कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कालो ढुसीका बिरामी बढ्दै

अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा कोभिड–१९ संक्रमण निको भएको १० दिनपछि ललितपुरका ६४ वर्षीय पुरुषको भित्री नाक र पिनासको शल्यक्रिया गरिएको छ । म्युकोरमाइकोसिस (कालो ढुसी) रोग देखिएका उनी मधुमेह र मृगौला रोगी थिए ।

कालो ढुसीका बिरामी बढ्दै

पछिल्लो समय बढ्न थालेको कालो ढुसीले संक्रमित भित्री नाक, पिनास र आँखाको भागको पातलो हाड बुधबार शल्यक्रिया गरी सफा गरियो । शिक्षण अस्पतालमा कोभिडजन्य म्युकोरमाइकोसिसको कारण शल्यक्रिया गरिएका उनी तेस्रो व्यक्ति हुन् ।

पहिले तराई–मधेसमा यो संक्रमणको उपचार गराउनेहरू बढी देखिने गरेकामा हाल राजधानीमा समेत देखिन थालेका छन् । अन्य दुई जना म्युकोरमाइकोसिसका बिरामी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । ‘धन्न उनीलगायत तीनै जना शल्यक्रिया गरिएकाको आँखासम्म संक्रमण नपुगेकाले आँखा झिक्नुपरेन,’ त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागका डा. रवीन्द्र प्रधानाङ्गले भने, ‘यसअघि नेपालगन्जका कोभिड संक्रमित दुई जनाको म्युकोरमाइकोसिसका कारण शल्यक्रिया गरिएको थियो ।’

नेपालगन्जबाट आएका ४४ वर्षीय पुरुषको ‘राइनो अर्बाइटल म्युकोरमाइकोसिस’ को पहिलो शल्यक्रिया जेठ ९ गते गरिएको थियो । ती व्यक्तिलाई कोभिड भएको तेस्रो सातामा समस्या भएपछि नाकको भित्री भागमा पिनासको ढुसी परेको र कुहिएको भागलाई शल्यक्रिया गरेर सफा गरिएको थियो । यस्तै जेठ ११ गते नेपालगन्जबाटै आएका मधुमेहले ग्रस्त ५२ वर्षीय पुरुषको समेत भित्री नाक र पिनासको शल्यक्रिया गरिएको थियो । ती पुरुषलाई कोभिड भएको १० दिनपछि यो समस्या देखिएको थियो ।

यो रोगको लक्षण देखिनासाथ समयमै अस्पताल पुग्नेहरू म्युकोरमाइकोसिसले जटिल अवस्थामा पुग्ने सम्भावना कम हुन्छ । कोभिड भएको तीन सातापछि म्युकोरमाइकोसिसको लक्षण देखिएका काठमाडौंका ६४ वर्षीय पुरुषलाई बिहीबार शिक्षण अस्पताल भर्ना गरिएको छ । हाल शिक्षण अस्पतालमा दुई जना शल्यक्रिया गराएका र दुई जना शल्यक्रिया नगराएका म्युकोरमाइकोसिसका बिरामी छन् । वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख प्रा.डा. दीपेन्द्र श्रेष्ठका अनुसार गत मंगलबार गाईघाटका करिब ३७ वर्षीय कोभिड बिरामीलाई म्युकोरमाइकोसिस भएपछि शल्यक्रिया गरिएको छ । ती बिरामीको एउटा आँखाभित्र समेत संक्रमण पुगिसकेकाले एउटा आँखाको दृष्टिको अवस्था सन्देहपूर्ण भए पनि अर्को आँखा भने ठीक छ ।

रोग प्रतिरोधक क्षमता कम भएका, अनियन्त्रित मधुमेह, किमोथेरापी लिइरहेका, अंग प्रत्यारोपण गराएका, जटिल दीर्घरोग भएका बिरामीलाई कोभिड हुँदा व्यक्तिगत स्वच्छतामा पूर्ण ध्यान दिए म्युकोरमाइकोसिसको संक्रमणबाट बच्न सकिने डा. श्रेष्ठले औंल्याए । म्युकोरमाइकोसिसका बिरामीमध्ये धेरैजसो उपचारका लागि राजधानी पुग्ने गरेकै समय देशभरि १३ जना म्युकोरमाइकोसिसका बिरामी देखिएको र ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

उनका अनुसार हालसम्म वाग्मती, लुम्बिनी, सुदूरपश्चिम र प्रदेश २ मा म्युकोरमाइकोसिसका बिरामी देखिएको छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार म्युकोरमाइकोसिस एउटा गम्भीर तर दुर्लभ ढुसी (फंगस) को संक्रमण हो । यसलाई पहिले जाइगोमाइकोसिससमेत भनिन्थ्यो । यो संक्रमण म्युकोर्मिसेटस नाम गरेको ढुसी (मोल्ड) को समूहले गर्दा हुन्छ । यो ढुसी हुने वातावरणमा बढी हुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुरका अनुसार अनियन्त्रित मधुमेहका रोगीसँगै कोभिड पोजिटिभ भएका व्यक्ति धेरै सावधान रहनुपर्छ । तिलगंगा आँखा प्रतिष्ठानका अंकुलोप्लास्टिक विभाग प्रमुख प्रा.डा.रोहित सैंजु सरकारले यसका सम्भावित बिरामीको उपचारका लागि तयारीमा ढिलो गर्न नहुने बताउँछन् ।

हाल म्युकोरमाइकोसिसमा दिइने ढुसीविरुद्धको सुई एम्फोटेरेसिन–बी र अर्को औषधि ‘पोसाकोनाजोल’ मुलुकमा नपाइएपछि बिरामी बिचल्लीमा पर्ने गरेका छन् । बिरामीले हाल उक्त औषधि सीमापारि लखनउ, पटनालगायत भारतीय सहरबाट ल्याउने गरेका छन् । यस्तै डिस्चार्ज भएका बिरामीले खाने ‘पोसाकोनाजोल’ औषधिको समेत मुलुकमा अभाव छ ।

प्रकाशित : जेष्ठ २२, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?