संक्रमण जितेर खेतीपातीमा

वर्षा सिजन सुरु भएपछि संक्रमित र निको भएर घर फर्किएका सर्वसाधारण खेतीपातीको काममा जुट्न थालेका छन् ।

काठमाडौँ — बाँझो खनजोत गर्दै थिए, निमोनिया देखियो । बाँकेको राप्तीसोनारी–७ सर्रीका ३२ वर्षीय रामकरन चौधरी ज्वरोले थला परे । चिकित्सकसित परामर्श गरेर कोरोना परीक्षण गराए । वैशाखको दोस्रो साता संक्रमण पुष्टि भयो ।

संक्रमण जितेर खेतीपातीमा

घरमै आइसोलेसनमा बसेर खेतीपातीको काममा व्यस्त हुन थालेका उनी अहिले संक्रमण मुक्त भइसके । रोपाइँका लागि धानको ब्याड तयार गरिसके । सात जनाको परिवारले १० कट्ठामा खेती गर्दै आएको छ । ‘कोरोनाले आर्थिक भार बढायो । आफैं बिरामी परेपछि कमाउने कोही भएनन्,’ उनले भने, ‘अब खेतीको भरोसामा छौं ।’ खेतीपातीबाहेक उनी अटो रिक्सा चलाउँछन् । निषेधाज्ञा लागू गरिएपछि रिक्सा पनि गुड्न छाड्यो । ‘नगद कमाइ नभएपछि खाना जुटाउन समस्या छ,’ उनले भने ।

खजुरा–२ की ६५ वर्षीया पार्वती खड्कालाई गत वैशाख २६ मा कोरोना संक्रमण देखियो । खजुरा गाउँपालिकाले बनाएको आइसोलेसन सेन्टरमा १२ दिन बसिन् । त्यतिबेला उनलाई रोगभन्दा खेतबारीको काम सम्झेर चिन्ता लाग्थ्यो । अहिले २ बिघा ४ कट्ठामा रोपाइँ गर्न ब्याड राखिसकेकी छन् । ‘एक हप्ता भयो ब्याड राखेको,’ उनले भनिन्, ‘रोगभन्दा खेतीपातीको चिन्ता छ । वर्षभरिको खाना जोहो यसैबाट हुने हो ।’ कोहलपुर–१४ चित्रानगरकी ५३ वर्षीया अनिता पुन कोरोना संक्रमण भएर निको भएकी छन् । गत वैशाख २१ मा अस्पतालबाट डिस्चार्ज भएपछि खेतीपातीको काममा व्यस्त छिन् । उनलाई खेतीको चिन्ताले सताएको छ । एक बिघा जमिनमा उनले खेती गर्दै आएको वर्षौं भइसक्यो ।

‘हातमुख जोड्न खेती त गर्नै पर्‍यो । रोग त यस्तै हो,’ उनले भनिन्, ‘ब्याड राख्यौं, अब मलको जोहो गर्दै छौं ।’ खजुरामा ७ सय ८० जनामा संक्रमण देखिएकामा ७७ जनाबाहेक सबै निको भएर घर फर्केको खजुरा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुदीप पौडेलले बताए । ‘धेरै जना निको भएर घर फर्कनुभएको छ । खेती गर्दै हुनुहुन्छ,’ उनले भने, ‘खेतीपातीको समय भएकाले सामाजिक दूरी कायम गरेर स्वास्थ्य हेरेर काममा लाग्न सुझाएका छौं ।’

कोरोना संक्रमण सुरु हुँदा सर्वसाधारण एकले अर्कोलाई भेट्न डराउँथे । नजिकका आफन्त पनि आउजाउ गर्दैनथे । धेरैबीच भेटघाट नभएको महिनौं भयो । छिमेकी पनि घरमा आउन डराउँछन् । तर, वर्षा सिजन सुरु भएपछि संक्रमित र निको भएर घर फर्किएका सर्वसाधारण खेतीपातीको काममा जुट्न थालेका छन् । उनीहरूलाई रोगभन्दा पनि भोकको चिन्ता छ । समयमै खेती नगरे वर्ष दिन मुख जोड्न समस्या हुन सक्छ । कतिपयले लक्षण देखिएर पनि कोरोना परीक्षण गराउन छाडेका छन् ।

लामो समयसम्म आइसोलेसनमा बस्दा खेतीपातीको समयमा असर पुग्न सक्ने डर किसानलाई छ । राप्तीसोनारी–७ सर्रीका ५३ वर्षीय टीकाराम चौधरीलाई पनि वैशाखको पहिलो साता कोरोना संक्रमण देखियो । सुरुमा सामान्य खोकी लागेकाले उनी डराएनन् । जब खकारमा रगतका छिटा देखा पर्न थाले, उनी डराए । संक्रमणपछि उनी घरकै आइसोलेसनमा दूरी बनाएर बसे । सात जनाको परिवारमा उनलाई बाहेक कसैलाई कोरोना देखिएन । ‘परिवारले मास्क लगाउन कर गर्थे तर, कहिलेकाहीं नलगाएर त्यसै हिँडियो, त्यसैले संक्रमण देखियो,’ उनले भने, ‘सानो लापरबाहीले परिवार नै जोखिममा पारियो ।’ हाल उनी निको भइसकेका छन् ।

