वीरगन्ज नाकाबाट दुई युवती र बालकको उद्धार

मानव बलीका निम्ति बेचबिखनको आशंका
जनकराज सापकोटा

काठमाडौँ — तनहुँ ब्यास नगरपालिका सागेकी २२ वर्षीया युवतीकी एक जना आमाजु पर्ने थिइन्, सीता थापा क्षेत्री । मुस्लिम समुदायका भारतीय असुगर सैफीसँग बिहे गरेपनि उनले नाम बदलेर सकिना खातुन राखेकी थिइन् । केही दिनअघि सकिनाले उनलाई सुनाइन्, नेपालगन्जमा एउटा पूजा हुँदैछ । महिनावारी नभएको दिन उक्त पूजामा एक घन्टा सहभागी भए एक लाख रुपैयाँ पाइन्छ । सकिनाले गोर्खाको गोर्खा नगरपालिका लक्ष्मीबजारकी २० वर्षीया युवती पनि पूजामा जान तयार भएको बताइन् ।

वीरगन्ज नाकाबाट दुई युवती र बालकको उद्धार

सागेकी २२ वर्षीया युवती २ वर्षीया छोरीकी आमा पनि थिइन् । उनीहरु दुवैले पूजामा सहभागी हुने बित्तिकै एक लाख पाइने लोभमा घरमा कसैलाई खबर नगरी गत सोमबार दमौलीबाट भेटिए । सकिना र उनका श्रीमान् असुगर उनीहरुलाई लिन आएका थिए । सकिनाले सुरुमा पैसा लिन वीरगन्ज जाने र त्यहाँबाट नेपालगन्ज जाने बताउँदै एउटा टिपर मिलाइन् ।

१७ गते पाँचैजना टिपर चढेर विरगन्जमा पुगेर एउटा होटलमा बसे । लकडाउन भएका कारण सकिनाले उनीहरुलाई भोलिपल्ट बिहानै बसपार्कबाट बेतीया जाने र त्यही गएर पैसा लिने भन्दै हिँडाइन् । २२ र २० वर्षीया युवतीले आफूहरुलाई कता लैजान लागिएको हो भनेर शंका लागेपछि उनीहरुले रिचार्ज कार्ड किन्ने बहानामा एउटा पसलमा छिरे । पसलेलाई उनीहरुले बेतिया भनेको कता हो भनेर सोधे । पसलेले बेतिया बोर्डर पारी भारतमा पर्ने बताएपछि उनीहरुले स्थानियलाई आफूहरु समस्यामा परेको खुसुक्क बताए ।

एकैछिनमा स्थानीय प्रहरीले दुई युवती, एक नाबालक र सकिना दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सा पुऱ्यायो । प्रहरीले पीडित दुई युवती र नाबालकलाई मानव बेचबिखन विरुद्धमा काम गरिरहेको संस्था आफन्त नेपालको संरक्षण गृहमा राख्न पठाएको छ । आफन्त नेपालकी पर्सा संयोजक मनु रानाका अनुसार दुई युवतीलाई मानव बेचबिखनका लागि भारत लैजान लागिएको बुझिन्छ । यसअघि पनि सप्तरीका बालबालिकाहरुलाई मानव बलीका लागि भारत लैजाँदै गर्दा उद्धार गरिएको घटनासँग यो घटनाको प्रकृति मिलेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले दुई युवतीसहित नाबालक उद्धार भएको घटनामा मानव बलीकै लागि भारत लैजान लागिएको शंका उब्जिएको बताए । उनले भने, ‘लकडाउनको समयमा त्यति लामो बाटो यात्रा गर्नु र पूजामा सहभागी हुने भनेर बताउनुले मानव बलीका लागि हो कि भन्ने आशंका गरेका छौं ।’

प्रकाशित : जेष्ठ २१, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?