भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट ‘आवेगमा’ : छानबिन समिति

‘बाहिर हल्ला गरिएजस्तो घटना सुनियोजित देखिँदैन । अवस्थालाई व्यवस्थापन गर्न नसक्दा घटना भएको देखिन्छ ।’ - संयोजक, छानबिन समिति
ठाकुरसिंह थारु

नेपालगन्ज — भेरी उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुरुवाले ‘आवेग’मा आएर कुटपिट गरेको जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले  सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे उनका आफन्तलाई बुझाउन नसक्दा घटना भएको उल्लेख गरिएको छ ।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट ‘आवेगमा’ : छानबिन समिति

स्वास्थ्यकर्मीहरुले कुरुवा र आफन्तलाई बिरामीको स्वास्थ्य अवस्थाबारे बुझाउन नसकेका कारण अस्पतालमा पटकपटक आक्रमण हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

एक साताअघि भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण भएपछि वास्तविक अवस्था बुझ्न भनेर गठन गरिएको छानबिन समितिले घुमाउरो पारामा घटना हुनुमा स्वास्थ्यकर्मी नै जिम्मेवार रहेको बताएको छ ।

त्यस्तै अस्पतालमा कार्यरत जनशक्तिहरुले आफूलाई सेवकका रुपमा लिई सेवाग्राहीप्रतिका व्यवहारमा नम्रता तथा शिष्टता देखाउनुपर्ने सुझाव दिइएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टसहित सात सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो ।

अस्पतालमा आउने बिरामीहरुको समस्या तत्काल सुन्ने र रोगको प्रकृतिअनुसार उपचार सेवा दिनु पर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना उपचारका लागि भर्ना गरिएका बिरामीका आफन्त र परिवारलाई जानकारी दिने सूचना विकास हुन नसकेका कारण समस्या उत्पन्न हुने गरेको जनाए ।

‘भेरी अस्पतालमा क्षमताभन्दा बढी कोरोनाका बिरामीहरु भर्ना भई उपचार गराइरहेका छन् । कैयौं नागरिकको जीवनरक्षा गरेको यथार्थ हुँदाहुँदै सेवाग्राहीहरुको सन्तुष्टि सफलताको मापन हुने हुँदा सेवाग्राहीलाई सेवा लिन भौंतारिनुपर्ने अवस्थाको अन्त्य भएको छैन,’ प्रतिवेदनमा उल्लेख छ । त्यस्तै भेरी अस्पतालमा दरबन्दीअनुसारको जनशक्तिसमेत अभाव रहेकाले कार्य सम्पादनमा समस्या हुने गरेको छ । बिरामीका कुरुवाको आवागमन व्यवस्थित हुन नसकेको, आईसीयूजस्तो संवेदनशील स्थानमा अनाधिकृत प्रवेश र कुरुवालाई अस्पताल प्रशासनले पास दिनुपर्नेमा सुरक्षाकर्मीले दिने गरेको उल्लेख गरिएको छ ।

गत बिहीबार दाङका कोरोना संक्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, भरत रावत र छोरा लोकराजलगायतले भेरी अस्पतालको आईसीयूमा तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीलाई लखेटीलखेटी आक्रमण गरेपछि चिकित्सकसहित स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएका थिए । प्रमुख जिल्ला अधिकारी गेलालले घटनाका संलग्नलाई कारबाहीको सिफारिस गरिएको पनि बताए । ‘प्रतिवेदनका अनुसार मृतकका भाइ र छोरा घटनामा प्रत्यक्ष संलग्न भएकाले कारबाहीका लागि सिफारिस गरिएको छ,’ उनले भने, ‘प्रतिवेदनअनुसार अस्पताल व्यवस्थापन समितिसँग छलफल गरेर तत्काल अल्पकालीन र दीर्घकालीन रुपमा सुझावहरु कार्यान्वयन गर्नेछौं ।’

छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझावसमेत दिइएको बताए । ‘बाहिर हल्ला गरिएजस्तो घटना सुनियोजित देखिँदैन । अवस्थालाई व्यवस्थापन गर्न नसक्दा घटना भएको देखिन्छ,’ उनले भने,‘स्वास्थ्यकर्मीले बुझाउन नसक्दा तथा मृतकका आफन्तको अपर्याप्त बुझाइका कारण पनि घटना घटेको देखियो ।’ उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी, बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको हो ।

आगामी दिनमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुन नदिन सुरक्षा व्यवस्था कडाइ गर्ने र अस्पतालको आन्तरिक सुरक्षा व्यवस्था मिलाउन थप सुरक्षा गार्ड राख्नु पर्ने सुझाव दिइएको छ ।

त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार, हातपात गर्ने, तोडफोड गर्ने, आगजानी वा यस्तै आगजनी गर्न निषेध गरिएको गरेमा हुने सजाय कम भएकाले पनि यस्ता घटना पटकपटक हुने गरेकाले सजाय बढाउने गरी ऐन संशोधन गर्न सुझाव दिइएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?