चीनद्वारा सर्वदलीय अन्तर्क्रिया

सबैभन्दा ठूलो पार्टी भएपछि नेकपासँगै चीनले सहकार्य गरेको थियो, नेकपा नै नरहेपछि अरुसाग पनि सहकार्य गर्न खोजेको देखिन्छ । – श्रीधर खत्री, भूराजनीतिविज्ञ

बेइजिङ, काठमाडौं — करिब दुई तिहाइ बहुमतसहित सत्तासीन नेकपा फुटेपछि उत्तरी छिमेक चीनले नेपालका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्न खोजेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले २०७५ सालदेखि नेकपासँग मात्र सहकार्यमा जोड दिँदै आएकामा नेपालको आन्तरिक राजनीतिमा फेरबदल आएपछि पहिलोपटक यहाँका लगभग सबै मुख्य राजनीतिक दलसँग एकसाथ छलफल गरेको छ ।

चीनद्वारा सर्वदलीय अन्तर्क्रिया

सीपीसीको अन्तर्राष्ट्रिय विभागले बुधबार गरेको दुई मुलुकबीचको भर्चुअल कार्यक्रममा नेकपा एकतापूर्वको अवस्थामा पुगेर ब्युँतिएका एमाले र माओवादी केन्द्रका साथै कांग्रेस, जसपा, नेमकिपा, राप्रपालगायत दल समेटिएका थिए । कोरोना भाइरसविरुद्ध दुई मुलुकका राजनीतिक दलहरू एकजुट भएर लाग्ने विषयमा भएको भर्चुअल कार्यक्रमको संयोजन सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले गरेका थिए । नेपालका तर्फबाट माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता नारायण खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलगायत नेता सहभागी थिए । एक पार्टीबाट एकभन्दा बढी नेता पनि सहभागी थिए ।

भूराजनीतिविज्ञ श्रीधर खत्रीले नेपालको राजनीतिक अवस्थामा परिवर्तन आएपछि सबै पक्षसँग सहकार्य गरेर जानुपर्छ भन्ने निष्कर्षमा पुगेको यो छलफलबाट अनुमान गर्न सकिने बताए । उनका अनुसार पञ्चायतका बेला राजासँग सहकार्य गरेको चीनले २०४६ सालमा प्रजातन्त्र आएपछि पनि संवैधानिक राजतन्त्रलाई नै आफ्नो नजिकको मित्र मानेको थियो । ‘राजतन्त्र गएपछि पहिलो पटक नेपालमा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा बनेपछि चीनले उसैसँग सहकार्य गरेको थियो । विवादले नेकपा नै एक नरहेपछि नेपालका सबै स्टेकहोल्डरसँग सहकार्य गर्न खोजेको देखिन्छ,’ खत्रीले थपे ।

पछिल्ला दुई वर्षमा चीनको कम्युनिस्ट पार्टीले आफ्नो अन्तर्राष्ट्रिय विभागमार्फत तत्कालीन नेकपासँग मात्रै पटक–पटक कार्यक्रम गरेको थियो । २०७६ असोज ६ र ७ गते काठमाडौंमा सी चिनफिङ विचारधारामाथि सीपीसी र नेकपाबीच छलफल भएको थियो, जसमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओलगायत सहभागी थिए ।

सोही कार्यक्रममा तत्कालीन नेकपाका विदेश विभाग प्रमुख नेपाल र सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङले दुई पार्टीबीच भ्रातृ सम्बन्ध स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । यस्तै, २०७७ असारमा सीपीसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको संयुक्त आयोजनामा पार्टी र देश सञ्चालनका विषयमा अनुभव आदानप्रदान गर्न उच्च पदाधिकारीबीच भर्चुअल गोष्ठी भएको थियो । त्यसमा तत्कालीन नेकपाका अध्यक्षका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए ।

तत्कालीन नेकपालाई फुटबाट जोगाउन चिनियाँ पक्षले सहजीकरणसमेत गरेको थियो । ओलीले २०७७ पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनउन्मुख देखिएलगत्तै पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न भन्दै चिनियाँ टोली आएको थियो । सीपीसीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोलीले त्यतिबेला नेकपाका नेताहरूका अतिरिक्त कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेको थियो ।

