३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एन्टिजेन परीक्षणको पोजिटिभ दर पनि ३१ प्रतिशत

विज्ञ भन्छन्– ‘समुदायमा परीक्षण गर्दा एन्टिजेन पोजिटिभ आउनु गम्भीर विषय हो’
स्वरूप आचार्य

काठमाडौँ — एन्टिजेन परीक्षणको दायरा बढेसँगै संक्रमित देखिनेको संख्या पनि बढ्नु राम्रो सूचक नभएको विज्ञहरुले बताएका छन् । यसले नेपालमा अझै पनि परीक्षणको दायरा साँघुरो भएको र समुदायमा संक्रमित धेरै भएकोतर्फ इंगित गर्ने तर्क उनीहरुको छ ।

एन्टिजेन परीक्षणको पोजिटिभ दर पनि ३१ प्रतिशत

जेठ १ गते जम्मा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १२१ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो भने २१ गते ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २९ जनाको रिपोर्ट पोजिटिभ आएको छ । जेठ १ गतेको परीक्षणमा एन्टिजेन परीक्षणमा पोजिटिभ देखिने दर करिब २१ प्रतिशत थियो भने २१ गते उक्त दर बढेर करिब ३१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांकअनुसार जेठ १६ गते १ हजार ७ सय ८४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमा ६ सय ६७ जना पोजिटिभ देखिएका थिए, त्यो भनेको पोजिटिभिटी दर ३७ प्रतिशत थियो । यस्तै जेठ १७ गते २ हजार ४ सय २५, १८ गते ३ हजार १८, १९ गते ३ हजार ७३, २० गते ३ हजार २ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जेठ २१ गते पीसीआर परीक्षणको पोजिटिभिटी रेट पनि करिब ३३ प्रतिशत रहेको छ ।

स्वास्थ्यसम्बन्धी तथ्यांक अध्ययनमा रुचि भएका पपुलेसन हेल्थका वैज्ञानिक डा. विशाल भण्डारीका अनुसार ठूलो संख्यामा गरिएको एन्टिजेन परीक्षणमा धेरै पोजिटिभ फेला पर्नुलाई समुदायमा संक्रमण धेरै फैलिएको छ भन्ने बुझ्नुपर्छ । उनका अनुसार अहिले पनि नेपालमा परीक्षणको दायरा साँघुरो छ भन्ने तथ्यलाई यसले पुष्टि गर्छ ।

‘हामीले पहिलादेखि नै परीक्षण पुगेन भनिरहेकै हौं । पीसीआरको मात्रै दायरा बढाउँदा पनि पोजिटिभिटी रेट ३० भन्दा तल नआएको धेरै समय भइसक्यो,’ उनले भने, ‘अब अहिले पीसीआरको पोजिटिभिटी रेट र एन्टिजेनको पोजिटिभिटी रेट पनि समान हुनु राम्रो संकेत होइन ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि एन्टिजेन परीक्षणमा पोजिटिभ देखिनेको संख्या पनि उच्च हुनु गम्भीर कुरा भएको बताउँछन् । उनका अनुसार एन्टिजेन परीक्षण कसको र कसरी गरिएको थियो भन्ने कुराले पनि यसमा ठूलो अर्थ राख्छ । ‘एन्टिजेन परीक्षणको पोजिटिभिटी दर उच्च हुनु नेपालमा कुनै नौलो कुरा होइन । हामीले पहिलेदेखि नै संक्रमण धेरै छ भन्दै नै आएका हौं,’ उनले भने, ‘तर, एन्टिजेन परीक्षण कसको गरिएको थियो भन्ने महत्वपूर्ण हुन्छ । यदी लक्षण भएका बिरामीहरुको मात्रै परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो भने त्यसलाई सामान्य नै मान्न सकिन्छ । तर, समुदायमा गर्दा आएको हो भने त्यो सोच्नुपर्ने विषय हुन्छ ।’

