२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बीपी प्रतिष्ठानमा सुधारका कार्य भइरहेको उपकुलपति गिरीको दाबी

सुनसरी — बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध नागरिक दबाब सञ्जाल गठन भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सुधारका कार्य भइरहेको दाबी गरेका छन् । 

बीपी प्रतिष्ठानमा सुधारका कार्य भइरहेको उपकुलपति गिरीको दाबी

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आफू नियुक्त भएयता व्यापक सुधारका काम गरिरहेको दाबी गरेका छन् । प्रतिष्ठान भ्रष्टाचारको अखडा भएको, आसेपासेलाई जागिर खुवाउने भर्तिकेन्द्र बनेको, करोडौं रुपैयाँ पर्ने मेडिकल उपकरण खरिद गर्दा व्यापारीसँगको मिलोमतोमा आर्थिक अनियमितता भएको, कालोसूचीमा राख्नुपर्नेलाई उल्टै ठेक्का दिएको, मेडिकल उपकरण खरिद गरेर प्रयोग नगरी थन्काइएको विषयमा नागरिक दबाब सञ्जाल र सञ्चारकर्मीहरुले प्रश्न उठाएपछि उपकुलपति गिरीसहित पदाधिकारीहरूले सुधार भइरहेको दाबी गर्दै प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

उपकुलपति गिरीले आफ्नो कार्यकालमा नेपालमै पहिलोपटक सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको दाबी गरे । उनले अक्सिजन मेनिफोल्ड पाइपलाइन जडान गरेको देखि १५ वटा आईसीयू बेड, २५ वटा एचडीयू बेड, ६० वटा आउटलेटबाट सिधै अक्सिजन पाइपलाइन जडित जेनेरल बेडहरू र २ वटा पोर्टेबलसहित १२ वटा भेन्टिलेटर सञ्चालनमा ल्याएको दाबी गरे । उनले १० वटा ननइन्भेसिभ भेन्टिलेटर, ५ वटा हाईफ्लो नसल क्यानुला सञ्चालनमा ल्याएको र कोभिड बिरामीका लागि छुट्टै एक्स–रे, भिडियो एक्स–रेका साथै शल्यक्रियाका लागि छुट्टै एनेस्थेसिया वर्क स्टेसनको व्यवस्था गरिएको बताए ।

प्रतिष्ठानको कोभिड अस्पतालमा जडान गरिएका मेडिकल उपकरणको खरिद प्रक्रिया र कालोसूचीमा राख्नु पर्ने ठेकेदारबाट आपूर्तिको विषयमा प्रश्न गर्दा विधि र प्रक्रिया पुर्‍याएर नै सामान खरिद गरेको उनले दाबी गरे ।

प्रतिष्ठानको १६ स्लाइसको सिटी स्क्यान बिग्रेर थन्केपछि सार्वजनिक निजी साझेदारीको आधारमा इमर्जेन्सी विभागमा जडान गरिएको सिटी स्क्यान मेसिनबाट काम चलाइरहेकाले बिरामीको चाप थेग्न सकेको छैन । त्यसबारे उपकुपति गिरिले भने, ‘एक महिनाभित्र २५६ स्लाइसको नयाँ सिटी स्क्यान मेसिन जडान हुन्छ । यसका लागि सबै प्रक्रिया पुरा भएका छन् । यस्तै १.५ टेस्लाको एमआरआई मेसिन खरिद प्रक्रिया पाइपलाइनमा छ भने ३ टेस्लाको एमआरआई मेसिनका लागि पनि प्रक्रिया सुरु गरिएको छ । यसका साथै अत्याधुनिक प्रविधिमा आधारित नयाँ अल्ट्रासाउण्ड मेसिनको खरिद आदेश दिइसकिएको छ ।’

उनले अप्रेसन थिएटरको स्तरोन्नती गर्न पाँच वटा एनेस्थेसिया वर्क स्टेशन थप गर्ने, इमर्जेन्सी अप्रेशन थिएटरमा प्रयोग भएको उपकरणको स्तरोन्नती गर्ने, २ वटा ओटी लाइट र २ वटा ओटी टेबल खरिद प्रक्रियामा रहेको र ल्याप्रोस्कोपिक (दुरबिन प्रविधि) तथा अर्थोपेडिक सर्जरी (हाडजोर्नी) सेवामा अभिवृद्धि गर्ने प्रक्रिया पनि सूरु भएको बताए ।

भ्रष्टाचार, कमिसनले बेहाल भएको प्रतिष्ठान सुधार गर्न चौतर्फी दबाब आउन थालेपछि प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उपकुलपति गिरीले हाल सञ्चालित ८ बेडको डायलाइसिन बेडलाई २० बेडसम्म विस्तार गर्ने, थप २५ वटा वयस्कका लागि र १५ वटा बालबालिकाका लागि आईसीयू बेड थप गर्न बजेट विनियोजन भएअनुसार प्रक्रिया अगाडि बढाइएको पनि बताए ।

प्रतिष्ठानको प्रयोगशालामा जडान गरिएका अधिकांस उपकरण पुराना भएकाले रिपोर्ट समेत कहिलेकाँही गलत आउने र प्रतिष्ठानकै चिकित्सकले नपत्याउने गरेको बताउँदै आएका छन् । उपकुलपति गिरीले प्रयोगशालाका पुराना उपकरणहरू विस्थापित गर्न अत्याधुनिक प्रविधिमा आधारित अटोएनालाइजर उपकरणहरु जडान गर्ने प्रक्रिया पनि सुरु गरेको बताए ।

चिकित्साशास्त्रको नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको र पूर्ण चिकित्सा विश्वविद्यालयमा रूपान्तरण गर्न ऐनको मस्यौदा तयार गर्ने काम भइरहेको पनि उनले बताए । प्रतिष्ठानले प्रशासनलाई चुस्त दुरुस्त बनाउन नियमावली संशोधन गर्न मस्यौदा लेखन कार्य भइरहेको पनि उनले बताए ।

संचारकमीहरुले राखेको जिज्ञासामा उनले भने, ‘मेडिकल उपकरण खरिदको प्रतिस्पर्धामा कहिलेकाहीँ कानूनी अड्चन आउने गरेको र तिनैकारणले एक–दुईवटा ठेक्का रद्द भएका हुन् । म उपकुपति भएर प्रतिष्ठानमा आएको १४ महिना भएकाले त्यसअघिको अनियमितता मलाई थाहा छैन । मैले गरेको कामको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरी नसकेकाले अनियमितता भन्न मिल्दैन ।’ उनले बजेटको सुनिश्चितासँगै प्रतिष्ठानलाई प्रदेश १ र २ को रिफरल ट्रमा सेन्टरको रुपमा स्थापित गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको पनि बताए । डेन्टलका चिकित्सकहरुले त्यहाँका ९० प्रतिशत डेन्टल चियर कामै नलाग्ने, हाइड्रोलिक भएको बताउँदै आएका छन् । तर उपकुपति गिरीले ७० वटा डेण्टल चियर मर्मत गरेर व्यवस्थित गरेको दाबी गर्दै भने, ‘३० वटा नयाँ इलेक्ट्रिकल डेण्टल चियर खरिदका लागि प्रक्रियामा छ ।’

प्रकाशित : जेष्ठ २७, २०७८ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?