हराउँदै नेपालका ओंत

कालो ओंत(युरेसियन ओटर), खैरो ओंत(स्मुथ कोटेड ओटर) र सानो ओंत(एसियन स्मल क्लड ओटर) गरेर तीन प्रकारका पाइए पनि हाल नेपालमा कालो र खैरो ओंत मात्रै भेटिएका छन् ।
यस वर्षको अप्रिलमा पनि ओंतको फैलावटसम्बन्धी आईयूसीएनले अध्ययन गरेको थियो । घ्याङ्फेदीदेखि देवघाटसम्म क्यामेरा ट्रयापिङ र सर्भे गरिएको थियो । तर ओंतको कुनै संकेत भेटिएन ।
गोविन्द पोखरेल

काठमाडौँ — हरेक वर्षको मे महिनाको अन्तिम बुधबार विश्व ओंत दिवसको रुपमा मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस मनाइने गरिन्छ । ओंत जैविक पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने एक मासांहारी जीव हो ।

हराउँदै नेपालका ओंत

जल र जमिनबीचको पौष्टिक चक्रलाई सन्तुलन राख्न यिनको भूमिका हुने गर्दछ । यो स्तनधारी जीव ३ करोड वर्षदेखि पृथ्वीमा छन् ।

विशेष गरेर दिउँसो र मानिसहरुको भीडभाड नभएको बेलामा यिनीहरु आहारको खोजी गर्न निस्कन्छन् । नदी किनारका झाडीहरु यिनको मुख्य बासस्थान हो । ओंतलाई परास्थितिक प्रणालीको सूचकका रुपमा पनि लिने गरिन्छ । सीमसार र नदी क्षेत्रको स्वच्छ पानीको सूचकको रुपमा यिनलाई लिने गरिन्छ । नदी किनार र सीमसार क्षेत्रहरुमा यी जीवहरु पाइए उक्त क्षेत्र सफा र स्वच्छ भएको रुपमा लिइन्छ ।

जुलाईदेखि अक्टोबर ‌ओंतको प्रजनन्‌ समय हो । नदीमा ठूलो भंगालोमा हुँदा बच्चाहरुको स्याहारसुसार गर्दै यिनीहरु सानो भंगालोमा बस्छन् । वर्षायाममा पनि यिनीहरु नदीको सानो भंगालोछेउछाउ बस्छन् । एक पटकमा यिनीहरुले २ देखि ४ वटासम्म बच्चा जन्माउने प्राणिशास्त्रका प्राध्यापक पारसमणि आचार्यले बताए । ओंतका बच्चा एक वर्षसम्म आमासँगै बस्छन् । तराईका नदी किनार र सीमसारमा पाउने खैरो ओंतको पञ्जा लामो र गोलो हुन्छ भने पहाडमा पाउनेको सानो । पञ्जामा हुने नंग्रा यिनीहरु शिकार गर्न प्रयोग गर्छन् ।

बाघजत्तिकै महत्व बोकेको यो जीवको नेपालमा अनुसन्धान र संरक्षणमा कम प्राथमिकता दिइएको छ । विश्वमा १३ प्रजातिका ओंतहरु पाइने गरे पनि नेपालमा भने ३ प्रजाति पाइन्छन् । तीमध्ये कालो ओंत(युरेसियन ओटर) सन् १९९१ पछि बेगनास र रुपा तालमा भेटिएको छैन र खैरो ओंत १९९८ देखि राप्ती नदी र २०१० पछि नारायणीमा देखा परेका छैनन् ।

बेलायती अन्वेशक हड्सनपछि नेपालमा प्राध्यापक आचार्यले कालो ओंत फेला पारेका थिए । सन् १९९१ सालमा उनले कास्कीको बेगनास र रुपा तालमा यो स्तनधारीलाई फेला पारेका थिए । १९९८मा प्रह्लाद योञ्जनले पश्चिम सेतीमा वातवरणीय प्रभाव मूल्यांकन गर्दा युरेसियन ओटर पाइने उल्लेख गरेका छन् । यो ओंतलाई जुम्ला र हुम्लाहरुबाट आउने सिकारीहरुले मारेर छाला काटी बेच्ने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । योञ्जनले पश्चिमा सेतीमा युरेसियन ओंत पाउने गरेको उल्लेख गरे पनि त्यस सम्बन्धि कुनै संकेत र तस्बिरहरु प्रतिवेदनमा भने छैन । उक्त प्रतिवेदनमा ड्याम निर्माण भएपछि माछाको संख्या वृद्धि हुने र ओंतको पनि वृद्धि हुने उल्लेख छ । उनको उक्त प्रतिवेदनपछि पश्चिम सेतीमा ओंत भेटिएको छैन ।

