१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

परीक्षण नहुँदा गाउँमा झनै जोखिम

पाल्पा, नेपालगन्ज, दाङ,  कपिलवस्तु, रूपन्देही — पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको रुक्सेभन्ज्याङ बजारक्षेत्रमा ३९ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखियो । गाउँपालिकाको स्वास्थ्य शाखाले पुनः रुक्सेभन्ज्याङ टोलका सबै ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भयो ।

परीक्षण नहुँदा गाउँमा झनै जोखिम

यहाँ हाल एकै टोलका ४७ जना संक्रमित छन् । एउटै टोलका धेरैमा संक्रमण पुष्टि भएपछि रुक्सेभन्ज्याङ बजारक्षेत्र जेठ २९ गतेसम्मका लागि सिल गरिएको वडाध्यक्ष न्यौबहादुर सुनारीले बताए ।

‘समुदायमा यति धेरैको पोजिटिभ आउला भन्ने थिएन,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले भने, ‘ग्रामीण बजारमा यसरी फैलिएपछि समस्या देखियो ।’ संक्रमितलाई गौरीशंकर माविको हलमा राखिएको छ । संक्रमण नघटेपछि रिब्दीकोट गाउँपालिका–३ खस्यौली हार्थोक पनि १५ दिनयता सिल छ । पाल्पा–गुल्मी सडकमा पर्ने यस ग्रामीण बजारमा संक्रमण देखिने क्रम रोकिएको छैन । २५ घरबस्ती रहेको बजार क्षेत्रमा वल्लोपल्लो छेउमा कन्ट्याक्ट ट्र्रेसिङ गर्दा पोजिटिभ आउने क्रम नरोकिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । पछिल्लोपटक ३९ जनाको पीसीआर परीक्षण गर्दा एउटै टोलका १८ जनामा पोजिटिभ पुष्टि भएको छ ।

रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीको इटिया टोलका बासिन्दामा रुघाखोकी, शरीर दुख्ने, कमजोर हुने लक्षण देखिएको छ । स्वास्थ्य शाखामा खबर गरेपछि ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ । ‘मौसमी फ्लु भनेर खबर गरेका रहेछन्,’ स्वास्थ्य शाखा प्रमुख जीवन रानाले भने, ‘कोरोनाको मिल्दोजुल्दो लक्षण भएकाले तत्काल पुगेर परीक्षण गर्दा पोजिटिभ देखियो ।’

यहाँ भारतबाट आएका एक व्यक्तिमा संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बजार क्षेत्रमा केही कमी आए पनि ग्रामीण भेगमा अझै पनि संक्रमणको त्रास कायमै रहेको बताए । ‘परीक्षणमा अझै पनि स्थानीय तहले दायरा बढाउन सकेका छैनन्,’ उनले भने, ‘लक्षण देखिएकालाई अझै पनि परीक्षण गरेको पाइएको छैन ।’

निषेधाज्ञा, सचेतना र परीक्षणले सहरी क्षेत्रमा घटे पनि लुम्बिनी प्रदेशका ग्रामीण क्षेत्रमा संक्रमित बढेका छन् । गाउँमा परीक्षणको दायरा नबढाइएकाले संक्रमण बढेको विज्ञहरूले बताए । गाउँका घरघरमा बिरामी छन् । यस्ता बिरामीलाई कोरोना संक्रमण हो/होइन पत्ता लगाइएको छैन । अहिले गाउँमा रहेका मेडिकलमा घुइँचो लाग्ने गरेको छ । स्वास्थ्य जटिल बनेमात्रै अस्पताल पुग्छन् । ‘सर्वसाधारण कोरोनासित डराउनै छाडे । पहिलेको जस्तै भीडभाड छ,’ कोहलपुरका नारायण चौधरीले भने, ‘गाउँमा सावधानी छैन । मास्क नलगाई दौडिरहन्छन् ।’ बस्तीमा कोरोनासित मेल खाने लक्षणका बिरामी थुप्रै छन् ।

