सिंगापुरका विदेशमन्त्रीले भने- ‘महामारीविरुद्ध सिंगापुर नेपालको साथमा’

पाकिस्तान र भारतका राजदूतले उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठलाई भेटे

काठमाडौँ — सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि नेपाललाई आफ्नो सरकारको साथ रहेको बताएका छन् । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठसँग बिहीबार भर्चुअल वार्ता गर्दै उनले दुई मुलुकका सम्बन्धका साथै कोरोनाका विषयमा छलफल गरे ।

सिंगापुरका विदेशमन्त्रीले भने- ‘महामारीविरुद्ध सिंगापुर नेपालको साथमा’

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा उपप्रधानमन्त्री महासेठले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकामा सिंगापुरलाई धन्यवाद दिए । सिंगापुरको टेमासेक फाउन्डेसन इन्टरनेसनल र उसको साथी संस्थाहरूले नेपाललाई मे २२ मा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सिंगापुरको विदेश मन्त्रालय र टेमासेकले प्रदान गर्ने मेडिकल आपूर्तिको दोस्रो टोली चाँडै आउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठले बिहीबारै नेपालका लागि पाकिस्तानका राजदूत हैदर शाहसँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटवार्ता गरेका छन् । उक्त अवसरमा दुईपक्षीय हित, सहकार्य र कोरोना भाइरसविरुद्ध लड्ने विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि महासेठले बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँग पनि मन्त्रालयमै भेटवार्ता गरेका थिए । भेटमा दुईपक्षीय हित, सहकार्य र कोरोनाविरुद्धको खोपका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?