नेपालमा ३ प्रकारका पाइने गरेको उल्लेख गरे पनि दुई प्रकारका भेटिएका छन् । कालो ओंत(युरेसियन ओटर), खैरो ओंत(स्मुथ कोटेड ओटर) र सानो ओंत(एसियन स्मल क्लड ओटर) गरेर तीन प्रकारका पाइए पनि हाल नेपालमा कालो र खैरो ओंत मात्रै भेटिएका छन् । कालो ओंतलाई आईयूसीएनले निकट भविष्यमा लोप हुन सक्ने प्रजातिमा राखेको छ भने साइटिसको अनुसूची १ मा कालो र खैरो ओंत र अनुसूची २ मा सानो ओंत छ ।

सानो ओंत हड्सनले मात्रै देखेको आचार्य बताउँछन् । त्यसबेला हड्सनले उक्त ओंत कुनै एक माझीसँग खरिद गरेर नेपालमा पाइने भनेर उल्लेख गरेका थिए । नेपालको तराई क्षेत्रमा भेटिएको उल्लेख गरे पनि कुन ठाउँमा भने हड्सनले नखुलाएको प्राध्यापक आचार्यले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जको तीनकुने क्षेत्रमा गत वर्षको फागुनमा देखिएका खैरो ओंत । तस्बिर सौजन्यः नरेश सुवेदी ।

नेपालमा यी स्तनधारीहरुको फैलावटको बारेमा धेरै कम अनुसन्धान भएका छन् । पछिल्लो समय नेपालमा खैरो ओंत मात्रै भेटिएको छ । पश्चिम नेपालदेखि बर्दिया राष्ट्रिय निकुञ्जदेखि पश्चिम शुक्लाफाँटा क्षेत्रका सीमसार र नदीमा यिनीहरु पाइएका छन् । निकुञ्जभन्दा बाहिर कैलालीको बन्जाडा तालमा पनि खैरो ओंत भेटिएको छ ।

विगत ३० वर्षदेखि नेपालमा ओंतको खोजी, अनुसन्धान र संरक्षणमा लाग्दै आएका प्राध्यापक आचार्य यो जीवको संख्या नेपालमा कम हुँदै गएको अनुमान गर्छन् । सन् १९८८ नारायणी नदीमा पहिलो पटक ओंतसम्बन्धी अनुसन्धान गरिएको थियो । त्यो अनुसन्धानले नारायणी नदी क्षेत्रमा धेरैले ओंतहरु भेटिएको जनाएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी क्षेत्रबाट यो जीव सन् २०१० देखि देखिन छाडेका छ । बढ्दो प्रदूषण र मानवीय चापका कारण नारायणी नदीमा ओंतहरु देखिन छाडेको २०१० मा इटालीबाट प्रकाशित हुने हिस्ट्रिक्स जर्नलमा उल्लेख छ । उनी भन्छन्,' नारायणी र राप्ती मिसिने स्थलमा ओंतहरु धेरै भेला भएको देखिन्थ्यो । राप्ती नदीमा १९९८मा पत्ता लगाएको थिएँ त्यसपछि देखिएका छैनन् ।'

पुराना अनुसन्धान प्रतिवेदनले नेपालका कोसी, नारायणी, कर्णाली र महाकालीमा ओंतहरु पाइने उल्लेख छ । प्राध्यापक आचार्यकै सन् २०१० को अनुसन्धानले यसको भौगोलिक फैलावटमा कमी आएको देखाएको छ ।

नेपालमा यो प्रजातिको बारेमा सामान्य किसिमका अनुसन्धानहरु मात्रै हुने गरेका छन् । विशेष गरेर यसको फैलावट तराईदेखि उच्च पहाडी क्षेत्रसम्म छ । यस वर्षको अप्रिलमा पनि ओंतको फैलावटसम्बन्धी आईयूसीएनले अध्ययन गरेको थियो । घ्याङ्फेदीदेखि देवघाटसम्म क्यामेरा ट्रयापिङ र सर्भे गरिएको थियो । तर ओंतको कुनै संकेत भेटिएन ।

