निकासी फुकुवाले चुरे तहसनहस हुने चिन्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकासी फुकुवाले चुरे तहसनहस हुने चिन्ता

चुरेका खोंच, भावर र समथर तल्लोतटीय क्षेत्रमा जथाभावी ढुंगा, गिट्टी र बालुवाका लागि उत्खनन गर्दा जहाँतहीँ पहिरोको जोखिम बढेको छ । २०७४ को एक अध्ययनले चुरेमा १० हजार ८ सय ३३ वटा ठूला पहिरो गइसकेको देखाएको छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — चुरे क्षेत्र संरक्षणका लागि दातृ निकायबाट समेत रकम जुटाएर अर्बौं रुपैयाँ खर्चमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका बेला सरकारले दोहन बढ्ने गरी ढुंगा, गिट्टी र बालुवाको निकासी खुला गरेको भन्दै राजनीतिक दल, विषयविज्ञ र सरकारी अधिकारीहरूले आपत्ति जनाएका छन् ।

ललितपुरको नल्लुस्थित वन क्षेत्रमा रोडा–ढुंगा उद्योगले डाँडै खारेर गरेको उत्खनन । तस्बिर : किरण पाण्डे/कान्तिपुर

निर्माणजन्य सामग्री निकासी फुकुवाले चुरे क्षेत्र तहसनहस हुने र तराई–मधेस मरुभूमि बन्ने उनीहरूले तर्क गरेका छन् । आत्मघाती र मुलुक हितविपरीतको यो निर्णय फिर्ता गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

‘चुरे–तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ बनाउन खटिएका वनविज्ञ विनोद भट्टले सरकारले दोहोरो चरित्र देखाएको टिप्पणी गरे । ‘एकातिर चुरे विनाश भयो, त्यसलाई रोक्नुपर्छ भनेर सरकारले बर्सेनि रकम खर्च गरिरहेको छ,’ उनले भने, ‘अर्कोतिर त्यही चुरेलाई असर पुग्ने गरी हचुवामा ढुंगा, गिट्टी र बालुवा निकासी खोल्ने निर्णय गरेको छ ।’ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने भनिएको छ । यो निर्णयले चुरे र भावर क्षेत्रको पानीको भण्डारण विनाश हुने र संरक्षणका लागि अहिलेसम्म गरिएको लगानी खेर जाने विज्ञहरूको भनाइ छ ।

वन मन्त्रालयका पूर्वसहसचिव बटुकृष्ण उप्रेतीले निर्माणजन्य सामग्री निकासी खुला गरेपछि दातृ निकायहरूमै अविश्वास पैदा हुने बताए । ‘चुरे क्षेत्रको जोखिम घटाउँछु भन्ने कसम खाएर रकम ल्याउने अनि सबै बिर्सेर आफूखुसी निर्णय गर्दा दातृ निकायहरूले के आधारमा विश्वास गर्छन् ?’ उनले भने । चुरे दोहन अत्यधिक भएको निष्कर्षकै आधारमा सरकारले २०७१ साउन १ देखि ढुंगा, गिट्टी र बालुवा निकासी बन्द गरेको थियो । सरकारले चुरे संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर काम गरिरहेको छ ।

राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्षमा रहेका मुलुकहरूको महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको हरित जलवायु कोष (जीसीएफ) ले चुरे क्षेत्रमा काम गर्न करिब साढे दुई वर्षअघि नेपाललाई ४ अर्ब रुपैयाँ सहयोग गरेको थियो । त्यो रकमबाट वन तथा वातावरण मन्त्रालयले चुरे उत्थानशील आयोजना सञ्चालन गरिरहेको छ । यो रकम सिन्धुलीदेखि झापासम्मको चुरे र तल्लोतटीय क्षेत्रको चुरे संरक्षण र जोखिम न्यूनीकरणमा खर्च हुन्छ । हरित जलवायु कोषबाट कार्यक्रम सञ्चालन गर्न नेपालले पाएको त्यो नै पहिलो रकम हो । उक्त आयोजनाका राष्ट्रिय आयोजना निर्देशक (एनपीडी) सहसचिव पशुपतिनाथ कोइरालाका अनुसार यो आयोजनामार्फत सिन्धुलीदेखि इलामसम्मका ११ जिल्लाको चुरे क्षेत्रमा हुने सम्भावित जोखिम घटाउने गतिविधिमा जोड दिइन्छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका मझुवा हुँदै बगेको सुनकोसी नदीमा एक्स्काभेटर प्रयोग गरी गिट्टी र बालुवा निकालिँदै । तस्बिर : केशव थापा/कान्तिपुर

