२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रधानमन्त्री ओलीबारे वैद्यले दिएको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय : एमाले

काठमाडौँ — वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै वैद्यले शुक्रबार प्रदेशसभामा दिएको अभिव्यक्तिको विरोध जनाएका हुन् । 

प्रधानमन्त्री ओलीबारे वैद्यले दिएको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय : एमाले

वाग्मती प्रदेशसभाको बैठकमा कांग्रेस सांसद वैद्यले प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीमाथि पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको उनले आरोप आरोप लगाएका थिए । 'ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ,' त्यसपछि वैद्यले भनेका थिए, 'खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?'

वैद्यको उक्त अभिव्यक्तिले एमालेलाई गम्भीर बनाएको ज्ञवालीले विज्ञप्तिमा लेखेका छन् । 'वाग्मती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ ।'

उक्त अभिव्यक्तिलाई लिएर एमालेले कांग्रेसको ध्यानाकर्षण गराएको छ । 'प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,' विज्ञप्तिमा लेखिएकव छ, 'उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।'

सभामुखले वैद्यलाई रोक्न पनि उनी रोकिएका थिएनन् । प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेललगायत सबैजसो सांसद उपस्थित थिए । तर, कुनै पनि दलका प्रमुख सचेतक, सचेतक र सांसदले उनको अभिव्यक्तिमा आपत्ति भने जनाएका थिएनन् ।

चौतर्फी आलोचना भएपछि वैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्न कांग्रेसले निर्देशन दिइसकेको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ २९, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?