कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अस्पतालको लापरबाहीले बाबालाई गुमाउनु पर्‍यो : कमेडियन आदर्श मिश्र

'एनएमसी र नारायणी अस्पतालले मिलेर खाइदिए एउटा मान्छेको जीवन । अब कतिजनाको खान्छन् मलाई थाह छैन ।'
रीना मोक्तान

काठमाडौँ — कमेडियन आदर्श मिश्रले वीरगन्जको नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पतालको लापरबाहीले आफ्ना पिता विनोद मिश्रको ज्यान गएको आरोप लगाएका छन् । 

अस्पतालको लापरबाहीले बाबालाई गुमाउनु पर्‍यो : कमेडियन आदर्श मिश्र

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले दुई अस्पतालको लापरबाहीले बुबाको ज्यान गएको आरोप लगाएका हुन् । 'बाबा हुनुहुन्न अब । अनि मेरो बाबाको अवस्था यस्तो हुनुको पुरै जिम्मेवार म नेसनल मेडिकल कलेज ‍(एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु । किनभने बाबालाई दुई हप्ताअघि डायलसिसका लागि लैजाँदा एसपीओ टु (अक्सिजन स्याचुरेसन) ९० छ, तपाईंको डायलसिस यहाँ हुँदैन भनेर अस्पतालबाट निकालिदिएको हो,' उनले भनेका छन्, 'चार वर्ष मेरो बाबाले एनएमसीमा डायलाइसिस गराउनुभएको हो । डायलसिसबापत ३५ सय सरकारबाटै तिनीहरुले उठाएको हो । कमाउने बेला तिमीहरूले कमाउने ? बिरामीलाई गाह्रो भएको बेला धपाइदिने ? त्यहाँ मेसिन र डायलुजर केही पनि काम लाग्दा छैनन् ।'

एनएमसीको डायलसिस मेसिनलगायतको कन्ट्याक्ट लिएको नेफ्रो प्लस (भारतीय कम्पनी)ले पैसा बचाउन धाँधली गरेको पनि उनले आरोप लगाएका छन् । 'गर्त वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा त्यहाँको डायलसिस बिरामीलाई एनएमसीमा सिफ्ट गरिएको थियो । एक महिनाभित्र पाँचजना बिरामी मरेका थिए, डायलुजर मेसिन नफेरेर । नेफ्रो प्लसले पैसा बचाउन अत्यन्तै धाँधली गरिरहेको छ,' उनले भनेका छन्, 'एनएमसी अस्पतालाई गत वर्ष केन्द्रबाट २० प्रतिशत बेड कोभिड संक्रमित बिरामीका लागि छुट्याइदिनु भनेर निर्देशन आएको थियो । तर, एनएमसीले ‘म केन्द्रको आदेश मान्दिनँ’ भन्यो । किनभने एनएमसीको फाउन्डर बसुरिद्धिन अन्सारी हो । अनि, बसुरिद्धिन अन्सारी लास्टै नै पावरफुल मान्छे हो । उहाँको गुन्डागर्दी अति नै धेरै चल्छ । उहाँलाई केरमेट गर्ने कोही पनि छैन । बसुरिद्धिन यति पावरफुल मान्छे हो कि गत वर्ष केपी ओलीको मिर्गौला प्रत्यारोपणमा जति पनि खर्च भएको हो, व्यक्तिगत रुपमा सबै बसुरिद्धिनले व्यहोरेको हो ।'

एनएमसीको गुन्डागर्दीले आफूले बुवा गुमाउनु परेको उनको आरोप छ । 'अब हुनुहुन्न मेरो बाबा आज । यसको कुनै सुनुवाइ छैन । कोही पनि माथि छैन । छानबिन हुन्छ, हुँदैन । काठमाडौंबाट आएर ‘तँ एउटा मेडिकल कलेज चलाउनलाई योग्य छस् कि छैनस्’ भनेर चेक गर्ने कोही पनि छैन,' उनले भने,'पैसामात्रै भएर हुन्छ ! पैसा मात्र हुने भए त पैसैको त्यस्तो कमी थिएन मलाई । मान्छे हुन्थ्यो अहिले मेरो घरमा नि ! नारायणी अस्पतालले यस्तो बेलामा प्रतिशोधको कार्ड खेलिरहेको छ । नारायणी अस्पतालले के गरिरहेको छ भने यदि एनएमसीले आफ्नो बिरामीको डायलसिस आफै गर्दैन भने हामी किन गर्ने ?'

