धनुषाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

सन्तोष सिंह

धनुषा — धनुषाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बालिकाहरु पोखरीमा नुहाउने क्रममा डुबेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुखियापट्टी मुसरनिया–६, स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर ५ जना बालिकाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र यादवको १० वर्षीया छोरी चन्द्र कुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीय छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरीको १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उतिम सहनीको १२ वर्षीया छोरी ललिता सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बहेडा बेलाका इन्चार्ज प्रहरी सहायक निरीक्षाक लोकनारायण श्रेष्ठले पहिले एक जना डुबेको र उनलाई बचाउन जाँदा अरु डुबेको बताए ।

प्रकाशित : जेष्ठ २८, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल सुरु*

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशको आगामी आव २०७८/७९ का लागि सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।

यसअघि आजै बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश प्रमुख धर्मनाथ यादवलाई सरकारका तर्फबाट राखेको धन्यवाद प्रस्ताव प्रदेशसभामा बहुमतले पारित भएको छ । सरकारको नीति तथा कार्यक्रममा विपक्षी गठबन्धनले विरोध जनाइरहेका बेला सरकारका तर्फबाट सभामा सत्ता पक्षका मुख्य सचेतक भूमिश्वर ढकालले प्रस्तुत गरेको धन्यवाद प्रस्ताव बहुमतले पारित भएको हो ।

शुक्रबारको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले नीति कार्यक्रमको उद्देश्य र प्राथमिकताका विषयमा स्पष्ट पारेका थिए । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया अवैधानिक भएको र त्यसमा प्रदेश प्रमुख यादवले साथ दिएको भन्दै विरोध गरिरहेका छन् । विरोध स्वरुप प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन विपक्षी गठबन्धनबाट प्रमुख सचेतकहरु मात्र प्रदेशसभा बैठकमा उपस्थित थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारको प्रदेशसभा बैठकमा आफुले संसद भित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अल्पमतमा देखिएको अवस्थामा एक मिनेटपनि सत्तामा नहरने प्रतिबद्धता जनाएका छन् । ‘मैले संसदभित्रको राजनीति गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन,’ उनले भने, ‘बहुमत गुम्यो भने एक मिनेट पनि म सत्तामा रहनु हुँदैन भन्ने लाग्छ ।’ उनले जनता समाजवादीका ४ प्रदेशसभा सदस्यको स्टेअर्डर मार्फत पुर्नवहाली भएको र विचाराधिन अवस्थामा रहेकाले त्यसको टुंगो लागेपछि मात्र सरकार अल्पमत कि बहुमतको अवस्थामा जाने उनले बताए ।

धन्यवाद प्रस्तावका लागि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सत्ता पक्षकाले हुन्छ भन्ने ध्वनी मत दिएका थिए । विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले हुन्न भनेका थिए । तर, हुन्न भन्ने ध्वनी मत कम भएकाले सभामुख पूर्णबहादुर घर्तीले बहुमतले पारित भएको घोषणा गरे । धन्यवाद पारित भएपछि शुक्रवारको बैठक एक घण्टाका लागि स्थगित भएर पुन: सुरु भएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रवारको पहिलो बैठकले धन्यवाद प्रस्ताव पारित गरेपछि अहिले दोस्रो बैठकबाट नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको बताए ।

*यसअघिको समाचारमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ १३:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×