आवश्यक परे मुख्यमन्त्री भट्टलाई नै विश्वासको मत दिने कांग्रेसको निर्णय- समाचार - कान्तिपुर समाचार

आवश्यक परे मुख्यमन्त्री भट्टलाई नै विश्वासको मत दिने कांग्रेसको निर्णय

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसले भट्ट नेतृत्वकै सरकारलाई साथ दिने निर्णय गरेको छ ।

विश्वासको मत माग्ने क्रममा सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्बिर : अर्जुन शाह

कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको सांसद टेकबहादुर रैकाले बताए । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेससँग १२ मत छ । कांग्रेसको यो निर्णयपछि मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन मतसंख्यामा कमी नहुने अवस्था बनेको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत लिन २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेको छ । अहिले मुख्यमन्त्री भट्टले प्रदेशसभामा सम्बोधन गरिरहेका छन् ।


प्रकाशित : जेष्ठ २५, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्

कलाकार एकाराम सिंको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार तथा संस्कृतिविज्ञ एकाराम सिंको निधन भएको छ । कोरोना संक्रमण भएपछि कपनस्थित करूणा अस्पतालको आइसियूमा उपचाररत ५३ वर्षीय सिंको सोमबार निधन भएको हो । उनी गत वैशाख ३१ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रले शोक विज्ञप्ति मार्फत 'सिंको असामयिक र दुःखद् निधनबाट नेपाली कला, संस्कृति र बालसाहित्य तीनै क्षेत्रमा ठूलो क्षति पुगेको' जनाएको छ ।

२०२५ सालमा जन्मिएका एकाराम सिं बाल साहित्य चित्रांकनमा सुपरिचित नाम हो । सैयौं पुस्तकमा चित्रांकनका साथै सांस्कृतिक लेखन समेत गर्दै आएका सिंका तीन बाल साहित्य कृति प्रकाशित छन् । पछिल्लोपटक 'मूर्ति बनायो, हात गुमायो' चित्रकथा प्रकाशित भएको थियो ।

सिं नेपाली इतिहास बोकेका चित्रहरूको अध्ययन, निर्माण, जर्गेना तथा सूचना दिने काममा सक्रिय थिए । उनले लिच्छविकालीन समय, मल्लकालीन समय, राणाकालदेखि शाह राजासम्मको चित्रका साथै विभिन्न देवीदेवताका चित्रहरू कोरेका छन् ।

सिंका चित्रकला हालै काठमाडौं महानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा समेत समावेश थिए ।

प्रकाशित : जेष्ठ २५, २०७८ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×