बर्दिया निकुञ्जभिको खौराहा नदी सन् २०११मा देखिएको खैरे ओंत । तस्बिर सौजन्यः सुशाने कोल

हाल नेपालमा खैरो ओंत बबई नदीमा किनारमा देखिरहन्छन् । कर्णाली नदीको चिसापानीदेखि छुट्टिएका मुख्य तीनवटा भंगालाहरुमध्ये खोराहामा धेरै ओंतहरु देखिने प्राध्यापक आचार्य बताउँछन् । जंगलको बीचबाट बग्ने र मानवीय अतिक्रमण कम हुँदा त्यहाँ धेरै ओंतहरु देखिएका हुन् । उक्त क्षेत्रमा घाँसे मैदान पनि पर्याप्त छ । आहारा पनि धेरै भएकाले ओंतहरु धेरै देखिएको हो ।

पछिल्लो समय यो जीव औद्योगीकरण र बासस्थान विनाशका कारण लोप हुँदै गएको छ । यो जीवको मुख्य आहारा माछा हो । माछा नभएको बेला यसले अन्य जीवहरु जस्तै, भ्यागुताका प्रजातिहरु, चराहरु तथा किरालाई खाने गर्छ । प्राकृतिको यो सूचक जीव पछिल्लो समय मानवनिर्मित समस्याका कारण लोप हुने अवस्थामा पुगको अनुसन्धानकर्मी एवं रिसोर्सेस हिमालय फाउण्डेशनका कार्यकारी निर्देशक डा. दिनेश न्यौपानले बताए । अनुसन्धानकर्ता न्यौपानेले भने,' यो वर्ष हामीले आईयूसीएनको सहयोग र समन्वयमा रसुवाको सूर्य कुण्ड, गोसाईंकुण्ड हुँदै नुवाकोटको देवघाटसम्म क्यामेरा ट्रापिङ प्रक्रियाबाट ओंतको सर्वेक्षण गरिरहेका छौं । तर प्रारम्भिक नतिजामा कुनै संकेत भेटिएको छैन ।'

नेपालमा ओंतको चोरी सिकारी पनि हुने गरेको पाइन्छ । २०७३ सालमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमडौंबाट २ जनालाई युरेसियन ओंतको छालासहित दुई जनालाई पक्राउ गरेको थियो ।ओंतलाई युरोप र अमेरिकामा शुद्ध जनावरको रुपमा समेत लिने गरिन्छ ।

बंगलादेशमा यसलाई मानिसहरुले घरमै पालेर माछा मार्नका लागि प्रयोग समेत गर्ने गरेको पाइएको छ । मछुवारहरुले यसलाई पालेर माछामा मार्ने काममा प्रयोग गर्ने गरेको पाइन्छ । त्यहाँका ओंतको प्रयोग गरेरि माछा मार्ने थालिएको एक शताब्दी भइसकेको टाइमको रिपोर्टमा उल्लेख छ । ओंत चोरी सिकारी विशेष गरेर छाला र मासुका लागि हुने गरेको पाइन्छ । चीन र भियतनामा यसको छालाको माग धेरै नै रहेको छ ।

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका अनुसार अचेल ओंतहरुको संख्या नेपालका संरक्षण क्षेत्रभित्र र बाहिर कम हुँदै गएका छन् । यसको मुख्य कारण नदी क्षेत्रमा जाल हानेर माछा मार्ने कार्य हो । मुख्य आहारामै कमी हुँदा यिनीहरुको संख्या पनि घट्दै गएको बुझ्न सकिन्छ । नदी क्षेत्रमा हुने नदीजन्य पदार्थको उत्खन्नले पनि यिनको बासस्थान विनाश हुँदै गएको छ । जथाभावी रुपमा ढुंगा,बालुवा,गिटी खानी सञ्चालन हुँदा बासस्थानलाई असर मात्रै गरेको छैन लोप हुने सम्भावना समेत बढाएको अनुसन्धानकर्मीहरु बताउँछन् ।

सहर तथा उद्योगबाट निस्कने फोहोर नदीहरुमा मिसिँदा जल प्रदूषण हुन्छ । यसले पनि यिनको संख्या घट्दै गएको छ । नदीमा विद्युत्बाट माछा मार्दा,जाल हानेर माछा मार्ने कार्यले पनि ओंतको संख्या घट्दै गएको देखिन्छ ।

प्रकाशित : जेष्ठ १२, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?