चुरे क्षेत्र संरक्षण र व्यवस्थापनमा काम गर्न सरकारले २०७१ सालदेखि राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समितिमार्फत करिब १० अर्ब रुपैयाँ खर्च गरिसकेको छ । आगामी आर्थिक वर्षमा पनि चुरे क्षेत्रका लागि सरकारले १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन समितिका पदाधिकारीलाई राज्यमन्त्री (अध्यक्ष) र सहायकमन्त्री (सदस्यहरू) सरहको हैसियत दिनुका साथै उनीहरूमाथि सरकारले स्रोतसाधन (सवारी–तलब–भत्तालगायत) समेत खर्चिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनाअनुसार दुई महिनाअघि समितिमा अध्यक्ष किरण पौडेलसहित अधिकांश एमालेनिकट नियुक्त भएका छन् । समितिको सदस्यमा कमला ओली सिवाकोटी, शशिकुमार शर्मा, सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।

वनविज्ञ भट्टले व्यापार घाटा न्यूनीकरण गर्ने भनेर सरकारले निकासी खुला गर्नुलाई मूर्ख निर्णय भनी प्रतिक्रिया दिए । ढुंगा, गिट्टी र बालुवाजस्ता वस्तुमा ‘भ्यालु एड’ नगरी सोझै निकासी गर्दा राज्यलाई केही फाइदा हुँदैन भन्ने गतिलो उदाहरण जडीबुटी भएको उनले बताए । सिधै ढुंगा निकासी गर्नुको साटो त्यसलाई प्रोसेसिङ (भ्यालु एड) गरेर बेच्न सके मात्र अर्थतन्त्रमा प्रभाव पर्न सक्ने भट्टको विश्लेषण छ । ‘खानी चलाउने नै भए पहिला विस्तृत अध्ययन गर्नुपर्थ्यो,’ उनले भने, ‘हचुवामा निकासी खुलाउँदा पहिलाजस्तै विकराल अवस्था निम्तिन्छ ।’

तत्कालीन संसदीय समितिले एक दशकअघि ढुंगा, गिट्टीका लागि तिनाउ खोला उत्खनन गर्दा राज्यले एक अर्ब रुपैयाँ कमाइ गरेको र त्यो उत्पादन निकासीका क्रममा सडकलगायतका संरचनामा ११ अर्ब रुपैयाँभन्दा बढी रकम बराबरको क्षति भएको भनी निकालेको निष्कर्षलाई बिर्सन नहुने भट्टले बताए । ‘प्राकृतिक स्रोत बिक्रीबाट प्राप्त हुने राजस्वको परिमाणभन्दा त्यस्ता सामग्री उत्खनन र निकासीका क्रममा भएको वातावरणीय क्षतिको परिमाण कैयौं गुणा बढी हुन्छ,’ उनले भने ।

ढुंगा–गिट्टी निकासी : सरकार, हलो काटेर मुंग्रो नबनाऊ

चुरेको २० वर्षे गुरुयोजनामा दीर्घकालीन संरक्षण कार्यक्रम सम्पन्न गर्न २ खर्ब ४९ अर्ब ७० करोड १ लाख ९६ हजार लगानी आवश्यक पर्ने उल्लेख छ । त्यसमा चुरे तराई–मधेस भूपरिधि संरक्षण, व्यवस्थापन र योजना समेटिएका छन् । पहिलो ५ वर्षमा ६४ वटा नदी प्रणालीको एकीकृत व्यवस्थापनको योजना समेटिएको छ । त्यस्तै, जिल्लास्तरीय योजनासमेत समावेश छ । सरकारले २०६७ सालमा तयार गरेको ‘रोडा, ढुंगा, गिट्टी तथा बालुवा नियमनसम्बन्धी प्रतिवेदन’ मा ती सामग्रीको विदेश निकासी गर्दा सरकारलाई भन्दा व्यक्ति (स्वार्थ समूह) लाई प्राप्त हुने आर्थिक लाभ धेरै हुने र रातारात फैलेको बजारका कारण बैंक तथा वित्तीय संस्थाले पनि राम्ररी नबुझी लगानी गर्ने गरेको उल्लेख छ । त्यतिबेला उद्योगी व्यवसायीले २८ देखि ४० अर्ब रुपैयाँ बैंक र वित्तीय संस्थामार्फत क्रसरमा लगानी गरेका थिए । अन्तर्राष्ट्रिय व्यापारका नियम आकृष्ट हुने व्यवसायमा खरिदकर्ता मुलुकको प्रत्याभूति नभई बैंक तथा वित्तीय संस्थाले ठूलो परिमाणमा रकम लगानी गर्नु जोखिमको विषय हो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसमा राष्ट्र बैंकको हस्तक्षेपकारी भूमिका आवश्यक देखिन्छ ।’

