१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुँदै, साढे ७ बजे शपथ

अजित तिवारी

जनकपुर — प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागी हुन तयार भएको छ । कांग्रेसलाई प्रदेश सरकारको तीन महत्वपूर्ण मन्त्रालय दिने सहमती भएपछि बुधबार साँझ साढे ७ बजे कांग्रेसका मन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएको छ । 

रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुँदै, साढे ७ बजे शपथ

मुख्यमन्त्री लालबाबु राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवका अनुसार कांग्रेसलाई दिइने मन्त्रालय टुंगो लागेको र केहीबेरमा कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ ।

कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी भइरहेको छ । यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । मुख्यमन्त्री राउतसहित अहिले केहीबेर अघि सकिएको बैठकमा सहभागी कांग्रेसका नेता जिवनाथ चौधरीले संसदीय दलका नेता यादवको नेतृत्वमा सरकारमा सहभागी हुने सहमति भएको बताए । उनले कांग्रेसबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुको नाम केही बेरमै टुंगो लाग्ने जानकारी दिए ।

कांग्रेसलाई ३ वटा मन्त्रालय दिइएको छ । स्रोतका अनुसार कांग्रेसबाट मन्त्री हुने ओमप्रकाश शर्मा र वीरेन्द्रप्रसाद सिंह पनि हुन् । पर्साबाट निर्वाचित शर्मालाई ऊर्जा र खानेपानी मन्त्रालय र सर्लाहीबाट निर्वाचित सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको स्रोतले बतायो ।

बुधबार साँझ साढे ७ बजे प्रदेश प्रमुख राजेश झाले कांग्रेसका नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउँदै छन् । जसपाका उपेन्द्र यादव र राउत समूहले सरकारबाट ठाकुर–महतो समूहका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सहभागी गराइएको हो ।

प्रकाशित : जेष्ठ २६, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?