३१ वर्षपछि अलग-अलग- समाचार - कान्तिपुर समाचार

३१ वर्षपछि अलग-अलग

झापा विद्रोहयता माले हुँदै अघि बढेको पाँच दशकको राजनीतिक यात्रामा आधा समयभन्दा बढी पार्टीको नेतृत्व गरेर प्रधानमन्त्रीसमेत भइसकेका खनाल र नेपाल एमालेबाट निष्कासित
बिनु सुवेदी

काठमाडौँ — एमालेको कार्यदलमा रहेका नेताहरू आइतबार मध्यरातिसम्म पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने छलफलमै थिए । राजधानीको एक होटलमा करिब २ घण्टा भएको वार्तामा तय भएका विषयवस्तुअनुसार सोमबार दिउँसो १२ बजे कार्यदलका सदस्यहरूले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने तय भएको थियो ।

तर त्यस्तो सहमति गरेकामध्ये घनश्याम भुसाल र सुरेन्द्र पाण्डे प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्न गएपछि ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाए । उनले आइतबारै नेता माधवकुमार नेपालसँगको सम्बन्ध ‘पास्ट टेन्स’ भइसकेको बताउँदै कारबाही गर्ने संकेत दिएका थिए । तर राति कार्यदलका सदस्यहरूको बैठकमा सहमतिको सम्भावना खोज्ने र मध्यमार्गी बाटो पहिल्याउने निधो भएको थियो ।

नेपालपक्षीय नेताहरू ओली समूहले यसअघि पनि महत्त्वपूर्ण घटनाक्रम हुने बेला संवादका नाममा अलमल्याएको र पछि वास्तै नगरेको भन्दै त्यस्तै चालबाजी हुन सक्ने निष्कर्षसहित बालुवाटार गएनन्, ओली समूहले त्यसलाई धोकाका रूपमा बुझ्यो । साँझ बसेको स्थायी कमिटी बैठकले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गर्‍यो । योसँगै २०४७ मा एमाले गठन हुँदा पोलिटब्युरो सदस्य भएर एकीकृत पार्टीको यात्रा थालेका खनाल–नेपाल राजनीतिक जीवनको उत्तरार्धमा एमाले छाड्नुपर्ने परिस्थितिमा पुगेका छन् ।

खनाल र नेपालले माले स्थापना गर्दा जेलमा रहेका ओली छुटेपछि २०४४ सालमा केन्द्रीय सदस्य बनेका थिए । झापा विद्रोहलाई माले गठनको प्रेरणा मानेका र एउटै पृष्ठभूमिको राजनीतिबाट माथि उठेका ओली र खनालको बाँकी राजनीतिक जीवन अब अलगअलग हुने लगभग निश्चित भइसकेको छ । एमालेको नेतृत्वमा सबैभन्दा लामो समय १५ वर्ष नेपाल थिए भने खनालले भूमिगत कालमा ५ वर्ष मालेको नेतृत्व गरे । २०६४ सालको संविधानसभा चुनावमा पार्टीले पराजय व्यहोरेपछि फेरि खनाल नै पार्टीको महासचिव बने । २०६५ को बुटवलमा भएको आठौं महाधिवेशनबाट पार्टी बहुपदमा गएपछि खनालले पहिलो अध्यक्ष बन्दै एमालेको नेतृत्व गरे ।

नवौं महाधिवेशनमा खनाल–नेपाल एकातिर हुँदा ओली अर्को गुटमा थिए । त्यही बेलादेखि नै तिक्त रहेको एमालेका यी पाका नेताहरूको सम्बन्ध माओवादी केन्द्रसँग एक भएर नेकपा बन्दा र नेकपा विभाजन भएर फेरि एमाले बन्दा पनि सुध्रिन सकेन । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टी एकताका लागि गरिएका तमाम प्रयासका बाबजुद पनि नेपाल समूह पार्टीविरोधी गतिविधिमा लागेपछि कारबाही गर्नुको विकल्प नभेटिएको बताए । ‘एकताका लागि छलफल, संवाद चलिरहेकै थिए, उहाँहरू अध्यक्षविरुद्धको मोर्चामा लाग्नुभयो,’ उनले भने, ‘चुनावको घोषणा भइसकेको छ, यस्तो बेला एकजुट हुनुपर्ने पार्टी अलगअलग हुँदा घाटा एमालेलाई नै हुने हो ।’

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठक । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय


सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई प्रधानमन्त्री पदबाट हटाउन हस्ताक्षरसहित समर्थन गर्नेजस्तो अनुशासनहीन, अराजक, अनैतिक र लोकतान्त्रिक पद्धतिविरुद्धको षड्यन्त्रमूलक क्रियाकलापमा संलग्न हुने अनुचित क्रियाकलापमा किन सहभागी हुनुपरेको हो भनेर सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि निष्कासन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । एमालेले सोमबार खनाल, नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, नीरादेवी जैरू र कलिला खातुनलाई निष्कासन गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका अरू १२ जनालाई एमालेले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधेको छ । तर उनीहरूले स्पष्टीकरण दिनेभन्दा पनि नयाँ पार्टी निर्माण गरेर अघि बढनुपर्ने मनस्थिति बनाइसकेका छन् । नेपालनिकट विद्यार्थी नेता जीवन राईले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिइसकेका छन् । उनले माग गरेको कलम चुनाव चिह्न रहेका खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा वाग्मती प्रदेशबाट विजयी भएका छन् । वरिष्ठ नेता खनालले ओलीको कारबाहीले आफूहरूलाई केही प्रभाव नपर्ने भन्दै नयाँ पार्टी खोल्ने जनाए । यो समूहको स्थायी कमिटी र सांसदहरूबीच बारम्बार बसेको बैठकले पनि नयाँ पार्टी खोल्ने र बृहत् वाम एकता गरेर अघि बढने निष्कर्ष निकालिसकेको छ ।