सागरनाथ वन विकास परियोजनाअन्तर्गत महोत्तरी-सर्लाहीको सिमाना बाँके खोलामा गिट्टी, बालुवा उत्खननमा प्रयोग भएका एक्साभेटर र टिपर फाइल तस्बिर : सन्तोष सिंह/कान्तिपुर

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७–७८ को सुरुका १० महिनामा मुलुकले ११ खर्ब ४५ अर्ब रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको थियो । यस अवधिमा साढे १२ खर्ब रुपैयाँ जतिको आयात हुँदा निर्यात मुस्किलले १ खर्ब नाघेको थियो । यसरी कुल विदेश व्यापारको ९२.०४ प्रतिशत आयात र केवल ७.९६ प्रतिशत निर्यात भएको देखिन्छ । यो घाटा न्यूनीकरण गर्न कति परिमाणमा ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने भन्ने खाका सरकारसित छैन । अर्थ मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर ‘निकासी खुला गरिए पनि चुरे क्षेत्रको संरक्षण र संवर्द्धनमा प्रतिबद्ध भएको र चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक असर पर्न नदिन सरकार सचेत रहेको’ दाबी गरेको छ ।

‘खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनबमोजिम चुरे–भावर–सिवालिक र नदी प्रणालीबाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको हो,’ मन्त्रालयका प्रवक्ता महेश आचार्यले भनेका छन्, ‘चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवालगायत निर्माण सामग्रीको दोहन हुन नदिने नीतिको मूल मर्म हो ।’

पहिलो संविधानसभा चुनाव २०६४ पछि तराई, चुरेको खोंच–फेदी र भावर क्षेत्रमा अनियन्त्रित चलेका असंख्य क्रसरका कारण चुरे–भावर क्षेत्रमा अत्यधिक दोहन भएपछि संसदीय समितिहरूले भारत निकासी बन्द गराउन सरकारलाई घचघच्याएका थिए । सर्वोच्च अदालतले समेत निकासी बन्द गराउन सरकारलाई आदेश दिएको थियो । त्यसपछि सरकारले २०७१ सालमा सरकारले निकासी बन्द गरेको थियो । ‘त्यतिबेला चुरेमा समस्या भयो भनेर रोकिएको ढुंगा, गिट्टी र बालुवा निकासी नियमन र अनुगमनको कुनै बलियो संरचना खडा नगरी खुला गर्नुले धेरै शंका जन्माएको छ,’ भट्टले भने ।

संसदीय समितिको निर्देशनपछि सरकारले ढुंगा, गिट्टी र बालुवाका लागि खानी सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । खानी तथा भूगर्भ विभागले खानीका लागि १४ जिल्लाका ९२ स्थान पहिचानसमेत गरेको छ । ती स्थानमा खानी सञ्चालन भने अहिलेसम्म गरिएको छैन ।

चुरेमा १० हजार ८ सय पहिरो

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले चुरे क्षेत्रको दीर्घकालीन संरक्षण गर्न त्यस पूर्वपश्चिममा कति र कत्रा पहिरा छन् भनेर विशेषज्ञहरू परिचालन गरी अध्ययनसमेत गराएको थियो । त्रिविको केन्द्रीय वातावरण तथा विज्ञान विभागले २०७४ सालसम्म गरेको अध्ययनअनुसार सप्तरीदेखि डडेलधुरासम्मका २२ जिल्लाको चुरे क्षेत्रमा ४ सय वर्ग किलोमिटरभन्दा ठूला १० हजार ८ सय ३३ वटा पहिरो पहिचान गरिएको छ ।