एनएमसीको नर्सको लापरबाहीलाई पनि उनले भिडियोमा उल्लेख गरेका छन् । 'एउटा मेसिन बिग्रिँदा त्यहाँ काम गर्ने नर्स दिदीले फोन गरेर भाइ दुवै मेसिन बिग्रियो भनेर अफवाह फैलाउनेलाई कारबाही हुने कि नहुने ?' भाइ, सूचना नै निकालिसक्यो । सूचना त आएकै थिएन,' उनी भन्छन्, 'डाक्टरले ब्रेनमा युरिया पुगिसक्यो चार घण्टा डायलसिस गर्दिनु भन्दाखेरी डाक्टरको अगाडि चार घण्टाको समय सेट गर्ने अनि डाक्टर गइसकेपछि तीन घण्टा बनाइदिने त्यसलाई । दिदी हजुरलाई छिटो घर पुग्नु थियो होला । तर, कोही मान्छे घर पुगेनन्, तपाईंको एक घण्टाको हतारले गर्दा ।'

रातभर डाक्टरलाई गुहार्दा पनि बुबा बचाउन नसकेको आदर्श बताउँछन् । 'बाबालाई बचाउन सकिन्थ्यो होला । गलत निर्णय लिए हुँला । काठमाडौं लिएर जानुपर्ने थियो होला । भरतपुर अस्पतालमा रातभरी डाक्टरलाई ‘सर १ सय ५ ज्वरो छ सर, बाबालाई होस छैन सर’ भनिरहें,' अवरुद्ध गलामा अस्पतालको समय उनी सम्झन्छन्,' उहाँले, ‘एसपीओ ठीक छ, भाइटल्स ठीक छ' भन्नुभयो । आईसीयूमा राख्दिनुन सर भन्दाभन्दै बिहानको १० बजे बुबा बित्नुभयो ।' एसपीओटुमात्रै ठीक भएर यदि कोभिडको उपचार हुने भए त अक्सिमिटर लिएर म नि डाक्टर हुन्थे नि सर, किन स्ट्यान्डअप गरिरहन्थे !'

किड्नी फेल भएको अवस्थामा पनि बुवा मिश्राले नवल विद्यालय सुविधायुक्त बनाएको उनको दाबी छ । त्यसैले उनी प्रधानमन्त्री केपी ओलीलाई कुर्सी छाड्न चुनौती दिन्छन् । 'केपी ओलीले त छोड्दिए हुन्छ नि कुर्सी । मेरो बाबा हप्ताको दुई दिन डायलसिस गराउन स्कुटर पछाडि बसेर गएको हो । तर पनि मेरो बाबाले चलाएको विद्यालय हेर अनि तिमीले चलाएको देश । अनि पनि लाज लाग्दैन भने मलाइ भन ।' थपे, 'काम गर्न दिएनन् मलाई भन्छौं । काम गर्न मन कहाँ छ तिमीलाई ? त्यो पर्दैन भन्दै बस्ने काम हो तिम्रो । भेडाहरू पछाडि जम्मा गर्‍या छौ । त्यही हुल बोकेर भारतको विरुद्धमा बोलेर ‘ब्याक अफ मोदी’ भन्नेबित्तिकै एक हुल नेपाली पछाडि लागिहाल्छन् । त्यही सेन्टीमेन्टमा जित्यौं तिमीले चुनाव । मधेसी नेताहरुभन्दा राम्रो छु भन्ने मात्र प्रमाणित गरेको हो तिमीले । तर, तिमी इत्ति नि राम्रो नेता होइनौं ।'

बाबा बितिसकेपछि परिवारसामु उनको मृत्युबारे ढाँट्न बाध्य भएको दु:ख उनले भिडियोमा पोखेका छन् । 'मैले धेरै ढाट्या छु घरमा । अनि यसपाली ढाट्नचाँहि जरुरी थियो । यसपाली ढाँट्दा समातिएको भए धेरै गाह्रो हुन्थ्यो । मेरो ममीले भित्तामा हात हान्ने टाउको ठोक्ने गरिसक्नुभएको थियो । अहिले पनि डिप्रेसनको औषधि खानुहुन्छ उहाँ,' उनले भनेका छन्, 'बाबाको शव जितपुर लिएर आउनुपर्ने भयो । बाबा बित्नुभयो भन्ने थाह पाउनुहुन्छ भनेर ममीलाई ‘यहाँ भेन्टिलेटर छैन, नारायणी अस्पतालमा व्यवस्था भएको छ, त्यहाँ जाऔं बाबाको उपचार त्यहाँ हुन्छ भनेर बाबाको शव लिएर गयौं ।'

प्रज्ञा प्रतिष्ठानमा बाबाको अघि स्ट्यान्डअप कमेडी गर्ने सपना अपूरो भएको भन्दै आदर्शले फेरि आफू खाँचोमा परेकाहरुको सहयोगमा जुट्ने प्रण गरे । 'एनएमसी र नारायणी अस्पतालले मिलेर खाइदिए एउटा मान्छेको जीवन । अब कतिजनाको खान्छन् मलाई थाह छैन। तर, लड्न प्रयास जारी राखौं । जति जीवन बचाउन सकिन्छ, बचाऔँ,' उनले भने, 'मबाट जति हुन्छ, म गर्न तयार छु । मलाई १०–१२ दिनको समय चाहिन्छ होला । किरियाकर्महरु सकिएर तपाईंहरुको सहयोग पोस्टहरु, अक्सिजन आवश्यकता पूरा हुन्छ ।'

प्रकाशित : जेष्ठ १२, २०७८ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?