चीनका लागि पूर्वराजदूत टंक कार्की भने नेकपा फुटेर वा सत्तारूढ दल कमजोर भएर नै चीनले नेपालका अन्य दलसँग सम्बन्ध राख्न खोजेको भन्ने तर्क अस्वीकार गर्छन् । ‘चीन अहिले विश्वकै एक नम्बरको शक्तिशाली बन्ने तयारीमा रहेको मुलुक हो । नेपाल छिमेकी मुलुक पनि भएका नाताले उसका रणनीतिक कुरा पनि हुन्छन्,’ उनले भने, ‘त्यसैले उसले सबैसँग सुमधुर सम्बन्ध राख्न चाहेको हो ।’

चीनसँग सहयोगको अपिल

सीपीसीको अन्तर्राष्ट्रिय विभागले बुधबार आयोजना गरेको भर्चुअल छलफलमा नेपालका राजनीतिक दलहरूले कोरोना महामारीको दोस्रो लहर चलिरहेको जनाउँदै चीनसँग सहयोगको अपिल गरेका थिए । छलफलमा सहभागी सबैजसो राजनीतिक दलका नेताले चीनको महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै स्वास्थ्य सामग्री सहयोगको अपेक्षा राखेको बताएका थिए ।

‘महामारीविरुद्ध संयुक्त संघर्ष तथा जनताको जीवनरक्षा, नेपाल–चीन राजनीतिक पार्टीबीच महामारीविरुद्ध संयुक्त लडाइँ’ विषयक छलफलमा सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले कोरोना महामारी विश्वव्यापी संकट भएको उल्लेख गर्दै सबै मुलुक मिलेर यसको सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको बताएका थिए ।

उनले महामारी नियन्त्रणका लागि जनताको जीवनलाई प्राथमिकतामा राख्नुपर्ने, चुनौती सामना गर्न एकीकृत समन्वय हुनुपर्ने, मन–मन जोडेर शक्तिका साथ जुट्नुपर्ने र दृढ योजना अघि सार्नुपर्ने सुझाव दिए । सोङले छलफलमा विभिन्न दलका नेतालाई देखेपछि महामारीका बेला मनमुटाव बिर्सिएको आभास भएको बताए । ‘आज नेपाली नेताहरूले बैठकमा भाग लिँदा महामारीविरुद्ध संयुक्त अठोट देखिएको छ । यस्तो संकटका बेला आपसी मतभेद बेवास्ता गर्नुपर्छ,’ उनले भनेका थिए ।

उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरेलले नेपालमा कोभिडको दोस्रो लहर फैलिएको जानकारी गराउँदै सीमित स्वास्थ्य संरचनाले थेग्न नसक्ने अवस्था आएको बताएका थिए । ‘नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष सहयोगको अपिल गरेको छ,’ उनले भनेका थिए, ‘चीनको सहयोगप्रति नेपाल आभारी छ । चीनले निरन्तर सहयोग गरिरहनेमा नेपाल आशावादी छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महामारीका बेला नेपालमा अक्सिजन, अस्पताल शय्या तथा महामारी नियन्त्रणका सामग्रीको अभाव रहेको र संक्रमण दर बढिरहेको बताए ।

सर्वसाधारणको जीवनरक्षक सामग्री पठाएकामा चीनप्रति कृतज्ञता व्यक्त गर्दै उनले ६ वर्षअघिको भूकम्पमा चीनले गरेको जस्तै सहयोग महामारीका बेला पनि छिमेकी मुलुकहरूबाट पाइरहेको बताए । ‘कोरोनाको दोस्रो लहरमा अनिश्चितता बढी छ । यो अभाव पूर्तिमा चीनले सघाएको छ,’ उनले भनेका थिए, ‘नेपाली जनताले कोरोनाविरुद्ध खोपको अपेक्षा गरिरहेका छन् ।’

कांग्रेस नेता नारायण खड्काले नेपाल अहिले स्वास्थ्य संकटमा परिरहेको उल्लेख गर्दै ठूलो संख्यामा मानवीय क्षति भइरहेको जानकारी दिए । उनले कांग्रेसलाई मास्क सहयोग गरेकामा नेपालस्थित राजदूत होउप्रति कृतज्ञता जनाए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले तीव्र प्रतिक्रियाको नीतिका कारण चीनले महामारी नियन्त्रणमा लिएको उल्लेख गर्दै नेपालमा स्वास्थ्य सामग्रीको चरम अभाव रहेकोतर्फ चीनको ध्यानाकर्षण गराए ।

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलगायत अन्य नेताहरूले पनि महामारी नियन्त्रणमा चीनको सफलतालाई प्रशंसा गर्दै चिनियाँ सहयोगको अपेक्षा राखेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?