‘हामीले पहिरो नियन्त्रण–उपचारका लागि लाग्ने लागतसमेत दिएका थियौं,’ अध्ययनको नेतृत्व गरेका इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालले भने, ‘सरकारले लहडमा गर्ने निर्णयले त्यस्ता वैज्ञानिक अध्ययनको समेत खिल्ली उडाएको जस्तो देखिन्छ ।’ विशेषज्ञहरूले ठूला पहिरा बेलैमा नियन्त्रण नगर्ने हो भने झनै विकराल अवस्था निम्तिने भएकाले वर्ष नै तोकेर नियन्त्रण गर्न सुझाएका थिए ।

जैविक–विविधताको खानी

हालै सकिएको एक अध्ययनले चुरे क्षेत्र (कपिलवस्तु, रूपन्देही र पाल्पा) मा पाटे बाघसम्मका वन्यजन्तु रहेको पुष्टि भएको छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा चुरे क्षेत्रको १२.८ वर्ग किमि क्षेत्रमा चार वर्ष लगाएर जैविक विविधता अध्ययन गरेका थिए ।

अध्ययनका क्रममा कपिलवस्तु, रुपन्देही र पाल्पाको चुरे–भावर क्षेत्रमा कैद भएको पाटे बाघ । तस्बिर : रिपोर्ट अन फाउना डाइभर्सिटी इन चुरे रिजन अफ नेपाल

‘बुटवलबाट उत्तर पश्चिमतिरको जंगलमा सन् २००८ र २००९, सन् २०१३ र २०१८ मा बाघ र बाघका आहारा प्रजाति गणना गर्दा बाघ रेकर्ड भएको थिएन,’ चुरे समितिले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘समग्र चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी वन्यजन्तु क्यामेरा ट्रयापमा रेकर्ड भएका छन्, तीमध्ये २० प्रजाति विश्वमै दुर्लभमध्येका हुन् ।’ सन् २०२२ सम्ममा बाघको संख्या सन् २०१० मा भन्दा दोब्बर अर्थात् २ सय ५० पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार सरकारले संरक्षण कार्यक्रममा जोड दिएको छ । अहिले बाघको संख्या २३५ छ । उदयपुरको त्रियुगा वन क्षेत्र (कोसीटप्पु वन्यजन्तु आरक्षबाट उत्तरपश्चिम) मा काठे भालुसमेत रेकर्ड भएको छ । यसअघि उक्त क्षेत्रमा काठे भालु रेकर्ड भएको थिएन ।

सरकारले संरक्षित सूचीमा राखेका २७ प्रजातिमध्ये चुरे क्षेत्रमा हुँडार र चितुवाको फैलावट सबभन्दा बढी छ । वाग्मतीभन्दा पूर्वको चुरे क्षेत्रमा भने चितुवाको उपस्थिति कमजोर पाइएको अध्ययनमा संलग्न एनटीएनसीको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका वन्यजन्तुविद् बाबुराम लामिछानेले बताए । पूर्वपश्चिम फैलिएको चुरेमा सन् २०१६ देखि २०१८ सम्म क्यामेरा ट्रयाप गरिएको थियो । प्रतिवेदनअनुसार कालो सालक चुरेको चितवन र उदयपुरमा क्यामेरा ट्रयापमा परेका छन् । तामे सालक, बाघ, हात्तीलगायतका वन्यजन्तु संरक्षण क्षेत्रबाहिर पनि रेकर्ड भएका छन् । चुरे क्षेत्रमा ३ सय ७८ प्रजातिका चरासमेत रेकर्ड भएका छन् । तीमध्ये ८ प्रजाति विश्वमै दुर्लभ हुन् । अध्ययनले चुरे क्षेत्रमा ९९ प्रजातिका उभयचर/सरीसृप प्रजाति रहेको देखाएको छ । इलाममा भ्यागुता (गोल्डेन ब्याक्ड फ्रग) र उदयपुरमा छेपारो (द वाटर मोनिटर लिजार्ड) नेपालका लागि २ नयाँ प्रजाति अभिलेख गरिएको छ । चुरे क्षेत्रमा २ सय ७९ प्रजातिका पुतली रेकर्ड भएको र तीमध्ये १८ प्रजाति नेपालका लागि नयाँ भएको समेत उल्लेख छ ।

