गण्डकीमा नेपालीलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको हस्ताक्षर सनाखत, निर्णय शनिबार हुने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा नेपालीलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको हस्ताक्षर सनाखत, निर्णय शनिबार हुने

दीपक परियार

पोखरा — कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउँदै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत गरिएको छ ।

प्रदेश प्रमुखको निवासमा उपस्थित सांसदले बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेपछि शुक्रबार नै सांसदको हस्ताक्षर सनाखत भएको छ ।

त्यसअघि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेका थिए । 'सनाखत कर्मचारीको अगाडि गराऔं कि हजुरकै अगाडि' भन्ने सांसदको प्रश्नमा प्रदेश प्रमुख पौडेलले 'सनाखत भोलि गरौंला ' भन्ने जवाफ दिएकी थिइन् ।

मुख्यमन्त्री नियुक्तिको निर्णय भने शनिबारमात्रै हुने भएको छ । प्रदेश प्रमुख पौडेलले यसअघि नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न शनिबार ३ बजेसम्मको समय सीमा तोकेकी थिइन् । त्यतिञ्जेल अध्ययन गरी निर्णय दिने उनले बताएकी छन् ।

कांग्रेस सचेतक मणिभद्र शर्माले नेपालीलाई मुख्यमन्त्री हुनबाट केही गरी नरोकिने प्रतिक्रिया दिए ।

प्रकाशित : जेष्ठ २८, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिमका ओली समूहका सांसदले भने : प्रदेश सरकार बाेझ भयाे

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा बोल्दै सत्तारुढ दल नेकपा एमाले ओली समूहका सांसद रतनबहादुर थापाले शुक्रबार नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा प्रदेश सरकार बोझ भएको टिप्पणी गरेका छन् ।

सांसद लिलाधर भट्ट र रतनबहादुर थापा

‘संघीयतामा प्रदेश सरकार बोझ भएको भन्ने सबैको गुनासो छ,’ सांसद रतनबहादुर थापाले भने, ‘त्यसमा पनि सुदूरपशिचम प्रदेश सरकार एक नम्बर बोझ भएको छ ।’ उनले वर्तमान सरकाबाट कुनै पनि राम्रो काम नभएको टिप्पणी गरे ।

सुदूरपश्चिम प्रदेशसभामा आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलका क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका सांसदहरु लचक देखिएपनि सत्ता साझेदार दल नेकपा एमालेमा अध्यक्ष केपी ओली निकट सांसदहरुले नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका हुन्।

एमालेकै ओली निकट अर्का सांसद लिलाधर भट्टले पनि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको उपहास गरेका छन् । उनले हरेक निर्वाचन क्षेत्रमा २५ शय्याको अस्पताल निर्माण गर्ने कुरा हास्यास्पद भएको बताए । ‘संकट पर्दा त दुई वर्षसम्म १० शय्याको अस्पताल बनाउन नसक्ने सरकारले २५ बेडको अस्पताल बनाउने भन्दा गजब लागेको छ,’ उनले भने ।

‘यसअघि प्रस्तुत बजेटको प्राथमिकता र सिद्धान्तसँग नीति तथा कार्यक्रम ५० प्रतिशत मेल खाँदैन,’ सांसद भट्टले भने, ‘अब बजेट आउने बेला प्राथमिकता, सिद्धान्त र नीति तथा कार्यक्रममा उल्लेख भएको कार्यक्रमभन्दा एक सय प्रतिशत फरक बजेट आउने होला ।’ प्रतिपक्षी दलका सांसद भरतबहादुर खड्काले सरकारसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताएर लचकदार टिप्पणी गरेका थिए ।

यतिबेला सुदूरपश्चिममा एमाले आपसी किचलोमा फसेर दुई धारमा विभाजित एमालेभित्र माधव नेपाल पक्षधर संसदीय दलका १७ जना सांसदहरु माओवादी नेतृत्वमा रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको सरकालाई विश्वासको मत दिएका थिए भने ७ जना एमाले सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । त्यसलगत्तै आएको सरकारले बिहीबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×