बाँकेको राप्ती सोनारीका हेमन्त चौधरीले गाउँमा ज्वरोका बिरामी भए पनि कोरोना परीक्षण नभएको बताए । ‘ज्वरोका बिरामी धेरै छन् तर परीक्षण छैन, नजाँचेपछि केका बिरामाी हुन्, कसरी पत्ता लाग्छ ?’ जनस्वास्थ्य निरीक्षक नरेश श्रेष्ठले गाउँमा शंका लागेका व्यक्ति स्वास्थ्य संस्थामा आएमात्रै एन्टिजेन परीक्षण गरिने बताए । लक्षण देखिएका तर स्वास्थ्य संस्थामा सम्पर्क नआएकाको परीक्षण नगरिएको उनको भनाइ छ । भेरी अस्पतालमा ८८ जना संक्रमितको उपचार भइरहेको छ । वरिष्ठ फिजिसियन डा. संकेत रिसालले कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुपर्ने बताए । उनका अनुसार संक्रमण कम देखिए पनि खतरा टरेको छैन । ‘परीक्षणको दायरा नबढाएसम्म संक्रमणको अवस्था भन्न सकिँदैन । त्यसका लागि परीक्षण बढाउनै पर्छ,’ उनले भने, ‘संक्रमण ५ प्रतिशतमा नझर्दासम्म खतरा रहन्छ ।’

कपिलवस्तुका सीमावर्ती स्थानीय तहमा परीक्षण नहुँदा संक्रमण दर बढी देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले सहरी क्षेत्रमा परीक्षण गर्दा १० देखि १५ प्रतिशतमा र गाउँमा ३५ देखि ४० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको बताए । महाराजगन्ज नगरपालिकामा एक महिनामा २७ जनाले एन्टिजेन परीक्षण गरेका छन् । ‘यहाँ ११ ठाउँमा एन्टिजेन परीक्षणका लागि किट वितरण गरेका छौं,’ स्वास्थ्य शाखा संयोजक राधेश्याम जयसवालले भने, ‘परीक्षणका लागि कोही आउनै मान्दैनन् ।’

दाङका गाउँगाउँमा संक्रमण फैलिँदै गएको छ । अधिकांश मानिस बिरामी भए पनि घरेलु औषधि गरेर बसिरहेका छन् । कतिपयले सामान्य रुघाखोकीजस्तो ठानेर पचाइरहेका छन् । खेतीपातीलगायत गाउँघरका काम गरिरहेका छन् । ‘बिरामी बढ्दै गएका छन् । मृत्यु हुने क्रम पनि त्यस्तै छ, लापरबाही बढ्दो छ,’ राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भने, ‘मानिसहरू अझै पनि डराइरहेका छैनन् । घरघरमा बिरामी भए पनि स्वास्थ्य जाँच गर्ने क्रम कम छ ।’ गाउँघरतिर नियमित खेतीपातीको काम गरेर समय बिताइरहेकाले धेरैले कोरोनालाई सामान्य रूपमा लिइरहेको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।

घोराही उपमहानगरपालिकाका घरघरमा बिरामी रहेको नगर प्रमुख नरुलाल चौधरीले बताए । ‘कोरोना बजारबाट गाउँतिर पसेको छ,’ उनले भने, ‘तत्काल ठूलो क्षति नदेखिए पनि गाउँमा बिरामीहरूको संख्या बढ्दो छ ।’

अस्पतालमा चाप कम

रूपन्देहीमा भने संक्रमण दर घटेपछि अस्पतालमा चाप कम छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म ४ सय ८८ संक्रमित थपिएका छन् । निषेधाज्ञाको कडाइ र निको हुने दर बढी भएकाले संक्रमण दर घट्दै गएको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

एक साताको अवधिमा गत जेठ २० गते जिल्लामा १ सय ४७ नयाँ संक्रमित थपिएकामा मंगलबार ६५ जनामा मात्र संक्रमण पुष्टि भयो । जिल्लामा कुल १६ हजार ६ सय ६७ जनामा कोरोना संक्रमण देखिएकामा अहिले सक्रिय संक्रमित १ हजार ६२ जना छन् ।

जिल्लामा संक्रमितको उपचार गर्ने ६ अस्पतालमा ७१ जना मात्रै रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ८ जना भेन्टिलेटर र २४ जना आईसीयूमा छन् । ‘अर्को सातासम्म ५ सयमा पुर्‍याउँछौं,’ उनले भने, ‘सहरी क्षेत्रका समुदायमा एन्टिजेन परीक्षण गर्दासमेत संक्रमण दर बढेको पाइएन ।’ समुदायमा अहिले दैनिक ४ हजारभन्दा बढीको एन्टिजेन परीक्षण भइरहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल र निजी ल्याबमा पीसीआर परीक्षण गर्ने लक्षणसहितका व्यक्तिको तथ्यांकले पनि संक्रमण संख्या घटेको पाइएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. नन्दु पाठकले बताए । लक्षण देखिएका व्यक्ति मात्रै अहिले अस्पताल आउने गरेको उनले सुनाए ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?