अन्तिमसम्म एकताको प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निर्णय- समाचार - कान्तिपुर समाचार

अन्तिमसम्म एकताको प्रयास जारी राख्ने एमाले स्थायी कमिटीको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने उनले बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेतामात्रै सहभागी थिए । यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यस्तै, बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप–निर्वाचको बिषयमा पनि समीक्षा भएको प्रवक्ता ज्ञवालीले बताए ।

पार्टी एकताका लागि यसअघि गठित कार्यदल अहिले अस्तित्वमा नरहेको तर आवश्यक परे त्यसलाई पुर्नगठन गर्न सकिने ज्ञवालीले जानकारी दिए । उक्त कार्यदलका संयोजक भीम रावल पार्टी सदस्यबाट निष्कासनमा परेका छन् भने केहीलाई स्पष्टीकरण सोधिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षका दोस्रो तहका नेताहरुबीच सोमबार साँझ भएको वार्तामा एकताका लागि थप पहल गर्ने समझदारी बनेपछि १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७८ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्

संवैधानिक इजलास गठन विवादबारे चार न्यायाधीशको यस्तो छ राय [पूर्ण पाठसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद विघटन सम्बन्धी रीटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएको बताएका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट अलग हुन अस्वीकार गरेपछि त्यसमा असहमति राख्दै उनीहरुले मंगलबारको इजलासमा नै आफूहरु यसमा असहमत भएको भन्दै इजलासमा बस्न अस्वीकार गरेका हुन् । उनीहरु अहिले इजलासबाट बाहिरिएका छन् ।

रिट दायर गर्ने कांग्रेस सभापति शेरबहादुर देउवालगायतको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले न्यायाधीश श्रेष्ठले नेकपालाई विभाजन गर्ने फैसला गरेको र केसीले त्यसमा पुनरावलोकन नदिएको भन्दै उनीहरुले संसद् विघटन सम्बन्धी मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए ।

मंगलबारको इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठले 'दलको नामसम्बन्धी मुद्दा फरक मुद्दा भएको र उक्त फैसलाले प्रस्तुत मुद्दामा प्रभावित पार्ने नभएको' भन्दै अलग हुन अस्वीकार गरेका हुन् । यस्तै इजलासमा अर्का न्यायाधीश तेजबहादुर केसीले 'नेकपा नामको मुद्दा ३ न्यायाधीशको इजलासले पुनरावलोकन नगरेको तथा उक्त मुद्दाको र प्रस्तुत मुद्दामा स्वार्थ र सरोकार नभएकोले यो इजलासबाट आफूलाई अलग गर्न गम्भीर तथ्य र आधार नभएको' बताएका हुन् ।

दुई न्यायाधीशले संवैधानिक इजलासबाट अलग हुन अस्वीकार गरेकोमा इजलासका अर्का दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले भने असहमति व्यक्त गरेका थिए ।

यस्तो छ इजलास गठन विवादबारे न्यायाधीशहरुको रायः

प्रकाशित : जेष्ठ १८, २०७८ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×