कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गण्डकीमा नयाँ सरकार गठनको यस्तो छ योजना

दीपक परियार

पोखरा — प्रदेशसभा बैठकस्थलबाट बाहिँरिदा बिहीबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अनुहार उज्यालो थिएन । विश्वासको मत प्राप्त गर्न नसकेपछि पोखरा सभागृहबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै भने, ‘यो एउटा प्रक्रिया हो । संवैधानिक प्रक्रियाअनुसार जहाँजहाँ हुन्छ त्यही त्यही जाने हो ।’

गण्डकीमा नयाँ सरकार गठनको यस्तो छ योजना

त्यही भवनबाट बाहिरिँदा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली उत्साही देखिए । सञ्चारकर्मीलाई लामै प्रतिक्रिया दिँदै उनले आफ्नै नेतृत्वमा सरकार बन्ने र त्यही सरकारले समयमै बजेट ल्याउने भन्न भ्याए । ६० प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री गुरुङको विपक्षमा खसेको मत ३० मात्रै थियो । नयाँ सरकार गठन गर्न आवश्यक मत संख्या ३१ हो । नेपालीले आफ्नो पक्षमा बहुमत रहेको स्पष्ट आधार प्रस्तुत गरेनन् यद्यपि बहुमत पुग्नेमा उनी निश्चिन्त देखिए । उनी विश्वस्त देखिनुको कारण थिए, राजीव गुरुङ (दीपक मनाङे) ।

स्वतन्त्र सांसद गुरुङ बिहीबार मतदानमा सहभागी भएनन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकदु मन्त्री रहेका उनले बिहीबार राति नै पदबाट राजीनामा दिए । उनले संसद् विघटनको खेलमा आफ्नो सहभागिता नहुने भन्दै ४ दलको गठबन्धनलाई सहयोग गर्ने बताइसकेका छन् । उनको राजीनामा सार्वजनिक भएपछि मुख्यमन्त्रीले बिहीबार मध्य रातमै उनलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्रीले एमाले सांसदको मात्रै २७ मत मात्रै पाएका थिए । विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ सांसदले मत हाले । जनमोर्चाका पियारी थापा र खिमविक्रम शाहीले विपक्षमा मतदान गरे पनि अर्का सांसद कृष्ण थापाले भने पार्टी ह्विप उल्लंघन गर्दै तटस्थ बसे ।

सम्भवत: आज नै प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान गर्नेछिन् । आफूसँग बहुमत भएको आधार प्रस्तुत गर्न सक्ने कुनै एक प्रदेशसभा सदस्यको नेतृत्वमा नयाँ सरकार गठन हुने संवैधानिक व्यवस्था छ । त्यसरी गठन हुने नयाँ सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

शुक्रबार प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नेछिन् । कृष्णचन्द्र नेपालीको नेतृत्वमा बहुमत सांसद स–शरीर उपस्थित गराउने गठबन्धनको तयारी छ । बिहीबार तटस्थ बसेका जनमोर्चाका कृष्ण थापा उपस्थित नहुने निश्चित छ । कांग्रेस देखिनसहने उनी वामपन्थीको सरकार बन्नुपर्ने एकोहोरो रटानमा छन् । पार्टी निर्देशन नमानेकोले एक वर्षसम्म साधारण सदस्यबाट समेत निष्कासनमा परेपछि उनी सांसदबाट समेत पदमुक्त भएका थिए । तर सर्वोच्चको अन्तरिक आदेशले उनको पद जोगियो । अहिले पनि बरु पार्टीको ह्विप उल्लंघन गरेर कारबाही भोग्ने तर कांग्रेस गठबन्धनलाई भोट नहाल्ने पक्षमा उनी देखिन्छन् ।

मनाङेसहित ३१ पुर्‍याउने तयारी गरेको विपक्षी गठबन्धनले अर्को एक सांसदलाई ‘ब्याकअप’मा राखेको देखिन्छ । उनी हुन्, खनाल–नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटा । आफूबाहेक विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगे उनी फ्लोर क्रस नगर्ने मुडमा देखिन्छन् । बिहीबार काठमाडौंमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको छलफलले पनि अन्तिम अवस्थामा सापकोटालाई फ्लोर क्रस गर्न लगाउने तयारी गरेको बुझिएको छ । विपक्षीको अर्को ‘ब्याकअप प्लान’ हो, सभामुखको राजीनामा । माओवादी केन्द्रबाट सभामुख बनेका नेत्रनाथ अधिकारीले राजीनामा दिने सम्भावनाको समेत चर्चा हुने गरेको छ ।

यसरी हेर्दा शुक्रबार कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार बन्न सम्भावना बलियो देखिन्छ । मुख्यमन्त्री स्वयंले संवैधानिक प्रक्रियाअनुरुप चल्ने प्रतिक्रिया दिएकाले धारा १६८ (७) मा जाने विकल्प अपनाउन सक्ने देखिँदैन ।

उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचत मिति तोक्ने प्रावधान उपधारा ७ मा छ । उपधारा ५ विकल्प हुँदाहुँदै संसद् विघटनको आत्मघाती कदमतर्फ उन्मुख हुने आधार मुख्यमन्त्री गुरुङसँग छैन ।

प्रकाशित : जेष्ठ २८, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?