बाँकेमा अहिले संक्रमण घट्दै छ । सर्वसाधारण कोरोना संक्रमण भुल्दै खेतीपातीमा जुट्न थालेका छन् । वर्ष दिनको खेतीले छाक टार्दै आएका उनीहरू बीउ र मलको जोहोमा लागेका छन् । लामो समयदेखिको लकडाउन र निषेधाज्ञापछि कोरोनाको संक्रमण कम भएको भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले बताए । ‘निषेधाज्ञाले भीड हुन दिएन । सामाजिक दूरी बढायो । जसका कारण संक्रमण कम देखिनु स्वाभाविक हो,’ उनले भने, ‘कोरोना नियन्त्रणका लागि सबैभन्दा ठूलो कुरो सामाजिक दूरी कायम गर्नु नै हो ।’

कपिलवस्तुको यशोधरा–८ बाँसखोरका कल्लु यादव पुत्र–शोकमा छन् । भारतको मुम्बईमा कोरोना संक्रमणले १५ वर्षीय जेठा छोराको ज्यान गयो । सँगै रहेका उनी आफू घर फर्किएर संक्रमित भए । संक्रमणमुक्त हुन नपाउँदै खेतीपातीको सिजन सुरु भयो । आफू आइसोलेसनमा बसेका बेला कान्छा छोरालाई बीउ किन्न पठाए । बीउ भिजाए । संक्रमण पुष्टि भएको १० दिनपछि भाइरस हराउँदै जान्छ भन्ने सुनेका उनले १२ औं दिनमा बीउ छरे । ‘कसैलाई बोलाइनँ,’ उनले भने, ‘आफैंले हिल्याएँ ।’ धान नरोपे परिवारका पाँच जनाको मुखमा माड नलाग्ने उनले सुनाए । त्यही भएर बिरामी ज्यान भए पनि खेतीपाती गरिरहेको उनले बताए । सात किलो मोटो धानको बीउ छरेको उनले बताए ।

यशोधरा–४ अम्लोनहाका विश्वनाथ पासीलाई आइसोलेसनमा रहेका बेला खेतीको चिन्ताले झन् गलायो । कोरोना संक्रमणले श्रीमती गुमाएको पीडा छँदै थियो । गाउँका सबैले धानको बीउ राख्न थाले । परिवारका १९ सदस्य नै कन्ट्याक्ट ट्रेसिङमा परे । के गर्ने, कसो गर्ने भनेर छट्पटिए । ‘लक्षण त पूरै थियो तर परीक्षण गराइनँ,’ उनले भने । गाउँघरमा निकै भेदभाव र हेयभावले हेर्ने भएकाले परिवारै आइसोलेसनमा बसेको उनले सुनाए । अहिले सबैको स्वास्थ्य राम्रो हुँदै गएको छ । तर, पूरै दुई साता आइसोलेसनमा बस्न नपाउँदै हतारिएर धानको बीउ किन्न भारत जानु परेको उनले दुःखेसो गरे । सीमाबाट भागेर भारत गए र बीउ लिएर आए, छरे । आराम गर्नुपर्ने बेला वर्ष दिनको गर्जो टार्ने चिन्ताले सताएपछि खेतीपातीमा लागेको उनले बताए ।

अहिले कपिलवस्तु जिल्लामा कोरोना संक्रमित र मुक्त हुने क्रममा रहेकालाई खेतीपातीको चिन्ता छ । रोगभन्दा भोक प्यारो हुँदा उनीहरू पूर्ण रूपमा निको नहुँदै खेतमा ब्याड चहार्न थालेका छन् । सिँचाइका लागि पानीको जोहो गर्नुपरेको छ । शिवराज–१ बनकट्टीका कृषक रामदुलारे थारू संक्रमणले तीन साता थलिए । मुक्त हुन नपाउँदै धानको बीउ नपाउने समस्याले एक साता गाह्रो बनायो । जिल्लामा महिना दिनभन्दा बढी समयदेखि निषेधाज्ञा छ ।

अत्यावश्यकबाहेकका पसल बन्द छन् । बीउबिजनका पसल पनि खुलेका छैनन् । चुलोचौको र वर्ष दिनको घरखर्च चलाउन डरत्रास र जोखिम मोल्दै सीमावर्ती भारतीय बजारबाट बीउ किनेर ल्याउनुपरेको दुखेसो उनले गरे । यस वर्ष स्थानीय तहले बीउबिजन अनुदानमा दिएनन् । ‘नेपाली बजारमा मूल्य मनलाग्दी छ,’ उनले भने, ‘भनेका बेला पाइँदैन । त्यसैले पारि गएर लिएर आएँ ।’

प्रकाशित : जेष्ठ २५, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?