सीडीओलाई गृहको १२ बुँदे सर्कुलर- नाकामा कडाई, निषेधाज्ञा खुकुलो बनाउने - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीडीओलाई गृहको १२ बुँदे सर्कुलर- नाकामा कडाई, निषेधाज्ञा खुकुलो बनाउने 

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले कानुन विपरितका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीलाई मन्त्रालयमा स्वागत गर्दै सचिव महेश्वर न्यौपाने । तस्बिर : रासस ।


नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै उक्त निर्देशन दिएको हो ।

परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित बिकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मन्त्रीबाट प्राप्त निर्देशन र निर्णयलाई कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई परिपत्र गरिएको बताए । गृहमन्त्री अधिकारीको पदभार ग्रहणपछि गृहले शान्ति सुरक्षा, कोभिड संकट व्यवस्थापन, सीमा सुरक्षा एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा पनि केन्द्रीत रहन निर्देशन दिएको छ ।

बिहीबार पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका अधिकारीलाई गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका कार्यसम्पादनको अवस्थाबारे ब्रिफिङ गरेका थिए । त्यसपछि मन्त्रीले आगामी निर्वाचन, कोभिड–संकट व्यवस्थापन, जारी जिषेधाज्ञा र सुशासनका विषयमा निर्देशन दिएका थिए । मन्त्री अधिकारीको निर्देशनपछि मन्त्रालयले निषेधाज्ञाका कारण बन्द व्यापार/व्यवसाय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना पेश गर्न पनि परिपत्रमा भनिएको छ । गृहको परिपत्रमा जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै निषेधाज्ञामा बन्द रहेका आर्थिक गतिविधि सुचारु गर्ने खाका पेश गर्न भनिएको छ ।

निषेधाज्ञालाई समीक्षा गर्दै आर्थिक कारोबार क्रमशः खुलाउदै लैजाने गरी अवधारणा ल्याउन भनिएको छ । चुस्त सेवा प्रवाह, सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध, विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् अनुगमन/नियमनलाई पनि कडाइका साथ लागू गने परिपत्रमा उल्लेख छ ।

निषेधाज्ञा समीक्षा र आर्थिक गतिविधि खुलाउने सम्बन्धी निर्देशनमा भनिएको छ– ‘हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा एवं जनस्वास्थ्यमा नकारात्मक असर नपर्ने गरी र स्वास्थ्य मापदण्ड पालना गर्दै आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारी अघि बढाउने ।’ कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै वैशाख १३ यता मनाङ र खोटाङबाहेकका ७५ जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञा जारी नभएका दुई जिल्लामा पनि प्रशासनको नियन्त्रणमा मात्रै आवागमन देखि अन्य गतिविधि सञ्चालन गर्न दिइएको छ ।

परिपत्रमा सीमा सुरक्षा र व्यवस्थापनलाई पनि कडाइका साथ पालना गर्न भनिएको छ । गृहले जिल्ला प्रशासन कार्यालयहरुलाई पठाएको परिपत्रमा भनिएको छ, ‘सीमानाकासाग जोडिएका जिल्लाहरुले नाकाबाट हुने आवागमनलाई व्यवस्थित गरी अभिलेख राख्ने व्यवस्थाको साथै नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउने ।’

प्रकाशित : जेष्ठ २७, २०७८ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्

सिंगापुरका विदेशमन्त्रीले भने- ‘महामारीविरुद्ध सिंगापुर नेपालको साथमा’

पाकिस्तान र भारतका राजदूतले उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठलाई भेटे
कान्तिपुर संवाददाता

काठमाडौँ — सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि नेपाललाई आफ्नो सरकारको साथ रहेको बताएका छन् । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठसँग बिहीबार भर्चुअल वार्ता गर्दै उनले दुई मुलुकका सम्बन्धका साथै कोरोनाका विषयमा छलफल गरे ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा उपप्रधानमन्त्री महासेठले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकामा सिंगापुरलाई धन्यवाद दिए । सिंगापुरको टेमासेक फाउन्डेसन इन्टरनेसनल र उसको साथी संस्थाहरूले नेपाललाई मे २२ मा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सिंगापुरको विदेश मन्त्रालय र टेमासेकले प्रदान गर्ने मेडिकल आपूर्तिको दोस्रो टोली चाँडै आउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठले बिहीबारै नेपालका लागि पाकिस्तानका राजदूत हैदर शाहसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटवार्ता गरेका छन् । उक्त अवसरमा दुईपक्षीय हित, सहकार्य र कोरोना भाइरसविरुद्ध लड्ने विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि महासेठले बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग पनि मन्त्रालयमै भेटवार्ता गरेका थिए । भेटमा दुईपक्षीय हित, सहकार्य र कोरोनाविरुद्धको खोपका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ २१:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×