विपक्षीको बहुमत पुग्ने देखिन्न : मुख्यमन्त्री गुरुङ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपक्षीको बहुमत पुग्ने देखिन्न : मुख्यमन्त्री गुरुङ

दीपक परियार

पोखरा — गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन प्रस्ताव पेस गरेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षीको बहुमत पुग्ने अवस्था नरहेको बताएका छन् । 

बिहीबार जारी संसद् बैठकमा उनले विपक्षीको बहुमत नपु्ग्ने एक महिनाअघि नै पुष्टि भएको बताए । उनले कसैको बहुमत नपुग्दा संविधानबमोजिम अघि बढ्ने जनाए ।

यसअघि विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएको सूचनापछि प्रदेशसभा बैठक स्थगित भएको थियो । त्यसपछि वैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदानको कार्यसूची तय गरिएकोमा त्यसको अघिल्लो दिन नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दुई वा त्यसभन्दा बढी दललाई सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

मुख्यमन्त्रीविरुद्ध गठबन्धन बनाएका विपक्षीले बहुमत दाबी गर्दै प्रदेशप्रमुखसमक्ष गए पनि बहुमत नपुगेको भन्दै प्रदेश प्रमुखले गुरुङलाई नै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।

सरकार बचाउने र बनाउने दुवै पक्षलाई ३१ सांसदको आवश्यकता पर्छ । प्रदेशसभामा एमालेका २७ सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाइएपछि मुख्यमन्त्रीको पक्षमा थिए । तर उनी प्रदेशसभा भंग गर्न नहुने भन्दै विपक्षी गठबन्धनलाई सघाउने आशयसाथ आजै बिहानदेखि सम्पर्कविहीन भएका छन् । उनी संसद् बैठकमा उपस्थित भएका छैनन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पनि पार्टीमा विद्रोह गरी मुख्यमन्त्रीमा गुरुङलाई सघाउने भन्दै आएका छन्।

बैठकमा मुख्यमन्त्री गुरुङद्वारा विश्वासको मत माग्दै पेस गरिएको प्रस्तावमाथि छलफल चलिरहेको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

आँप ब्लकमा समस्यै–समस्या

भण्डारणदेखि बिक्रीसम्मको व्यवस्था सरकारले गरिदिनुपर्ने किसानको माग
श्यामसुन्दर शशि

जनकपुर — बिहान–बेलुका आँपको बगैंचा चहार्नु । पात–पतिंगर सफासुग्घर गर्नु र पानी छम्किँदै आँपको रूख र फल नियाल्नु पुण्यदेव महतोको दैनिकी हो । बगैंचा भन्नेबित्तिकै हुरुक्कै हुने बटेश्वर गाउँपालिका १ चित्रपुरका ७२ वर्षीय महतो यस वर्ष भने चिन्तित छन् ।

धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरकी रामवतीदेवी महतो आँपको परिकार सुकाउँदै । तस्बिर : श्यामसुन्दर/कान्तिपुर

उनको चिन्ताको कारण हो, लामो निषेधाज्ञा र गत वर्षदेखि आँपमा लाग्न थालेको ‘मेंगो लिफ वेवर’ नामक किरा । ‘अन्य बाली हटाएर आँपको खेती थाले । अब किराले गर्दा आँपको बगैंचा पनि हटाउनुपर्ने अवस्था आयो,’ उनले भने ।

आँपका चिचिला जति ठूलो हुन्थे, उनको खुसी त्यसैत्यसै बढ्थियो । फल तयार भएपछि बिक्री गर्ने, प्राप्त रकमबाट घरपरिवार चलाउने अनि राम्रो आम्दानी भए पूजाअर्चना गर्ने, तीर्थाटन जाने योजना उनी बुनिरहन्थे । तर, यस वर्ष उनलाई चिन्ता छ, ‘अलिअलि फलेको आँप बन्दाबन्दीमा कसरी बिक्री गर्ने ?’ पुण्यदेवलगायत धनुषाका धेरैजसो किसानले आँपसमेत टिपेका छैनन् ।

चित्रपुरका कुल कृषियोग्य जग्गामध्ये ८० प्रतिशतमा आँपको बगैंचा छ । महतोको एकल हिस्सामा साढे ७ बिघा जग्गा छ । तीमध्ये ६ बिघामा आँपको बगैंचा छ । जितेन्द्रसिंह कुशवाहाको कुल ७ बिघामध्ये ४ बिघामा, राजकुमार महतोको कुल ४ बिघामध्ये साढे ३ बिघामा आँप खेती हुन्छ । स्थानीय रामखेलावन महतोका अनुसार चित्रपुरका राजकिशोर, देवेन्द्र, प्रदीप, शिवनारायण, हरिश्चन्द्रजस्ता ठूला किसानको १०/१० बिघाहाको आँपको बगैंचा छ ।

