नागरिकतासम्बन्धी अध्यादेश रोक्दा समस्या भयावह हुन्छ : ठाकुर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकतासम्बन्धी अध्यादेश रोक्दा समस्या भयावह हुन्छ : ठाकुर

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेश रोक्दा सम्बन्धित समस्या भयावह हुने बताएका छन् ।

महन्थ ठाकुर, अध्यक्ष, जनता समाजवादी पार्टी

पार्टीबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताएका हन् । उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसद्‌मा अड्किएको उल्लेख गर्दै संसद्ले नागरिकतासम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए ।

नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए । देशको समृद्धि विकास र जनताको अधिकारका निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्ने उनले बताए ।

उद्योगमन्त्री यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म जिम्मेवारी निर्वाह गर्ने बताए । सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्देश्य प्राप्त गर्न केन्द्रित हुने उनले बताए । उनले सरकारको लक्ष्य प्राप्तिका लागि निष्ठापूर्वक काम गर्ने बताए । उनले आफू सामूहिक रुपमा काम गर्न प्रतिबद्ध रहेको पनि बताए ।


प्रकाशित : जेष्ठ २८, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीमा वैकल्पिक सरकार गठनको आह्वान

प्रदेश प्रमुखको आह्वानपछि स–शरीर बहुमत सांसद उपस्थित गराउने विपक्षीको तयारी
दीपक परियार

पोखरा — गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार वैकल्पिक सरकार गठनको लागि आह्वान गरेकी छन् । उनले संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी हुन् । 

यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि संसद सचिवालयले शुक्रबार प्रदेश प्रमुखलाई औपचारिक जानकारी गराएको थियो । संसद सचिवालयको पत्र प्राप्त हुनासाथ प्रदेश प्रमुख पौडेलले सरकार गठनको आह्वान गरिन् ।

प्रदेश प्रमुखको आह्वानसँग नयाँ सरकार गठनको बाटो खुलेको छ । धारा १६८ (५) अनुसार आफूसँग बहुमत भएको आधार प्रस्तुत गर्न सक्ने कुनै एक प्रदेशसभा सदस्यको नेतृत्वमा नयाँ सरकार गठन हुने व्यवस्था छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवश्यकता पर्छ । त्यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

मुख्यमन्त्री गुरुङले एमाले सांसदको मात्रै २७ मत पाएका थिए । विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ गरी ३० सांसदले मत हाले । जनमोर्चाका पियारी थापा र खिमविक्रम शाहीले विपक्षमा मतदान गरे पनि अर्का सांसद कृष्ण थापाले भने पार्टी ह्विप उल्लंघन गर्दै तटस्थ बसे । उक्त ह्विप उल्लंघन भएकैले थापा कारबाहीमा परेका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनलाई साथ दिने बताइसकेका छन् ।

यसरी हेर्दा विपक्षी गठबन्धनको पक्षमा ३१ सांसद पुग्ने देखिन्छ । प्रदेश प्रमुखको आह्वानपछि स–शरीर बहुमत सांसद उपस्थित गराउने विपक्षीको तयारी छ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई यसअघि नै सरकारको नेतृत्वका लागि अघि सारेको छ । संविधानको धारा १६८ (५) बमोजिम पोखरेल आजै मुख्यमन्त्री नियुक्त हुने सम्भावना रहेको बताइएको छ ।


प्रकाशित : जेष्ठ २८, २०७८ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×