उनका अनुसार एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरुमा लक्षण भए/नभएसँगै लक्षण भएकाहरुमा पनि एन्टिजेन निगेटिभ आएको छ भने पीसीआर गर्नु अनिवार्य नै हुन्छ । डा. सुवेदीको भनाईमा नेपालमा प्रयोग भइरहेका विभिन्नखाले एन्टिजेन किटलाई कुन स्थानमा कसरी र कसले प्रयोग गरेको छ भन्ने कुराले पनि पोजिटिभ वा निगेटिभ रिपोर्ट आउनुमा भर पर्छ । ‘अहिले एन्टिजेन पोजिटिभ आएका शतप्रतिशत नै संक्रमित हुन् । त्यसमा कसैले अन्यथा नमाने हुन्छ,’ उनले भने, ‘तर, कसैमा लक्षण हुँदाहुँदै पनि नेगेटिभ आउँछ भने पीसीआर गरेर निर्क्योल गर्न जरुरी हुन्छ ।’

डा. भण्डारी तथा डा. सुवेदी दुवैले एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरुको निसर्त कन्ट्याक्ट ट्रेसिङ गरिनु पर्ने तर्क गरे । ‘एन्टिजेन पोजिटिभ हुनु भनेको संक्रमित अरुलाई पनि संक्रमण सार्न सक्ने स्थितिमा छ भनेर बुझ्नुपर्छ,’ डा. भण्डारीले भने, ‘त्यसैले एन्टिजेन परीक्षण कहाँ, कसरी गरियो, परीक्षण गर्न आउँदा उनीहरुले अरुलाई पनि संक्रमित पो बनाए कि भनेर पनि सोच्नुपर्ने हुन्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्त डा. कृष्ण पौडेलका अनुसार तथ्यांकमा एन्टिजेन परीक्षण विगतमा भन्दा जेठ १६ गते देखि वृद्धि हुँदै जानुमा जिल्लाबाट हुने रिपोर्टिङ चुस्त हुँदै गएकोले हो । उनका अनुसार पहिला एन्टिजेन परीक्षण गरे पनि तथ्यांक नपठाउने समस्या थियो भने अहिले त्यो कम भएकोले गर्दा पनि संख्या बढी देखिएको हो । ‘हामीले पठाएका एन्टिजेन किटबाट परीक्षण भएका रिपोर्टहरुको नतिजा प्राप्त नगरे थप किट नपठाउने निर्णय गरेपछि सबै स्थानबाट रिपोर्टिङ हुन थालेको छ । त्यसैले अहिलेको तथ्यांकलाई मात्रै आधार मानेर विश्लेषण गर्दा यकिन साथ भन्न गाह्रो हुन्छ,’ उनले भने, ‘तर, एन्टिजेन परीक्षण मात्रै नभएर पीसीआरकै पोजिटिभिटी रेट पनि माथि नै छ । त्यो गम्भिर विषय हो ।’

प्रवक्ता डा. पौडेलका अनुसार अहिले प्राय: गरेर पीसीआरको पहुँचभन्दा बाहिर रहेका गाउँबस्तीका समुदायमा नै एन्टिजेन परीक्षणलाई बढावा दिइएको छ । ‘समुदायमा नै एन्टिजेन परीक्षण गरिएको हो । तर, सबै स्थानमा एकैनासको रिपोर्ट भने आएको छैन । गोरखाको गाउँमा गरिएको परीक्षणमा धेरै पोजिटिभ फेला परेका थिए भने बाग्लुङमा त्यो संख्या कम थियो,’ उनले भने, ‘तर, त्यसो भनेर हामी चुप लागेर बस्ने अवस्था छैन । समुदायमा भाइरस फैलिएको छ भन्ने कुरामा कुनै शंका भएन । अझै परीक्षणलाई विस्तार गरेर संक्रमितहरु खोज्नै पर्छ ।’

उनका अनुसार एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरुमा तुलनात्मक रुपमा भाइरल लोड बढी हुने कुरामा पनि दुईमत छैन । त्यसकारणले स्वास्थ्य मन्त्रालयले एन्टिजेन परीक्षणमा धेरै पोजिटिभ भेटिएका स्थानहरुमा कन्ट्याक्ट ट्रेसिङ तथा थप परीक्षण गर्न मन्त्रालयले निर्देशन दिएको छ । ‘हामीले ईडीसीडीमा पनि कन्ट्याक्ट ट्रेसिङको कार्यलाई अनुगमन गर्न टोली बनाएका छौं । यस्तै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठको नेतृत्वमा सबै प्रदेशमा कमाण्डरहरु नै खटाएका छौं ।’

प्रकाशित : जेष्ठ २१, २०७८ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?