९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पहाडका गाउँ-गाउँमै कोरोना

—परीक्षण दायरा फराकिलो बनाउन नसक्दा धेरै संक्रमित बिनापरीक्षण नै बसिरहेका छन्
गाउँले बिरामी हुँदा जनप्रतिनिधि कोही पनि नआएको स्थानीयको गुनासो
विप्लव भट्टराईं, डम्बरसिं राई, आनन्द गौतम, रमेशचन्द्र अधिकारी

इलाम, खोटाङ, ताप्लेजुङ र धनकुटा — पूर्वी पहाडी जिल्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलिने क्रम बढे पनि परीक्षण पर्याप्त हुन सकेको छैन । कोरोना जस्तै लक्षणका बिरामीको संख्या पछिल्ला दिन ह्वात्तै बढेकाले थप जोखिम निम्तिएको छ ।

पहाडका गाउँ-गाउँमै कोरोना

इलामका ग्रामीण क्षेत्रसम्मै कोरोनाको प्रभाव देखिएको छ । गत वैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू गरेर आवतजावतमा नियन्त्रण गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । माइजोगमाई गाउँपालिका–४ को एउटा गाउँमा घरैपिच्छे संक्रमित छन् । संक्रमित हुनेमा २० देखि ८८ वर्ष उमेर समूहका छन् । केही दिनअघिदेखि नै गाउँमा रुघाखोकीको लक्षण देखिएर स्थानीय बिरामी पर्न थालेका थिए । यो गाउँपालिकामा १ जनाको ज्यानसमेत गएको छ ।

अहिलेसम्म परीक्षण दायरा फराकिलो बनाउन नसक्दा धेरै संक्रमित बिनापरीक्षण नै बसिरहेका छन् । लामो समयसम्म सन्दकपुर गाउँपालिकामा कोही पनि संक्रमित भेटिएनन् । तर शुक्रबार भने सन्दकपुर–१ आलुबारीमा ३ जनालाई पोजिटिभ देखियो । जिल्लाको माङ्सेबुङ, फाकफोकथुमलगायतका भित्री गाउँमा पनि संक्रमितको संख्या थपिँदै गएको छ । इलाममा अहिलेसम्म कोरोनाका कारण १६ जनाको ज्यान गइसकेको छ । जिल्लामा ६ सय ५४ जनामा संक्रमण देखिएकामा ७३ जना निको भएका छन् ।

यस्तै, कञ्चनजंघा हिमालको प्रवेशद्वार ताप्लेजुङको घुन्साका प्रत्येकजसो घरमा बिरामी छन् । स्थानीय पेमाल्हामु शेर्पाका अनुसार सुरुमा टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने र झाडापखाला चल्नेजस्ता लक्षण देखिएको छ । ‘यसरी बिरामी हुन थालेको १५/२० दिन भइसक्यो, कसैको परीक्षण भएको छैन,’ उनले भनिन् ‘कोही बिरामी नै छन्, कोही निको हुँदैछन् । मचाहिँ बल्लबल्ल अलिअलि उठ्न थालेको छु ।’

गाउँपालिकाको केन्द्र तापेथोक यो बस्तीबाट एक दिनको पैदलमा छ । तापेथोकबाट घुन्सा जाँदा उकालो हिँड्नुपर्ने भएकाले डेढदेखि दुई दिनसम्म पनि लाग्छ । गाउँले सबै बिरामी हुँदा गाउँपालिका र वडाका जनप्रतिनिधि कोही पनि नआएको स्थानीयको गुनासो छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्साको पीडा यस्तो भए पनि आठराई त्रिवेणी, पाथीभरा याङवरक र सिरिजंगा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष भने स्वास्थ्यकर्मी लिएर वडा–वडामा पुगेका छन् । गाउँमा संक्रमित निकै बढेको पाइएको सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए ।

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाका अनुसार प्रत्येक वडामा परीक्षण गरेर त्यहीअनुसारको नियमन सुरु गरिएको छ । पाथीभरा याङवरकका अध्यक्ष केशर मेन्याङ्बोले संक्रमित भएको क्षेत्र छुट्याएर सिल गर्न थालेको बताए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले ४ सय ७१ जना संक्रमित छन् । ८६ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

धनकुटामा पनि समुदायस्तरमा संक्रमण तीव्र फैलिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबारसम्म जिल्लामा ७ सय ५६ जना संक्रमित छन् । तीमध्ये एक महिनाको अवधिमा पाँच सयभन्दा बढी संक्रमित थपिएका हुन् । सक्रिय संक्रमित ४ सय ९० छन् । संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका क्षेत्रमा सुरुवाती समयमा ह्वात्तै संक्रमण बढे पनि पछिल्लो समय अन्य पालिकाका ग्रामीण क्षेत्रमा तीव्र रूपमा संक्रमण फैलिएको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागार्इंले जानकारी दिए । चौबिसे गाउँपालिका, सहिदभूमि गाउँपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, पाख्रिबास नगरपालिका, साँगुरीगढी गाउँपालिका र धनकुटा नगरपालिका बढी प्रभावित छन् ।

हेलिकप्टर चार्टर गरेर अस्पताल

खोटाङमा राम्रो उपचार व्यवस्था नहुँदा संक्रमित हेलिकप्टर चार्टरमार्फत सुविधा सम्पन्न अस्पताल जान बाध्य भएका छन् । तीन दिनदेखि दिक्तेल अस्पतालमा उपचाररत दिक्तेल–१ का ६४ वर्षीय पुरुषलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनले ३ लाख ५० हजार रुपैयाँमा चार्टर गरेको उनका आफन्तले बताएका छन् । उनको काठमाडौंस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

ऐंसेलुखर्क–३ का संक्रमित पनि हेलिकप्टर चार्टर गरेरै थप उपचारका लागि काठमाडौं गएका छन् । गत जेठ १ गते कोरोनाले ज्यान गुमाएका ७८ वर्षीयका तीन आफन्त ३ लाख २० हजार रुपैयाँमा हेलिकप्टर चार्टर गरी काठमाडौं गएका हुन् । जिल्लाका सबै पालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । बिहे, भोज, पर्व, निर्माणका काममा भीडभाड हुनुले संक्रमण फैलिएको हो । अझै पनि जमघटका गतिविधि नरोक्ने हो भने थप जोखिम निम्तिने स्थानीय हेमविक्रम राईले बताए । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार जिल्लामा ५ सय ५० जनामा संक्रमण देखिएको छ । यसमध्ये ४ सय ९६ जनामा सक्रिय संक्रमण देखिएको छ । उनीहरूमध्ये ४ सय ५६ जना होम आइसोलेसनमा र ३१ जना विभिन्न स्वास्थ्य संस्थाहरूको आइसोलेसनमा छन् ।

प्रकाशित : जेष्ठ १२, २०७८ २२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षा हटाउने शिक्षा विधेयकको प्रावधानबारे संसदीय समितिमा बहस चलिरहेको छ । तपाईंको राय के छ ?