स्वास्थ्यकर्मीमाथि आक्रमण एमाले नेताको नेतृत्वमा- समाचार - कान्तिपुर समाचार

स्वास्थ्यकर्मीमाथि आक्रमण एमाले नेताको नेतृत्वमा

दुर्गालाल केसी, ठाकुरसिंह थारु, रुपा गहतराज, मधु शाही

दाङ, नेपालगन्ज — चिकित्सक संघको बाँके जिल्ला शाखा कार्यालय परिसरमा बसिरहेकी उनको मुहार मलीन थियो । छेउमै चिकित्सक, स्वास्थ्यकर्मी र स्टाफ नर्स नाराबाजी गरिरहेका थिए, ‘वी वान्ट जस्टिस, नो सेक्युरिटी नो वर्क । आक्रमणकारीलाई कारबाही गर । प्रहरी–प्रशासन मुर्दावाद ।’

नेपालगन्जको भेरी अस्पतालमा शुक्रबार प्रदर्शन गर्दै स्वास्थ्यकर्मी । तस्बिर : रूपा गहतराज/कान्तिपुर

कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा कार्यरत स्टाफ नर्स सदीक्षा गैरे रातिदेखि आफू र सहकर्मीमाथि कुरुवाबाट भएको आक्रमणको घटनाबारे सोध्नेहरूलाई जानकारी दिँदादिँदै थाकेकी थिइन् ।

बिहीबार राति अस्पतालको आईसीयूमा उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, मृतकका छोरा भरत, लोकराजलगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण र त्यसबाट जोगिन मोलेको जोखिम सदीक्षाले भुल्न सकिरहेकी थिइनन् । बिरामीको अवस्था गम्भीर भए पनि भेन्टिलेटरमा सार्ने क्रममा मृत्यु भएको केहीबेरमै वार्डमै पसेर उनीहरूले सुरुमा सदीक्षाको घाँटी च्यापेका थिए ।

प्रत्यक्षदर्शी चिकित्सकका अनुसार आक्रमणकारीले घाँटी च्यापेर जे पनि गर्ने बताइरहेका बेला अर्का कुरुवाले ‘के गरेको ? नगर्नूस्’ भनेका थिए । त्यसपछि आक्रमणमा संलग्न ती व्यक्ति अर्का कुरुवामाथि जाइलागे । त्यही बेला गैरेलगायत उक्त वार्डमा रहेका स्वास्थ्यकर्मी क्याबिनमा पुगेका थिए । ‘आक्रमणकारीले हाम्रो मान्छे मारिस् भन्दै मलाई खोज्न क्याबिनको झ्याल फुटाए, त्यसपछि लुक्न शौचालय गयौं,’ घाँटीको डाम देखाउँदै गैरेले भनिन्, ‘उनीहरूले शौचालयको ढोका फुटाउन थालेपछि झ्यालबाट हाम फाल्यौं । झ्यालमुनि बालुवा रहेछ । धन्न बाँच्यौं ।’ चिकित्सकका अनुसार कोरोना संक्रमित रावतलाई १० दिनअघि उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उनलाई सास फेर्न गाह्रो भएपछि आईसीयूमा राखिएको थियो । बिहीबार साँझ सवा ८ बजेतिर स्टाफ नर्स गैरे बिरामीको ईसीजी गरिरहेकी थिइन् । ‘एक्कासि बिरामीका आफन्त जाइलागे,’ उनले भनिन्, ‘हाम्रो बिरामीलाई पहिलाको अवस्थामा फर्काइदेऊ भन्दै मार्ने धम्की दिए ।’

स्वास्थ्यकर्मीका अनुसार प्रहरीलाई खबर गर्दा पनि आएनन् । त्यसैले स्वास्थ्यकर्मीले ज्यान जोगाउन शौचालयको झ्यालबाट हाम फालेर भाग्नुपरेको थियो । गैरे अढाई वर्षदेखि यहाँ कार्यरत छिन् । परिवार छोडेर दिनरात भोक प्यास नभनी बिरामीको सेवामा खटिँदा पनि आक्रमण हुनुले दुःख लागेको उनले बताइन् । ‘पहिला त परिवारले पनि यस्तो बेला सहयोग गर्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘घटनापछि परिवारले पनि जागिर छोड्न दबाब दिन थालिसके ।’ आक्रमण हुँदा गैरेसँगै आश्मिनी गुरुङ, रीता अधिकारी, भावना श्रेष्ठ, कविता पुनसहित पाँच जना नर्स र डा. चन्द्रप्रकाश साहू खटिएका थिए । रावतको मृत्युपछि उनका भाइ मानबहादुर, भरतबहादुर र लोकराजले ड्युटीमा रहेका डाक्टर र नर्सलाई हातपात गरेको स्वास्थ्यकर्मीले बताए ।

