३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख सापकोटा, नेम्वाङ अनुपस्थित

काठमाडौँ — प्रतिनिधिसभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरिरहेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटा पूर्वसभामुखहरूसँग छलफलमा बसेका हुन् । 

पूर्वसभामुखहरूसँग छलफलमा सभामुख सापकोटा, नेम्वाङ अनुपस्थित

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनका विषयमा पूर्वसभामुखसँग आफूले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिरहेका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार सभामुखले बोलाएको बैठकमा पूर्वसभामुख रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी छन् । त्यस्तै, पूर्वसभामुख तारनाथ रानाभाट भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी रहेको उनले बताए ।

संविधानसभा अध्यक्षसमेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने सभामुख सापकोटाले बोलाएको बैठकमा अनुपस्थित छन् । उनलाई बैठकमा बोलाइए पनि अनुपस्थित रहेको बताइएको छ ।

प्रतिनिधिसभा विघटनबारे अन्य पूर्वसभामुखहरूले असंवैधानिक भनेर आलोचना गरिरहेका बेला नेम्वाङ भने बोलेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट रहेका नेम्वाङ पुस ५ गतेको विघटनमा पनि मौन रहेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त कदमविरुद्ध प्रतिनिधिसभाका १ सय ४६ सांसद सर्वोच्च अदालतमा रिट लिएका गएका छन् । राष्ट्रपतिले भने मन्त्रिपरिषद्को सिफारिसमा कार्तिक २६ गते र मंसिर ३ गते गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेकी छन् ।

सभामुख सापकोटाले यसअघि विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?