहरूले जब बाँसको खट भुइँमा राखे, चुनीबाला देवी बिनाहलचल बाँसजस्तै स्थिर भएर खटमा लडिरहेकी थिइन् । सबैको मनमा चिसो शूल छिर्‍यो । सत्यजित हड्बडाए । जीवन र सिनेमा एकै विन्दुमा आएर पो गाँसियो कि ? चुनीबालाले मृत्युको अभिनय गर्दागर्दै साँच्चिकै देहत्याग पो गरिन् कि ?

सुटिङ मण्डली किंकर्तव्यविमूढ बाटोछेउ उभिइराखे । सत्यजितको सपनामा ऐंठन छिर्‍यो । त्यतिबेलै केहीबेरपछि बाँसको खटबाट चुनीबाला देवीले आँखा खोलिन्, सबैतिर हेरिन् । ‘सकियो ? मलाई किन नभनेको ? म त अहिलेसम्म मरेकै अभिनय गर्दै थिएँ ।’

अनि बल्ल सबैको होस ठेगानमा आयो । सिनेमाको सर्जक नै झुक्किने गरी मृत्युको जीवन्त अभिनय, त्यो चुनीबालाको अन्तिम अभिनय थियो ।

केही तनखा बटुलेर, रेल चढेर बोरलबाट अन्तिम पटक कलकत्ताको गल्लीमा फर्किइन् चुनीबाला देवी । केही महिना बाँचिन् । एक दिन कलकत्ताको जिस्म बजारको कुनामा अवस्थित आफ्नो सानो घरबाट उनले परलोकको यात्रा गरिन् । चुपचाप, बिनाहलचल एउटा नीरब यात्रा । सिनेमामा अपुले दहमा फालेको हार डुबेझैं उनी डुबिन् अनन्तको गहिराइमा । दहमाथिका लेउहरू केहीबेर फाटेर पुनः दहलाई ढाकिदिए ।

तीन वर्षमा निर्माण सम्पन्न गरेर ‘पथेर पाञ्चाली’ संसार विचरण गर्न भनी निस्कियो । संसारले पहिलो पटक भारतीय सिनेमामा भारतीय जीवन देख्यो । अभावको खिया लागेर मक्किएको जीवनको नाजुक अवस्था देख्यो । प्राची भूमिमा खेलिरहेका मान्छेहरूको सम्बन्धको काव्य पढ्यो, संगीत सुन्यो । सन् १९५६ को कान सिने महोत्सवले मानवताको उत्कृष्ट दस्ताबेज भनी सिनेमालाई विभूषित गर्‍यो । मनिला सिने महोत्सवले उत्कृष्ट अभिनयको पगरी चुनीबाला देवीको समाधिलाई ओढायो ।

जीवनभरि मूल्य हराएको जिन्दगी घिसारेर, रंगमञ्चको मञ्चबाट ढलेर कलकत्ताको कोठी पुगेकी चुनीबाला देवी यो जगत्का अर्बौं मान्छे अस्ताएझैं अस्ताइन् चुपचाप । लेउले छोपेको दहमा डुबेको हारझैं, अनन्तमा डुबिन चुपचाप । तर, अर्बौं मान्छेको नियतिभन्दा फरक चुनीबाला देवी आफ्नो मृत्युपछि जीवित भइन्– संसारभरिका सिनेफिलहरूको मनमा ।

रातको सन्नाटामा पण्डित रविशंकरको सितार प्रकट भएर सुनिँदै छ । यो आलेख बिट मार्ने सुर गरेको छु । १ सय औं जन्म–जयन्तीको छेकोमा सत्यजितबारे लेख्न थालेको यो लेख मोडिएर कहाँ पुग्यो– चुनीबाला देवी पो आलेखको मुख्य पात्र बन्न पुगिन् । सत्यजित रे यसैउसै कालजयी छन् । मान्छेको सभ्यता जिउँदो रहुन्जेल सिनेफिलिया पनि जिउँदो रहला । सिनेफिलिया जिउँदो रहुन्जेल सत्यजित रे पनि जिउँदै रहलान् । सिनेफिलियाले सत्यजितको १ सय औं मात्रै होइन, हजारौं जन्म–जयन्ती मनाउलान् र सत्यजित सँगसँगै चुनीबाला देवी पनि सिनेफिलियामाझ बाँचिरहलिन् ।

पश्चिम बंगालको कुनै अनजान पोथ्रामा एउटा गरिब घरमा जन्मिएकी चुनीबाला देवी बेखबर मरिन्, कलकत्ताको जिश्म–बजारको गल्लीमा । जन्म र मृत्युको तारिख दुवै नखिपिएको यी पीँधका मान्छेहरूको जन्मजयन्ती यो सभ्यताले कहिल्यै मनाएन । उमेर हिसाब गरिल्याउँदा सायद उनी १५० वर्ष पुगिन् । सत्यजितको १ सय औं जन्मजयन्तीकै दिन चुनीबाला देवीको १५० औं जन्मजयन्ती मनाउने प्रस्ताव यही आलेखमा टाँसी यहाँको समीप पठाएको छु । आगे यहाँको मर्जी !

प्रकाशित : जेष्ठ २९, २०७८ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×