खनाल–नेपाल समूहको रणनीतिले सत्ता समीकरणमा ओलीका प्रयास असफल

विपक्षी गठबन्धन ओलीसँग लड्ने खनाल–नेपाल समूहको सहारा
बबिता शर्मा

काठमाडौँ — संघदेखि प्रदेशसम्म सत्ता समीकरणका खेलमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहले लिएको रणनीतिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अप्ठेरोमा पारेको छ । पछिल्लोपटक खनाल–नेपाल समूहले मंगलबार सुदूरपश्चिम सरकारलाई बचाउन खेलेको भूमिकाले अध्यक्ष ओलीको प्रयासलाई थप धक्का लागेको छ । 

खनाल–नेपाल समूहको रणनीतिले सत्ता समीकरणमा ओलीका प्रयास असफल

संसद्‍मा विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव होस् वा राष्ट्रियसभाको उपनिर्वाचनमा नै किन नहोस्, विपक्षी गठबनन्धमा बसेर खनाल–नेपाल समूहले ओलीका महत्वपूर्ण रणनीति निस्तेज पारेका छन् । त्यतिमात्र होइन, प्रदेश सरकारको समीकरण होस् वा प्रतिनिधिसभाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेर नै किन नहोस्, खनाल–नेपाल समूहले ओलीमाथि दबाब बनाएका छन् ।

ओलीविरुद्ध लड्न र उनका सत्ता समीकरणका योजना असफल पार्न खनाल–नेपाल समूह घोषितरुपमा विपक्षी गठबन्धनमा उभिएको छ । पाँच दलीय गठबन्धनमा खनाल नेपाल समूहसहित कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा छन् । लोकतन्त्र र संविधानका लागि हरहालतमा ओलीलाई सरकारबाट बर्हिगन गराउनुपर्ने खनाल–नेपालसमूहको अडान छ ।

केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकपछि आइतबार नेपालले ओलीबाट राष्ट्रिय हितमाथि घात गरिएकाले संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाको स्थिति सिर्जना भएको विज्ञप्ति नै निकालेका छन् ।

सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि खनाल–नेपाल समूहले ओलीविरुद्ध लड्ने थप स्पष्ट मार्गचित्र तयार पारेको छ । विपक्षी गठबन्धनमा बसेर ओली र उनका गतिविधि एवं प्रवृतिविरुद्ध लड्ने यो समूहको योजना छ ।

यही सिलसिलामा पार्टी केन्द्रको निर्णयविपरित गएर मंगलबार सुदूरपश्चिम प्रदेशमा खनाल–नेपाल समूहका १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका छन् । जसका कारण भटट्को मुख्यमन्त्री पद जोगिएको छ, जबकि जेठ १० मा बसेको ओली पक्षका नेताहरुमात्रै रहेको स्थायी कमिटी बैठकले सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर, केन्द्रको निर्णयलाई चुनौती दिएर खनाल–नेपालसमूहले ओलीपक्षको योजनालाई असफल बनाईदिएको छ ।

सुदूरपश्चिम खनाल नेपाल समूहका प्रभावशाली नेता भीम रावलको क्षेत्र पनि हो । आफ्नो योजना सफल भएपछि रावलले मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकताको शिक्षा लिन ओली समूहलाई चुनौती दिएका छन् । ‘सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई । विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यसअगाडि कर्णाली प्रदेशमा पनि खनाल–नेपालसमूहले ओलीपक्षको योजना असफल पारेको थियो । दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गरेर खनाल–नेपालसमूहका ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । संसदमा ठूलो दल एमाले छ । शाही नेतृत्वको सरकार ढालेर ओलीपक्षले आफ्नो नेतृत्वमा सरकार बनाउने कोसिसमा थियो । तर, ४ सांसदले पक्षमा मतदान गरेपछि ओलीसमूह आफ्नो योजनामा सफल हुन सकेन् ।

वागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको एक पदका लागि भएको उपनिर्वाचन ओली पक्षका लागि प्रतिष्ठाको बिषय थियो । माओवादी त्यागेर एमाले प्रवेश गरेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा सूर्य चिन्हबाट उमेद्वार थिए । तर, थापा खनाल–नेपाल निकटपक्षबाट उमेद्वार बनेका खिमलाल देवकोटासँग पराजित भए ।

खनाल–नेपालपक्षका जनप्रतिनिधिले आफ्नै उमेद्वार देवकोटालाई मतदान गरेपछि ओलीपक्षलाई यहाँ पनि असफलता हात लाग्यो । यद्यपि देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थन थियो ।

