कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘नवनागरिक’ विरुद्ध उजुरीका चाङ

झूटो विवरण र पैसा खुवाएर नागरिकता लिनेमा भारतीयसँगै भुटानी पनि
भत्ताकै लागि दोहोरो नागरिकता लिने बढी

रौतहट, महोत्तरी, सप्तरी, सर्लाही — प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरूमा झूटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा दर्जनौं भारतीयविरुद्ध उजुरी परेका छन् । गाउँमै नागरिकता टोली खटिएका बेला र प्रशासन कार्यालयबाटै पनि पैसा खुवाएर (आर्थिक लेनदेन) भारतीयले नेपाली नागरिकता लिने गरेका हुन् । त्यस्ता ‘नवनागरिक’ मध्ये केही आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ ।

‘नवनागरिक’ विरुद्ध उजुरीका चाङ

भारतीयले नागरिकता लिएको भन्दै परेका कतिपय उजुरीको भने छानबिन भइरहेको र केही नागरिकता रद्द गर्न सिफारिस गरिएको प्रशासन कार्यालयहरूले दाबी गरेका छन् ।

झूटो विवरण पेस गरेर नागरिकता लिएको भन्दै रौतहटको राजापुर नगरपालिका–२ का मोहम्मद नाजिरलाई प्रहरीले केही साताअघि पक्राउ गर्‍यो । उनी भारतीय नागरिक भएको र झुक्याएर नागरिकता लिएको प्रशासनमा उजुरी परेपछि अनुसन्धान भइरहेको छ । नाजिरलाई अहिले हाजिरी जमानीमा छोडिएको छ । नाजिरले २०७५ असोज १४ मा रौतहट प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका नातेदार मेराजुल हक मियाँ र शेष सरुल्लाहविरुद्ध पनि झूटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा अनुसन्धान जारी छ । उजुरीमा उनीहरू पनि भारतीय भएको उल्लेख छ ।

रौतहटकै साविक डुमरिया परोहा–४ का रामहाधार साहले झूटो विवरण देखाई नागरिकता लिएको भन्दै २०७७ पुस १ मा प्रशासनमा उजुरी पर्‍यो । साह भारतीय भए/नभएको खुलेको छैन । उनले कसरी नागरिकता पाए भन्नेबारे छानबिन गर्न प्रशासनले जिल्ला प्रहरीलाई पत्राचार गरेको छ । प्रहरीले साहको नागरिकताबारे छानबिन भइरहेको जनाएको छ ।

गौर नगरपालिका–५ का जिम्मेदार मुखिया विनकी नक्कली श्रीमती बनेर नागरिकता लिएको भन्दै रिंकु देवीविरुद्ध पनि प्रशासनले छानबिन गरिरहेको छ । रिंकु भारतीय नागरिक भएको भन्दै एक महिनाअघि प्रशासनमा उजुरी परेको थियो । उजुरीकर्ताको नाम गोप्य राखिएको छ ।

जिल्लाकै साविक जिंगडिया गाविसमा २०६३ मा खटिएको प्रशासनको टोलीले ३० जनाभन्दा बढी भुटानी नागरिकलाई पनि नागरिकता दिएको थियो । जिंगडिया गाउँभरि मुस्लिम, साह, चमार, बनिया, कानु, यादवलगायत समुदाय र जातिको मात्र बसोबास छ । तर गौतम, भट्टराई, तिमल्सिना, न्यौपाने, आचार्य, पौडेल र कार्की थरका ३० जनाभन्दा बढी भुटानीले टोलीका सदस्यलाई आर्थिक प्रलोभनमा पारेर नागरिकता लिएको खुलेको छ । २०६३/६४ को टोली नम्बर ११ बाट उनीहरूले त्यहीं जन्मेको झूटो विवरण पेस गरी नागरिकता लिएका हुन् । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको रजिस्टरमा उक्त टोलीले ६३ जनालाई जन्मका आधारमा नागरिकता दिएको उल्लेख छ । भुटानीले नागरिकता लिँदा तयार रजिस्टरको कैफियतमा सचिवको नामसमेत उल्लेख छैन ।

