कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'बादल'को बिरासत नैनकलाको काँधमा !

काठमाडौँ — सर्वोच्च अदालतको ६ जेठको आदेशअनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' पदमुक्त भए र सिंहदरबारबाट बाहिरिए ।

'बादल'को बिरासत नैनकलाको काँधमा !

तर, एक महिना नपुग्दै थापा पत्नी नैनकला थापा एमाले नेतृको हैसियतमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेकी छन् । यस अर्थमा थापाको सिंहदरबारको बिरासत नैनकलाको काँधमा आएको छ ।

पालैपालो पति–पत्नी मन्त्री भएको र एकैपटक सञ्चार तथा सूचना प्रविधिमन्त्रीजस्तो महत्वपूर्ण मन्त्रालय दिइएको भन्दै नैनकलाको क्षमतामाथि प्रश्न पनि उठेका छन् । फागुन २३ मा नेकपा भंग भएपछि पूर्वमाओवादीका तर्फबाट थापा सबभन्दा वरिष्ठ नेता हुन्, जो एमालेमा गएका थिए । यस अर्थमा प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई खुसी पार्न र पूर्वमाओवादीको सहानुभूति लिन नैनकलालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको जिम्मेवारी दिएको बुझ्न कठिन छैन ।

पूर्वमाओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी हुन् । तर, मन्त्री कसलाई बनाउने भन्ने विषयमा पूर्वमाओवादीभित्रै छलफल नभएको यसअघि ओली सरकारमा रहेका एक मन्त्रीले बताए । उनका अनुसार थापाले नैनकलालाई मन्त्री बनाउने निर्णय एकलरुपमा लिएका हुन् ।

‘नैनकलाजीलाई मन्त्री बनाउने विषयमा बादल कमरेडले हाम्रो समूहमा छलफल गर्नुभएन, आफ्नोतर्फबाट प्रस्ताव गर्नुभयो,’ अदालतले पदमुक्त गरेका एक पूर्वमन्त्री भन्छन्, ‘उहाँको योग्यता र क्षमतामाथि प्रश्न छैन, विधि–प्रक्रियाको कुरामात्र गरेका हौँ ।’ पूर्वमाओवादी समूहका अर्का नेता टोपबहादुर रायमाझीले राष्ट्रियसभाको उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा पराजय भोगेका चन्दबहादुर खड्कालाई मन्त्री बनाउनुपर्ने लविङ् गरेका थिए ।

यसअघि विस्तार गरेको मन्त्रिपरिषद् असंवैधानिक भन्दै सर्वोच्च अदालतमा मुद्दा चलेकै बेला ओलीले दोस्रोपटक पूर्वमाओवादीसमेत समेटेर मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

विपक्षीहरुले ओलीले प्रतिगमन गरेको आरोप लगाइरहेका बेला उनकै मन्त्रिपरिषद्‍मा नैनकला सहभागी बन्ने अवसर पाएकी छन् । नैनकलाले बिहीबार पदभारसमेत ग्रहण गरेकी छन् । पदबहाली गर्दै उनले साइवर सुरक्षा नीति २०७८ कार्यदल बनाउने पहिलो निर्णय गरेकी छिन् ।

यसअघि २०६४–२०६८ सम्म महिला आयोगको अध्यक्ष भएर काम गरेकी र पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा रहेकी नैनकलाले संचार मन्त्रालय कसरी चलाउँछिन् ? प्रश्न भने उठेको छ । नैनकलासँग राजनीतिक सहकार्य गरेकाहरुको यसबारे मिश्रित प्रतिक्रिया छ ।

नैनकलाकी पूर्वसहकर्मी जयपुरी घर्ती भन्छिन्, ‘अहिलेको सरकार सञ्चालन, मन्त्रिपरिषद् यो सबै हेर्दा अरुले सक्छन्, उहाँले सक्नु हुन्न भन्ने भएन । उहाँको क्षमता–योग्यता पनि छ । अब कसरी जानुहुन्छ, त्यो उहाँको विषय भयो । किनकी अहिले राजनीतिक–वैचारिक हिसाबले उहाँ प्रतिगमनको कित्ता समाउनु भएको छ, म प्रतिगमनको विरुद्धमा छु ।’

पूर्र्वशिक्षिका समेत रहेकी नैनकला ०३५/०३६ विद्यार्थी आन्दोलनमा सहभागी भएकी थिइन् । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै महासचिव भएर उनले काम गरेकी थिइन् ।

त्यसपछि सक्रिय राजनीतिमा नरहेकी नैनकला तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् । फेरि सक्रिय राजनीतिक मैदानमा उत्रेकी नैनकलाको अर्को परीक्षा सुरु भएको छ । यसको नतिजा उनको कार्यकालले तय गर्नेछ ।

प्रकाशित : जेष्ठ २७, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?