१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेशमा मिलेर जाने गठबन्धनको रणनीति

काठमाडौँ — पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले प्रदेशमा संयुक्त सरकार बनाउने रणनीति बनाएका छन् ।

प्रदेशमा मिलेर जाने गठबन्धनको रणनीति

गण्डकी प्रदेशमा विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धन बैठकले सबै प्रदेशमा मिलेर अघि बढ्ने निर्णय लिएको हो ।

गण्डकी प्रदेशमा गुरुङको अल्पमतको सरकार ढलेपछि नयाँ सरकार निर्माणको अन्तिम विकल्प मात्र बाँकी छ । संविधानको धारा १६८ (५) मा प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्थामा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ । सरकार बन्न नसके प्रदेशसभा विघटन हुने जोखिम भएकाले विपक्षी गठबन्धनले बहुमत जुटाएरै सरकार निर्माणका लागि दाबी प्रस्तुत गर्ने भएको छ ।

विश्वासको प्रस्तावमा बिहीबार भएको मतदानमा भाग नलिएका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र तटस्थ रहेका जनमोर्चाका सांसद कृष्ण थापालाई मनाउने विपक्षी मोर्चाको तयारी छ । ‘दुईमध्ये एक जनालाई मात्रै ल्याउन सकिए पनि सरकार बन्ने स्थिति रहन्छ,’ गठबन्धनको बैठकपछि कांग्रेसका एक नेताले भने, ‘भएन भने अरू विकल्प पनि खोज्न सकिन्छ ।’

उनले वाग्मती, लुम्बिनी र प्रदेश १ मा समेत मिलेर अघि बढ्ने कुराकानी भएको बताए । वाग्मती र प्रदेश १ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएका छन् । नीति तथा कार्यक्रम असफल बनाएर सरकार ढाल्ने रणनीतिमा विपक्षी गठबन्धन पुगेका छन् । प्रदेश २ मा कांग्रेस सरकारमा सहभागी भइसकेको छ । माओवादी केन्द्र पनि सरकारमा जाने तयारीमा छ ।

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र ‘फ्लोर क्रस’ गरेका कर्णालीका एमाले खनाल–नेपाल पक्षका चार सांसद पुनर्बहाली हुने सर्वोच्च अदालतको अन्तरिम आदेशप्रति गठबन्धनका नेताहरूले सन्तोष प्रकट गरेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?