नियन्त्रणमा आयो चौधरी उद्योग ग्रामको आगलागी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियन्त्रणमा आयो चौधरी उद्योग ग्रामको आगलागी

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको छ ।

देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी ग्रुपको औधोगिक ग्राममा रहेको सीजी ब्रुअरीमा बिहान सवा ८ बजेबाट सुरु भएको आगलागी साँझ साढे ६ बजे नियन्त्रणमा आएको हो । ब्रुअरीमा लागेको आगो निभाउन ८ वटा दमकललाई १० घण्टा भन्दा बढी समय लागेको हो ।

कारखानामा लागेको आगो नियन्त्रणका लागि पूर्वी, पश्चिम नवलपवरासी र चितवनका ८ वटा दमकल प्रयोग गरेर सेना, सशस्त्र प्रहरी, प्रहरी र उद्योगका कर्मचारी खटिएका थिए ।

जिल्ला प्रहरीका प्रवक्ता दिलिप गिरीले बियर कारखानाको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई १० घण्टाभन्दा बढी समय लागेको जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

बिहान ८ बजे बियर उत्पादन गर्ने कारखानाबाट धुवाँको मुस्लो निस्केपछि बाहिरका मजदुरले आगो लागेको जानकारी दिएको प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार गोदाममा तयारी अवस्थामा राखिएको ६० हजार कार्टुन बियर जलेर नष्ट भएको छ । तयारी बियर, कार्टुन, बियर बनाउने कच्चापदार्थ ,कारखानको इन्जिनियरिङ विभाग, गोदाम, कार्टुन गोदाम र कार्यालय जलेर नष्ट भएको छ ।

चौधरी ग्रुपका महाप्रबन्धक मधुु पौडेलले भने आगलागीबाट भएको क्षतिको विवरण आउन अझै केही समय लाग्ने बताएका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब ५६ अंकले बढेर २ हजार ८ सय २७.१२ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा बुधबारको वृद्धि करिब २ प्रतिशतले बढी हो ।

अघिल्ला दुई दिन घटेको बजारमा बुधबार उच्च वृद्धि भएको हो । सो दिन सुरुमा बजार घटेर १ हजार ७ सय ७१.६२ बिन्दुसम्म झरेको थियो । त्यसपछि उकालो लागेको बजार ५५.७६ अंकले बढेको हो । सो दिन कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । जसअनुसार सामूहिक लगानी कोष उपसमूहको परिसूचक ०.१२ प्रतिशतले घट्यो ।

करिब सवा एक लाख कारोबारबाट २ सय १९ कम्पनीका २ करोड २६ लाख १३ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार ८ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

परिसूचकमा उच्च अंकको वृद्धिसागै सेन्सेटिभ परिसूचक १.५७ प्रतिशत र फ्लोट परिसूचक १.७ प्रतिशतले बढे । सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ३९ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ३७ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको वित्त कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी ७.९१ प्रतिशत र विकास बैंक उपसमूहको ६.१३ प्रतिशत बढे । यसैगरी, बैंकिङ उपसमूहको परिसूचक ०.४८, व्यापारको ०.३६, होटल्स तथा पर्यटनको २.६९, जलविद्युतको २.८६ प्रतिशतले उकालो लागे । सो दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३.३४, उत्पादन तथा प्रशोधनको २.३९, अन्यको ५.२४, लघुवित्तको १.३, जीवन बीमाको २.०८ र लगानी उपसमूहको ०.९२ प्रतिशतले सकारात्मक रहे ।

प्रकाशित : जेष्ठ १९, २०७८ १८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×