२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

हामी इजलासबाट हट्नुपर्दैन : न्यायाधीशद्वय श्रेष्ठ र केसी

काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई गरिरहेको संवैधानिक इजलासका दुई न्यायाधीशहरुले कानून व्यवसायीहरुबाट प्रश्न उठेकै कारणले आफूहरु अलग हुनु नपर्ने राय व्यक्त गरेका छन् ।

हामी इजलासबाट हट्नुपर्दैन : न्यायाधीशद्वय श्रेष्ठ र केसी

आइतबारको मिति राखेर सोमबार वितरित रायमा उनीहरुले यसअघिको फैसलाका कारण यो मुद्दा हेर्न आफूहरुलाई आचारसंहिताका दृष्टिकोणले कुनै कठिनाई नभएको दावी गरेका हुन् ।

‘ऋषि कट्टेलजीको मुद्दा नितान्त फरक हो, त्यो मुद्दामा व्यक्त राय र पुनरावलोकन नगर्ने भनी गरेको आदेशले प्रतिनिधिसभा विघटनको मुद्दामा सम्बन्ध राख्दैन,’ न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठले तयार पारेको राय उदृत गर्दै सर्वोच्च अदालतस्रोतले भन्यो, ‘केवल प्रश्न उठेकै कारणले मात्रै मुद्दाबाट अलग हुनु पर्दैन । इजलासमा बस्दा पनि न्यायाधीशको आचारसंहिताको उल्लंघन हुँदैन ।’

आइतबार सुनुवाई सकिएपछि न्यायाधीशद्वय केसी र श्रेष्ठले मौखिक रुपमा इजलासमा बस्ने बताए पनि कुनै लिखित आदेश वा राय व्यक्त गरेका थिएनन् । तर, सोमबार उनीहरुको रायसहितको आदेशको प्रति संवैधानिक इजलासका सबै न्यायाधीशहरुलाई बुझाइएको थियो । त्यसमा प्रधानन्यायाधीशसहित कुनै पनि न्यायाधीशले हस्ताक्षर गरेका छैनन् ।

गत शुक्रबार र आइतबार (हिजो) कानून व्यवसायीहरुले संवैधानिक इजलासमा सहभागी भएका न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएका थिए । त्यो प्रश्नपछि न्यायाधीश तेजबहादुर केसी र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासम्म पुगेर ठोक्कियो । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को विवादमा संवैधानिक दायरबाट बाहिर गएर फैसला गरेको आरोप लागेका न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा बस्दा तटस्थतामाथि प्रश्न हुने भन्दै उनीहरुले अलग हुनुपर्ने माग राखेका थिए । त्यो फैसला पुनरावलोकन नहुने भनी आदेश गर्नेमध्ये इजलासमा रहेका प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीमाथि पनि प्रश्न उठेको हो ।


प्रकाशित : जेष्ठ १७, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?