चुरे क्षेत्र भएर बग्ने नदीहरूमा १ सय ४ प्रजातिका माछा रहेको र सबैभन्दा बढी प्रजाति कर्णाली नदीमा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि महाकाली र बबईमा बढी मात्रामा छन् । अध्ययनमा संलग्न लामिछानेले चुरे क्षेत्रमा प्रशस्त वन्यजन्तु रहेको पुष्टि भएकाले संरक्षण कार्यक्रमलाई फराकिलो पार्न ढिलाइ गर्न नहुने बताए । ‘चुरे कार्यक्रममा माटो संरक्षणलाई मात्र जोड दिइएको थियो,’ उनले भने, ‘अध्ययनले वन्यजन्तु संरक्षणका कार्यक्रम पनि अघि बढाउनुपर्छ भन्ने सन्देश दिएको छ ।’

के हो चुरे ?

समथर भूभाग (तराई) सिद्धिनेबित्तिकै दक्षिणबाट उत्तरतिर उठेको भाग चुरे हो । चुरेलाई चुरिया र शिवालिक पर्वत पनि भनिन्छ । खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको यो भूभाग नेपालको पूर्वदेखि पश्चिमसम्मै फैलिएको छ । यो पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ । त्यही भएर यसको महत्त्व छ ।

९ वर्षअघि सिरहाको चुरे क्षेत्रको क्षयीकरण । तस्बिर: निरन्जन श्रेष्ठ

झन्डै चार करोड वर्षअघि हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थ थुप्रिएर पहाड बनेको वैज्ञानिक अध्ययनको निष्कर्ष छ । हिमालय पर्वत अग्लिँदै जाँदा हिमालय र हिमालपारिको तिब्बती पठारबाट बगेर आउने गेग्रान/थेगर थुप्रिएको र त्यही गेग्रानको थुप्रो कालान्तरमा चुरे बन्न पुगेको बताइन्छ । यो पहाड ३६ वटा जिल्लामा फैलिएको छ । चुरे ८ सय ५० किलोमिटरसम्म तन्किएको छ । चौडाइ १० देखि ५० किलोमिटरसम्म छ । समुद्र सतहदेखि १ सय २० मिटर (सप्तरी, ठेलिया) देखि १ हजार ९ सय ७२ मिटर (कैलाली, भासुभीर) सम्मको उचाइमा चुरे छ । मुलुकको कुल भूभागको १२.७८ प्रतिशत हिस्सा चुरे क्षेत्रको छ । चुरे शृंखलाभित्र नदीले बनाएका केही खोंच छन् । जसमा सिन्धुलीको मरिण खोंच र कमला खोंच, डडेलधुराको रंगुन खोंच मुख्य हुन् । देउखुरी, सुर्खेत र चितवन भने दुन उपत्यकाभित्र पर्छन् । चुरेभन्दा माथि भित्री मधेस र महाभारत शृंखला फैलिएको छ ।

चुरेमा खासगरी बलौटे ढुंगा, माटे ढुंगा पाइन्छ । स–साना मानवीय गतिविधि र हलचलले पनि चुरेलाई कमजोर बनाइरहेको हुन्छ । थेग्न नसकेपछि भत्किन्छ । चुरे क्षेत्र पानी सञ्चित गर्ने भण्डारण पनि हो । यसले दक्षिणतिर समथर फैलिएको तराईका लाखौं मानिसका लागि पानी सञ्चय गरिदिन्छ । सँगै प्राकृतिक विपत्ति नियन्त्रणमा पनि यसको अहम् भूमिका छ । केही दशक अघिसम्म चुरेबाट पानीसँगै बग्ने मलिलो माटोले तराईमा कृषि बालीका लागि लाभ दिएको थियो । अहिलेको भने अनियन्त्रित रूपमा चुरेबाट बग्ने त्यही माटो तराईका लागि अभिशाप बनेको छ । त्यसले प्रकोप र त्रास फैलाएको छ । तराईको मलिलो जमिन मरुभूमि बन्दै गएको छ ।