महतोका श्रीमती रामवती देवी घरको छतमा अमोट (आँपको रसबाट निर्माण गरिने स्वादिष्ट परिकार) बनाउन व्यस्त थिइन् । छिमेकी गजेन्द्र सिंहको छतमाथि निजकी श्रीमती पुनिता देवी आँपको खटाई (काँचो आँप सुकाएर बनाउने अमिलो आचार) सुकाउँदै थिइन् । अर्का छिमेकी महेशकुमार महतोकी श्रीमती रेणु महतो आफ्नो आँगनमा आँपको अचार सुकाउँदै थिइन् । ‘पुरुष आँप बगैंचाको रेखदेख गर्छन् । फल बिक्री गर्छन् अनि हामी महिला फुर्सदको समयमा अचार, खटाई, अमोट बनाउँछौं,’ रामवतीदेवीले भनिन् । स्थानीय प्रविधिद्वारा आफैंले तयार पारेका आँपका परिकारहरू वर्षभरि घरमा उपभोग गरिन्छ ।

चुरे फेदको चारकोसे जंगल फँडानी गरेर करिब आठ दशकअघि चित्रपुर, हरिहरपुर, दिगम्बरपुर, शान्तिपुर, कालीपुर, बटेश्वर, जमुनिवास, बेंगाडावरलगायत गाउँ बसालिएको थियो । नयाँ माटो उब्जाउ हुने भए पनि यी बस्तीमा पानीको स्रोत थिएन । अकासे पानीको भरमा खेती हुन्थे । नजिकको बडहरी, विगही, सुखजोरलगायत नदी तथा खोलामा पानी त हुन्थे, तर पानी खेतसम्म ल्याउने कुलो थिएन । खानेपानीको समेत कठिनाइ भएको बेला सिँचाइका लागि पानीको जोहो गर्नु सम्भव थिएन ।

महतोका अनुसार त्यति बेला गाउँमा मकै, कोदो, तरुलको खेतीमात्र सम्भव थियो । जंगली बंगुर र नीलगाईको उत्पात थियो, त्योबेला । मिहिनेत गरेर लगाएको बाली जंगली जनावर नष्ट गरेर जान्थे । यसरी पानीको आभाव तथा जंगली जनावरको उत्पातबाट जोगिन गाउँका अगुवाहरूले सामूहिक आँप खेती थाले । ‘ग्रामीणहरूको सहमतिमा २०१६/१७ सालतिर जनकपुरबाट बिरुवा ल्याएर पहिलो पटक आँपको रूख रोप्यौं । बिरुवा सप्रिन थालेपछि अर्को वर्षदेखि सबैले रोप्न थाले,’ महतोले भने ।

सिँगै गाउँ आँप खेतीमा निर्भर भए पनि गाउँलेले आँप बिक्री गरेर अपेक्षा अनुसारको आम्दानी भने गर्न सकेका छैनन् । बाली सप्रिदा सस्तोमा बिक्री गर्नु पर्ने समस्या त छँदैछ, बिचौलिया तथा ठेकेदार प्रथाका कारण पनि उनीहरूले अपेक्षित मूल्य पाउन सकेका छैनन् । अधिकांश ठूला किसान आफ्नो बगैंचा वार्षिक वा बहुवर्षीय ठेक्कामा लगाउँछन् । वीरगन्ज, रौतहट, राजविराजका ठेकेदारहरू बगैंचा सस्तोमा ठेक्का लिन्छन् अनि आँप बाहिर लगेर महँगोमा बेच्छन् । स्थानीय किसानहरूका अनुसार ठेक्केदारले प्रतिबिघा ७० देखि ७५ हजारमा आँपको बगैंचा खरिद गर्छन् ।

बगैंचा ठेक्का लगाउनुको कारणबारे रामखेलावन महतोले भने, ‘आँप कहाँ बेच्ने ? बजारसम्म कसरी पुर्‍याउने ? सबैको पहुँच बजारसम्म हुँदैन । अनि सस्तोमै बगैंचा नै बिक्री गर्छन् ।’ आँप भण्डारण तथा बिक्री वितरणको व्यवस्था सरकारले गरिदिनुपर्ने माग पनि स्थानीयको छ ।

कृषि ज्ञान केन्द्र, जनकपुरका बागवानी विकास अधिकृत प्रदीपकुमार यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बटेश्वर गाउँपालिकाको चित्रपुर र बटेश्वरसहितका तीन वडालाई ‘आँप ब्लक’ निर्धारण गरेको जानकारी दिए । परियोजनाअन्तर्गत किसानलाई खेतीसम्बन्धी तालिम, आँप टिप्ने मेसिन खरिदमा ५० प्रतिशत अनुदान तथा क्यारेट खरिदमा अनुदान दिने गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७८ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×