कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राउत सरकारको सारथि कांग्रेस

मन्त्रालयमा कुरा नमिल्दा माओवादी सरकारमा गएन

जनकपुर — प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) सँग कांग्रेसले सत्ता साझेदारी गरेको छ । जसपाको महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई हटाएको पर्सिपल्ट बुधबार उपेन्द्र यादवपक्षीय मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई तीन मन्त्रालय दिएर सरकारमा सहभागी गराएका हुन् ।

राउत सरकारको सारथि कांग्रेस

दुइटा मन्त्रालय दाबी गरिरहेको माओवादी केन्द्र भने भागबन्डा नमिल्दा सरकारमा गएको छैन । जसपाको यादव पक्षसँग चार दिनको बार्गेनिङ र छलफलपछि कांग्रेस संसदीय दल नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी भएको हो । यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनी धनुषा क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा निर्वाचित हुन् ।

मन्त्री यादव २०६४ सालमा संविधानसभामा कांग्रेसका समानुपातिक सभासद पनि थिए । खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी कांग्रेस सांसद ओमप्रकाश शर्मालाई दिइएको छ । शर्मा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् । महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा सर्लाहीका कांग्रेस सांसद वीरेन्द्रप्रसाद सिंहलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री राउतको जनकपुरस्थित सरकारी निवासमा बुधबार अपराह्न दुई दलबीच भएको छलफलबाट कांग्रेसको भागमा पर्ने मन्त्रालयको टुंगो लगाइएको थियो । प्रदेश प्रमुख राजेश झाले बुधबार साँझ नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराए । मंगलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कांग्रेस र माओवादी केन्द्रलाई ल्याउन चारवटा मन्त्रालय टुक्र्याउने निर्णय गरेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्र्याएर भौतिक पूर्वाधार विकास र खानेपानी तथा ऊर्जा विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय टुक्र्याएर सामाजिक विकास र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ ।

मुख्यमन्त्री राउतनिकट स्रोतले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन छलफल जारी रहेको जनाएको छ । माओवादी केन्द्रले दुई मन्त्रालयको दाबी छाडेको छैन । राउत सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पनि टुक्र्याएर आन्तरिक मामिला तथा सञ्चार र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय बनाएको छ । यस्तै, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय टुक्र्याएर उद्योग, पर्यटन तथा वन र अर्को वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बनाइएको छ ।

ठाकुर–महतो समूहलाई ओली सरकारमा जानबाट रोक्न नसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव शुक्रबार जनकपुर आएर प्रदेशको सत्ता समीकरण फेर्न कसरत गरेका थिए । प्रदेश २ मा हाल १ सय ४ जना सांसद छन् ।

१ सय ७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रले ३ जना सांसदलाई निष्कासन गरेपछि संख्या १ सय ४ मा झरेको हो । प्रदेश २ मा सबैभन्दा ठूलो दल जसपा नै हो । जसपाका दुवै समूहका गरी ५५ सांसद छन् । ५३ जना सांसद हुँदा बहुमतको सरकार बन्छ । यादव–राउत पक्षसँग ३५ सांसद छन् । ठाकुर पक्षका ५ जना सांसद यादव–राउततिर लागेका छन् । त्यसो हुँदा ठाकुर–महतोसँग २० जना मात्र सांसद रहेका हुन् । ठाकुर–महतो पक्षको सोमबार भएको संसदीय दल बैठकमा १५ जना मात्र सांसद उपस्थित थिए ।

प्रदेश २ मा एमालेका २१ जना सांसद छन् । तर एमालेका सांसद केपी शर्मा ओली र झलनाथ खनाल–माधवकुमार नेपाल दुई खेमामा विभाजित छन् । कांग्रेससित १९ र माओवादीसँग ८ सांसद छन् । रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?