केही दशकयता विकासका गतिविधिले चुरेको फेदी र चुरेका खोंचमा क्षयीकरण भएको छ । चुरेबाट बगेर आएको गेग्रान व्यवस्थापनका नाममा चुरे क्षेत्रमा दीर्घकालीन रूपमै असर पर्ने गरी दोहन गर्दा समस्या निम्तिएको छ । चुरेका खोंच, भावर र समथर तल्लोतटीय क्षेत्रमा जथाभावी ढुंगा, गिट्टी र बालुवाका लागि उत्खनन गर्दा जहाँतहीँ पहिरोको जोखिम बढेको छ । चुरेका पहिरो बेलैमा नियन्त्रण नगर्ने हो भने विकराल स्थिति आउने भन्दै विशेषज्ञहरूले सरकारलाई सचेत गराइसकेका छन् । चुरे क्षेत्रमा अनियन्त्रित चरिचरन, खनजोत र अतिक्रमण पनि छ । भूस्खलन/पहिरोसँगै बग्ने माटोले तराईको मलिलो जमिन मरुभूमीकरण बन्दै गएको छ ।

समस्या सम्बोधन गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि चुरे क्षेत्रमा केही प्रयास पनि अघि बढाएको थियो । तर स–साना र छरिएका कार्यक्रमले मात्र समग्र चुरेको संरक्षण असम्भव देखिएकाले सरकारले २०७१ असार २ मा पूर्वदेखि पश्चिमसम्मै ‘चुरे संरक्षण क्षेत्र’ घोषणा गरेको थियो । त्यसको व्यवस्थापनका लागि उच्चस्तरीय ‘राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति’ समेत बनाइएको छ । समितिले चुरे, भावर, तराई र दुनलाई एउटै भूपरिधिमा राखेर समग्र व्यवस्थापनका प्रयास अघि बढाएको छ । समितिले बहुसरोकारवाला समूहसँग छलफल गर्दै बहुआयामिक हिसाबले काम अघि बढाएको छ । चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको प्रवद्र्धन, गरिबी न्यूनीकरण एवं समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पुर्‍याउनु समितिका मूल लक्ष्य हुन् ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ २०, २०७८ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्

डेब्युमै कोन्वेको शतक

एजेन्सी

लन्डन —  डेभोन कोन्वेले आफ्नो पहिलो टेस्टमै शतक बनाएपछि न्युजिल्यान्डले इंल्यान्डविरुद्धको दुई टेस्ट शृंखलाको पहिलो टेस्टमा राम्रो सुरुआत गरेको छ ।

कोन्वेको १ सय ३६ रन मद्दतमा भ्रमणकारी न्युजिल्यान्डले पहिलो दिनको खेलमा ८५ ओभर समाप्तिमा ३ विकेट गुमाई २ सय ४६ रन बनाएको छ ।

आफ्नो डेब्यु टेस्टमै विश्व क्रिकेटको मक्का मानिने लर्डस मैदानमा शतक बनाउने कोन्वे केवल छैटौं खेलाडी बने । उनले २ सय ४० बलको इनिङ्समा १६ चौका प्रहार गरिसकेका छन् ।

कोन्वेले अर्का ओपनर टम लाथमसँग ५८ रन जोडेर न्युजिल्यान्डलाई राम्रो सुरुआत दिलाएका थिए । लाथम २३ रन बनाई डेब्यू गरिरहेका ओले रोबिन्सनको बलमा आउट भए । लाथमले ७७ बल खेल्दै २ चौका प्रहार गरे ।

कप्तान केन विलियम्सनलाई भेट्रान जेम्स एन्डरसनले १३ रनमा बोल्ड गरे । रोबिन्सनले रस टेलरलाई १४ रनमा एलबीडब्लू आउट गरी इंग्ल्यान्डलाई तेस्रो सफलता दिलाए ।

हेनरी निकोलस ४६ रन बनाई खेलिरहेका छन् । उनले १ सय ४५ बल खेली ३ चौका प्रहार गर्नेक्रममा चौथो विकेटमा कोन्वेसँग १ सय ३२ रनको साझेदारी गरिसकेका छन् ।

न्युजिल्यान्डले इंग्ल्यान्डसँगको टेस्ट शृंखलापछि भारतसँग विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेछ ।

प्रकाशित : जेष्ठ २०, २०७८ ०६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×