मानबहादुरले आफ्ना दाजु बोलिरहेको अवस्थामा भेन्टिलेटरमा राखेकाले ज्यान गएको आरोप लगाएका छन् । ‘दाजु बोलिरहनुभएको थियो । हामीले भेन्टिलेटरमा किन राख्यौ भन्दा पनि भनेनन् । अन्ततः दाजुको ज्यान गयो,’ उनले फेसबुक स्टाटसमा उल्लेख गरेका छन्, ‘दाजुको ज्यान लिनेहरूसँग बदला लिन्छौं ।’ बर्दिया राजापुर–४ की आश्मिनी गुरुङ पाँच वर्षदेखि यहाँ कार्यरत छिन् । बिहीबारको घटनाले मनोबल कमजोर बनेको उनले बताइन् । ‘पहिल्यैदेखि बिरामीको अक्सिजन लेबल कम थियो । त्यसैले भेन्टिलेटरमा राखेका थियौं । त्यत्तिकैमा आफन्त आएर गालीगलौज गर्दै हातपात गर्न थाले,’ उनले भनिन्, ‘हामी झ्यालबाट हाम फालेर नभागेको भए के हुन्थ्यो के ।’

डा.साहुले आफूहरू पाँच जनालाई लखेटीलखेटी हातपात गरेको बताए । ‘बिरामीको अवस्था केही दिनदेखि नै गम्भीर थियो । एक दिनअघि उनीहरूले नै भेन्टिलेटरमा राखिदिनुपर्‍यो भनेका थिए । त्यो दिन खाली थिएन । बिहीबार भेन्टिलेटर खाली भएपछि हामीले राखिदियौं, त्यसको केहीबेरमा बिरामीको मृत्यु भयो,’ उनले भने, ‘त्यसपछि नर्सलाई घाँटी अँठ्याइयो । हामीलाई लखेटी लखेटी हातपात गरियो । हामी भगवान् होइनौं तर बिरामीलाई बचाउन लाखौं कोसिस गर्छौं तर के गर्ने मृत्यु हाम्रो हातमा हुँदैन ।’ उनका अनुसार आक्रमणपछि चिकित्सक र नर्सहरू भागेर एउटा कोठामा लुकेका थिए । आक्रमणकारीले त्यहाँको पनि ढोका फोरेपछि शौचालयमा लुक्न बाध्य भएको उनले बताए । त्यहाँको झ्यालबाट हाम फालेर भागेका थिए । ज्यान जोगाउन संघर्ष गरेका स्वास्थ्यकर्मी कर्तव्यविमुख भने भएनन् ।

नर्स गुरुङले घटनाप्रति प्रशासन संवेदनशील नभएको गुनासो पोखिन् । उनका अनुसार बिहीबार राति ११ बजे भएको उक्त प्रशासनसँग छलफलपछि उनीहरू ड्युटीमै खटिए । ‘ड्युटी त जसरी पनि पूरा गर्नै पर्ने थियो,’ गुरुङले भनिन्, ‘डराइडराई खटियौं ।’ सँगै खटिएकी भावना श्रेष्ठ झ्यालबाट हाम फाल्दा खुट्टा मर्किएपछि बेड रेस्टमा छिन् । ‘बिरामी निको भयो भने एक वचन धन्यवादसमेत नदिने तर मृत्यु भयो भने मार्नसमेत पछि नपर्ने मान्छेको व्यवहार देखेर खिन्न लागेको छ,’ उनले भनिन् । रीता अधिकारीले घटनापछि बिरामी हेरचाह गर्न डर लागेको बताइन् ।

स्वास्थ्यकर्मीमाथि हातपात भएपछि राति नै प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल र एसपी ओम राणा अस्पताल पुगेका थिए । लगत्तै पक्राउ गरिएका तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग र अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपी रानाले बताए ।

जिल्ला प्रशासनले सहायक प्रजिअ शंकर विष्टको संयोजकत्वमा घटना छानबिन समिति गठन गरेको छ । दोषीलाई कारबाही र सुरक्षाको माग अघि सारेका स्वास्थ्यकर्मीहरू शुक्रबार अस्पतालबाट नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

को हुन् रावत ?

नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मी कुटपिटमा संलग्न मुख्य आरोपी तुलसीपुर–११ उरहरीका ४३ वर्षीय मानबहादुर रावत एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

पारिवारिक स्रोतका अनुसार यसअघि उनी तुलसीपुर उपमहानगरपालिकामा सुब्बा थिए । उरहरी गाविस सचिव हुँदै उनले नगरप्रमुख घनश्याम पाण्डेको सचिवालयमा काम गरेका थिए ।

त्यतिबेला उनले जनप्रतिनिधि महिलालाई सताएको गुनासो आएको थियो । महिला जनप्रतिनिधिमाथि यौन दुव्र्यवहार गरेको भन्दै पटकपटक उजुरी परेपछि नगरप्रमुख पाण्डेले सचिवालयबाट वडा कार्यालयमा जान आग्रह गरेका थिए । वडा कार्यालयमा शक्तिको अभ्यास गर्न सकिने स्थिति नभएपछि उनले ६ महिनाअघि जागिरबाटै राजीनामा दिएका थिए ।

रावतमाथि सात वर्षअघि लमहीकी एक महिला कार्यकर्तालाई बलात्कार गरेको आरोप पनि लागेको थियो । पार्टीको कार्यक्रम सकेर मोटरसाइकलमा घरमा पुर्‍याउन गएका रावतले जबर्जस्ती करणी गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसपछि उनी लामो समय फरार भएका थिए । पछि अदालतबाट सफाइ पाएपछि उनले फेरि राजनीति र जागिर सँगसँगै गरिरहेका थिए । उनले आफूलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलनिकट बताउँदै स्वास्थ्यकर्मीलाई धम्क्याउने गरेको पनि आरोप लागेको छ ।

तीन सातामा तीनपटक

कोरोनाको दोस्रो लहरसँगै भेरी अस्पतालमा संक्रमित बढेका छन् । दैनिक मृतकको संख्या पनि धेरै छ । यहाँ संक्रमितको मृत्युपछि स्वास्थ्यकर्मीमाथि पटकपटक दुर्व्यवहारका घटना भएका छन् । बिहीबार रावतको मृत्युपछि आक्रमण भयो । गत वैशाख २४ गते इमर्जेन्सीमा कार्यरत पारामेडिक उपेन्द्र सिंहमाथि आक्रमण भएको थियो । कोरोनाका बिरामीको मृत्यु भएपछि कुरुवाले उनीमाथि आक्रमण गरेका थिए । त्यसबेला पनि स्वास्थ्यकर्मीको भागाभाग भएको थियो । त्यसको एक साताअगाडि एक स्टाफ नर्समाथि कुरुवाले चप्पल प्रहार गर्ने प्रयास गरेकी थिइन् ।

‘कुनै घटनालाई पनि गम्भीरतापूर्वक लिइएन । आक्रमणकारीलाई कारबाही भएन,’ वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले भने, ‘अस्पतालमा यस्ता घटना हामीले कति सहने ?’

शुक्रबार ७ को मृत्यु

बाँकेमा उपचाररत ७ संक्रमितको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा–३ का ३७ वर्षीय, गुलरिया–६ का ५७ वर्षीय, बाँकेको कोहलपुर–११ का ६९ वर्षीय, जानकी–१ का ५० वर्षीय, दाङ तुलसीपुर–११ का ५२ वर्षीय र लमही–६ का ४७ वर्षीय पुरुष छन् । मृत्यु हुनेमा सल्यानको कुमाख–१ सल्यानका ३४ वर्षीया महिला पनि छिन् ।

‘स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना भए पनि कसैले पनि आफ्नो ड्युटी छाडेर बसेको छैन,’ वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. रिसालले भने, ‘यहाँ ल्याइएका अधिकांश बिरामी गम्भीर अवस्थाका हुन्छन् । उपचार गर्दागर्दै पनि दिनहुँ मृत्यु भएका छन् । आज पनि भयो । धेरै जना निको पनि हुनुभएको छ ।’

प्रकाशित : जेष्ठ १५, २०७८ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्

अन्ततः अध्यादेशबाटै आज बजेट

अध्यादेशबाट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको ल्याउन नहुनेजस्ता सार्वजनिक खबरदारीलाई बेवास्ता
कृष्ण आचार्य

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याउने भएको हो ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद, कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन, राहत तथा आर्थिक पुनरुत्थान प्याकेज, वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ । ‘विद्यमान अवस्थामा उपलब्ध स्रोतले भ्याउन सक्ने गरी नै बजेट आउँछ,’ अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश श्रेष्ठले भने । त्यो भनेको कति हो भन्ने प्रश्नमा उनले शुक्रबार राति भने, ‘बजेटको भाषण र स्रोतहरूको हिसाब गर्ने क्रम जारी छ । अझै फाइनल भइसकेको छैन ।’

अर्थको गृहकार्यअनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ । ‘यो बजेट खर्चका लागि करिब साढे १० खर्ब राजस्वबाट स्रोत जुट्ने अनुमान छ । सवा दुई खर्ब आन्तरिक ऋण उठाएर स्रोत जुटाइनेछ,’ अर्थ स्रोतले भन्यो, ‘बाँकी रकम वैदेशिक सहायता तथा ऋणबाट प्राप्त हुने विश्वासमा बजेट निर्माण भइरहेको छ ।’

बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर शनिबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ । मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । अध्यादेशबाट भए पनि बजेट पूर्ण आकारकै हुने निश्चित छ । ‘पूर्ण र अपूर्ण केलाई भन्ने ? बजेट कहिल्यै पूर्ण हुँदैन । किनभने आम सर्वसाधारणका इच्छा, अपेक्षा र आवश्यकता सबै पूरा भयो भनेमात्रै पूर्ण हुने हो,’ सल्लाहकार श्रेष्ठले भने, ‘उपलब्ध स्रोत र कार्यान्वयनको क्षमतालाई ध्यानमा राखेर काम गरिरहेका छौं ।’

स्रोतका अनुसार करिब १ करोड मात्रा खोप खरिद गर्ने गरी बजेट विनियोजन गरिएको छ । निर्माण कार्य सुरु भइसकेका र अध्ययन पूरा भएर आगामी आर्थिक वर्षबाट काम गर्ने गरी झन्डै एक दर्जन सुरुङमार्गमा पनि बजेट विनियोजन गरिएको छ । ‘कोभिड–१९ बाट रोजगारी गुमाएका, आर्थिक संकटमा परेका व्यापार व्यवसायलाई राहत कार्यक्रमसमेत घोषणा हुनेछन् । उनीहरूलाई केही छुट तथा सुविधाको घोषणा हुनेछ,’ अर्थ स्रोतले भन्यो । खासगरी पर्यटन क्षेत्रका उद्यम व्यवसायलाई विभिन्न छुट सुविधा दिने गरी बजेट बनाइएको छ । ‘सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता वृद्धि निश्चित छ । मासिक ४ हजार कि ५ हजार रुपैयाँ पुर्‍याउने भन्ने विषयमा स्रोतको पूर्ण आकलनपछि अबेर राति निश्चित हुनेछ,’ अर्थ स्रोतले भन्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ महिना अगाडि नै यस पटकको बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गरिसकेका छन् । हाल वृद्धवृद्धाले मासिक ३ हजार रुपैयाँका दरले भत्ता पाउँदै आएका छन् । यो सरकारले निकै प्रचार गरेको रेलमार्ग र जलमार्ग विस्तारमा पर्याप्त बजेट विनियोजन गरिएको छ । वितरणमुखी भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै बजेट बढाइएको छ । सार्वजनिक खर्चमा मितव्ययिता भन्दै केही प्रस्ताव पनि गरिँदै छ ।

चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत कम बजेट थियो । कम अंकको बजेटसमेत खर्च गर्ने क्षमता नभएपछि अर्थमन्त्री विष्णु पौडेलले मध्यावधि समीक्षामार्फत ८.८ प्रतिशतले बजेटको आकार घटाएका थिए । यस वर्ष १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ मात्रै खर्च गर्ने अनुमान अर्थले गरिसकेको छ । यसमध्ये गत बिहीबारसम्म ८ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ मात्रै सरकारले खर्च गर्न सकेको छ ।

मध्यावधि समीक्षामा जनाएअनुसारको लक्ष्य पूरा गर्न आगामी डेढ महिनामा करिब साढे पाँच खर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । त्यति खर्च हुने सम्भावना देखिँदैन । चालु वर्ष वास्तविक बजेट खर्च बढीमा ११ खर्ब रुपैयाँ हुने अनुमान छ । अर्थविद्हरूले यो तथ्यांक देखाउँदै साढे १२ देखि १४ खर्ब रुपैयाँभित्रको बजेट ल्याउनुपर्ने सुझाव सरकारलाई दिएका छन् । तर त्यसलाई बेवास्ता गर्दै मतदाता प्रभावित पार्ने केही कार्यक्रम समावेश गरेर ठूलो बजेट ल्याइँदै छ, जुन अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै बजेट जस्तो हुनेछ ।

प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब छ । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरू, पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेटबारे सरकारलाई खबरदारी गरेका थिए । शुक्रबार चार पूर्वप्रधानन्यायाधीशले जारी गरेको संयुक्त वक्तव्यमा समेत पूर्ण आकारको बजेट ल्याउन नहुने उल्लेख थियो ।

‘बारम्बार विघटन गरी संसद् (प्रतिनिधिसभा) लाई अकारण दण्डित गरी अध्यादेशको खोलो बगाई कामचलाउ बजेट मात्र ल्याउनुपर्नेमा पूर्ण बजेटलाई विधिको उपहाससमेत गरिएको छ,’ पूर्वप्रधानन्यायाधीशहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कात्तिक २६ र मंसिर ३ का लागि मध्यावधि निर्वाचनको घोषणा भइसकेको छ । उक्त निर्वाचन प्रभावित पार्ने गरी सरकारले पूर्ण र ठूलो आकारकै बजेट सार्वजनिक गर्ने भएको हो ।

प्रकाशित : जेष्ठ १५, २०७८ ०६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×