यस्तै, वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने दिन खनाल–नेपाल समूहका २७ सांसद अनुपस्थित भएका थिए । खनाल–नेपालपक्षका सांसद अनुपस्थित भएपछि ओलीले विश्वासको मत पाएनन् । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर खनाल–नेपालपक्षले ओलीलाई झट्का दिएको थियो । यद्यपि विपक्षी दलहरुले नयाँ सरकारका लागि बहुमत पुर्‍याउन नसक्दा संसदमा ठूलो दलको हैसियतमा राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन् ।

संसदको ठूलो दलको हैसियतमा वैशाख ३० मा प्रधानमन्त्री ओलीले तीस दिनभत्र विश्वासको मत लिनुपर्ने थियो । तर, आफ्नै पार्टीका सांसदको समेत समर्थन नरहने भएपछि ओलीले विश्वासको मत नलिई जेठ ६ मा राष्ट्रपतिलाई ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्न सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसपछि राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिले दिएको समय सीमाभित्रै विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दावी गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएको थियो । देउवालाई प्रधानमन्त्रीमा दावी गर्न हस्ताक्षरसहित नेता नेपाल आफैं राष्ट्रपति कार्यालय पुगेका थिए । देउवालाई खनाल नेपाल समूहका २६ सांसदको समर्थन थियो, जुन ओलीपक्षका लागि अप्रत्याक्षित थियो ।

त्यसैदिन (जेठ ७) मा ओलीले पनि एमालेका एक सय २१ र जनता समाजवादी पार्टीका ३२ जना गरी एक सय ५३ जना सदस्यको समर्थन प्राप्त भएको भन्दै धारा ७६ को उपधारा (५) बमोजिम दावी पेस गरेका थिए । दुवैपक्षको दावीपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दलको तर्फबाट ओलीलाई समर्थन गरेकामध्ये एमालेका २६ जना र जसपाका १२ जना सदस्यले देउवालाई समेत हस्ताक्षर गरी दोहोरो समर्थन गरेको देखिएको भन्दै ठोस आधार नपुगेको बताइन् ।

जबकि सिंगो एमालेका १२१ सांसद्को समर्थन रहेको भए जसपाको एउटा समूहको २० सांसद्को समर्थनमा ओली बहुमतको प्रधानमन्त्री नियुक्त हुने सम्भावना थियो । तर, खनाल–नेपाल समूहले यसलाई रोक्यो । पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिन् ।

राष्ट्रपतिकहाँ पछि खनाल–नेपाल समूहले सर्वोच्च अदालतको बाटोबाट समेत ओलीमाथि दबाब बनाएका छन् । सर्वोच्च अदालतमा संसद विघटनको विरोध र देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै दायर रिटमा एक सय ४६ सांसदको हस्ताक्षर छ । त्यसमध्ये खनाल–नेपाल समूहका २३ सांसद छन् ।

ओलीले पछिल्लोपटक आइतबार पार्टी एकताका लागि भन्दै गरेको ६ बुँदे आह्वानमा रिटमा प्रयोग भएको हस्ताक्षर लिनुपर्ने सर्त राखेका थिए । ‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले)का निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ’ ओलीको प्रस्तावमा थियो ।

तर, सोमबार नेपालले प्रतिनिधिसभा विघटनविरुद्धको सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारेका छन् । ‘रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ,’ नेपालले भनेका छन् ।

सर्वोच्च अदालतमा बहुमत सांसद पुगेर संसद पुनस्थापनाको माग गरेपछि ओलीमाथि नैतिक संकट परेको छ । यद्यपि रिटमाथिको सुनुवाई जारी छ । अर्को सुनुवाई बुधबार हुँदैछ । नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधिसभाको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता नलिने खनाल–नेपाल समूहको अडान छ ।

राजनीतिकरुपमा पनि ओलीमाथि खनाल–नेपाल समूहको प्रहार छ । खनाल–नेपाल समूहले ओलीबाट दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका साथ बाह्य शक्तिका सामु लम्पसार परेको निष्कर्षसमेत निकालेको छ । यसबाहेक संविधान, लोकतन्त्र र संसद्माथि ओलीबाट आक्रमण भएको र यही सिलसिलामा दुई–दुईपटक असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको, अध्यादेशमार्फत शासन चलाउन खोजेको खनाल–नेपाल समूहको निष्कर्ष छ ।

उता सोमबार कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष दाहाल र एमाले नेता नेपालबीच भएको भेटवार्तामा पनि केन्द्रदेखि प्रदेशसम्म र सडकदेखि न्यायालयसम्म ओलीविरुद्ध थप कठोररुपमा प्रस्तुत हुने रणनीति बनेको छ । ओलीले दोस्रोपटक संसद विटघन गरेपछि पाँच दलीय गठबन्धन विरोधमा छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?