रौतहटमा एक वर्षयता झूटो विवरण पेस गरी भारतीयले नागरिकता लिएको आरोपमा ११ वटा उजुरी परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘झुक्याएर वा झूटो विवरण पेस गरेर नागरिकता लिएका भनिएकाविरुद्ध छानबिन भइरहेको छ,’ उनले भने, ‘केहीको नागरिकता रद्द गर्न गृह मन्त्रालयमा पत्र पठाएका छौं ।’

महोत्तरीमा गत दुई वर्षमा दोहोरो नागरिकता लिएको भन्दै २२ वटा उजुरी परेका छन् । तीमध्ये २१ वटा भारतीयले नागरिकता लिएको सम्बन्धी उजुरी रहेको महोत्तरी प्रशासनले जनाएको छ । एउटा उजुरी सम्बन्धविच्छेदपछि श्रीमान्को नाम कट्टा गर्ने विषयको छ । भारत र नेपाल दुवैतर्फ नागरिकता लिनेमा महिलाभन्दा पुरुष बढी छन् । १७ पुरुष र ५ महिलाले दोहोरो नागरिकता लिएको उजुरी परेको छ ।

जिल्लामा दर्ता अधिकांश उजुरी वंशज र जन्मको आधारमा लिइएका नागरिकताविरुद्धमा परेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । गलत विवरण तयार गरी झुक्याएर नागरिकता लिएका व्यक्तिविरुद्ध परेका मुद्दाका विषयमा अनुसन्धान गर्दै तथ्य केलाउने काम भइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखाका अनुसार २५–३० वटा नागरिकतासम्बन्धी मुद्दा अनुसन्धानकै क्रममा छन् । तीमध्ये दुई देशको नागरिकता लिएका, किर्ते कागजात पेस गरी नागरिकता लिएका, नक्कली बाबु बनाएर नागरिकता दिलाएका उजुरी पनि छन् ।

भारतमा विभिन्न अपराध गरेर नेपाल प्रवेश गरी तत्कालीन जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति) समूहका सप्तरी इन्चार्ज बताउने सुभाष झाले सुनसरीको श्रीपुर गाविस–३ बाट दिनेश झाको नाममा नेपाली नागरिकता लिएका थिए । झुम्का कारागारबाट भाग्नुअघि उनी फर्जी नागरिकतासम्बन्धी मुद्दामा कारागारमा थिए । नेपाली नागरिकलाई मामा, ज्वाइँ, फुफाजुलगायत नातागोता बनाएर सप्तरीमा धेरै भारतीयले नेपाली नागरिकता लिएका छन् ।

भत्ताकै लागि दोहोरो नागरिकता

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उमेर बढाएर दोहोरो नागरिकता लिने बढी देखिएका छन् । नागरिकतासम्बन्धी परेको उजुरीको आधारमा वृद्धभत्ताकै लागि स्थानीयले उमेर बढाएर दोहोरो नागरिकता लिएको संख्या बढी देखिएको हो । सरकारले सामाजिक सुरक्षा भत्ता रकम बढाएसँगै उमेर बढाएर दोहोरो नागरिकता लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तत्कालीन माओवादी द्वन्द्वकालमा कार्यालयका मिसिलहरू जलेका कारण प्रशासनसँग कुनै तथ्यांक छैन ।

जसको फाइदा उठाई स्थानीयले सहजै उमेर बढाएर अर्को नागरिकता लिने गरेको प्रशासनको मुद्दा शाखाले जनाएको छ । मुद्दा शाखा प्रमुख विश्वनाथ अधिकारीले भारतबाट आएर नेपाली नागरिकता लिएको उजुरी निकै थोरै रहेको बताए । सबैभन्दा बढी उमेर बढाएर दोहोरो नागरिकता लिएका उजुरी छन् । यस्तामाथि छानबिन गर्दै नागरिकता रद्द गर्ने काम भइरहेको उनले जनाए । भारतीय नागरिकले नक्कली बुबाआमा खडा गरेर नागरिकता लिएको मुद्दा एक/दुई वटा मात्र हुन सक्ने उनले बताए ।

प्रकाशित : जेष्ठ १७, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?