रेशम चौधरीलगायतको मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सरकार र थरुहटबीच सहमति- समाचार - कान्तिपुर समाचार

रेशम चौधरीलगायतको मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सरकार र थरुहटबीच सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।सहमतिको पहिलो बुँदामा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनअनुसार पहल गरिने उल्लेख गरिएको छ ।

थरुहट/थारुवान आन्दोलका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने, सहिद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानबिन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ । महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई पनि काुननी दायरामा ल्याउने पनि सहमतिमा जनाइएको छ ।

त्यस्तै सहमतिको तेस्रो बुँदामा संविधानमा उल्लेखित व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार राज्यका हरेक तह र तप्काहरुमा थारुहरुको आरक्षणको व्यवस्था तथा सबैखाले थारु समुदायको बारेमा संविधानअनुरुपको व्याख्या र व्यवस्था गर्ने उल्लेख छ ।

त्यस्तै, संविधानबमोजिम थारुभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्म शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । त्यस्तै कमैया, कमलरी संघर्ष समितिसँग विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्ने पनि सहमति भएको छ ।

सहमतिमा नेपाल सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख समेत रहेका कानुन न्याय संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराई, भगवती चौधरी र थारु कल्याणकारी सभा, थारुहट/थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरीलगायत छन् ।

प्रकाशित : जेष्ठ १८, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

अन्तिमसम्म एकताको प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने उनले बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेतामात्रै सहभागी थिए । यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यस्तै, बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप–निर्वाचको बिषयमा पनि समीक्षा भएको प्रवक्ता ज्ञवालीले बताए ।

पार्टी एकताका लागि यसअघि गठित कार्यदल अहिले अस्तित्वमा नरहेको तर आवश्यक परे त्यसलाई पुर्नगठन गर्न सकिने ज्ञवालीले जानकारी दिए । उक्त कार्यदलका संयोजक भीम रावल पार्टी सदस्यबाट निष्कासनमा परेका छन् भने केहीलाई स्पष्टीकरण सोधिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षका दोस्रो तहका नेताहरुबीच सोमबार साँझ भएको वार्तामा एकताका लागि थप पहल गर्ने समझदारी बनेपछि १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७८ १४:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×