एमालेको निष्कासनमा परेका उपाध्यक्ष भीम रावलले पार्टीबाट निकाल्ने ओलीको निर्णय हास्यास्पद भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभएको थियो, त्यतिखेरै पार्टी फुटाउने उहाँको योजना थियो । भदौमा कार्यदलले पूरै कार्यकाल उहाँलाई नै प्रधानमन्त्री बनाएर भए पनि पार्टी जोगाउनुपर्छ भनेर हामी लाग्यौं,’ उनले भने, ‘तर विदेशी गुप्तचरलाई मध्यरातमा मन्त्रणा गरेका ओलीलाई पार्टी एकता कायम राख्नु थिएन । हामी उहाँको क्रियाकलापविरुद्ध उत्रिन्छौं । कारबाहीका निर्णयको कुनै अर्थ छैन । हामीलाई यसअघि पनि पटकपटक स्पष्टीकरण सोधिएकै हो ।’

गत फागुन २३ मा सर्वोच्चको फैसलाले एमाले पुनःस्थापित भएपछि पार्टीभित्रै अन्तरसंघर्ष गर्ने निष्कर्ष खनाल–नेपाल समूहका नेताहरूको थियो । तर फागुन २८ गते एकलौटी बैठक बसेर ओलीले निर्णय गरेपछि एमालेको एकताको सम्भावना खलबलियो । नेपाल समूह पनि चैतभरि पार्टीको समानान्तर कमिटी गठनमा केन्द्रित भयो ।

वैशाख पहिलो साता कोरोनाको महामारी तीव्र हुनुअघिसम्म खनाल–नेपाल समूहले ६६ जिल्लामा समानान्तर कमिटी बनाइसकेको छ । अधिकांश जनवर्गीय संगठन निर्माण गरेको छ । तर दोस्रो पुस्ताका मध्यमार्गी नेताहरूले एमाले एकता कायम राख्ने भन्दै प्रयास गर्दै आएका थिए । वैशाख ३० गते ओली र नेपालबीच भएको छलफलमा कार्यदल गठन गर्ने सहमति भएपछि एकताको सम्भावना बढेको थियो । वाग्मती प्रदेशमा नेपालले उम्मेदवार बनाएका खिमलाल देवकोटा विजयी भएपछि पनि ओली र नेपालबीच संवाद भएको थियो ।

त्यतिखेर नेपाल आफैंले ओलीलाई फोन गरेर राष्ट्रिय सभाको परिणामबाट पार्टी एकता भाँडिने गरी निर्णय नगर्न आग्रह गरेका थिए । नेपालको उक्त आग्रहमा ओली पनि सहमत नै देखिएको ओलीनिकट स्रोतको दाबी छ । तर नेपालसहितका सांसदले गठबन्धनको सरकार बनाउन कांग्रेस सभापति देउवालाई सघाउने निर्णय गरेपछि एकताको सम्भावना टरेको निष्कर्ष ओलीको थियो । लगत्तै ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरे । त्यसविरुद्ध पनि नेपाल पक्षका सांसद अदालतमा पुगे ।

‘गत चैत १६ गते नेपाल र रावल तथा १९ गते घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गर्दा अध्यक्षले त्यसको आधार पुष्टि गर्ने ठाउँ थिएन, त्यो फिर्ता पनि भयो,’ ओलीनिकट एक नेताले कान्तिपुरसित भने, ‘अहिले त कारबाही नगर्दा किन कारबाही भएन भनेर प्रश्न उठ्ने गरी साथीहरूले गतिविधि गर्नुभयो, बाध्य भइयो ।’

२०५४ मा विभाजन भएर २०५८ मा मिलेको एमाले नेताहरूको पछिल्लो गतिविधिसँगै दोस्रो पटक फुटको संघारमा पुग्दा अधिकांश समय संस्थापन रहेर पार्टीमा नेतृत्व गरेका नेताहरू नै एमालेमा नरहने देखिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

‘रगत नपाए बुटवल जानू’

सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीका अस्पताल, आइसोलेसन सेन्टर र घरमा कोरोना संक्रमित छन् । अस्पताल भर्ना भएका संक्रमितलाई अक्सिजन र रगत अभाव भइरहेको छ । त्यस्ता बिरामीलाई औषधिसँगै रगत (प्लाज्मा) आवश्यक पर्ने गरेको चिकित्सक बताउँछन् । त्यसैले जिल्लाका अस्पतालमा रगत अभाव हुन नदिन यहाँका रक्तदाता दिनरात लागिपरेका छन् । 

स्वयंसेवी रक्तदाता समाजका संस्थापक बुटवलका कृष्ण चौहान रक्तदाताका साथ । तस्बिर : कान्तिपुर

यहाँ क्रियाशील विभिन्न संस्था, सञ्जाल र व्यक्ति रगत संकलनमा जुटिरहेका छन् । २०७० सालदेखि स्वयंसेवी रक्तदाता समाज नामक संस्था स्थापना गरेर आवश्यकताअनुसार संकलन र बिरामीलाई उपलब्ध गराउँदै आएका बुटवलका कृष्ण चौहानलाई निषेधाज्ञामा पनि फुर्सद छैन । बिहान, दिउँसो वा राति उनी रगत संकलन गर्न खटिरहेका छन् । रगत आवश्यक परेको जानकारी आउनासाथ साथीभाइलाई फोन गर्ने र संकलन गर्न पुगिहाल्छन् । टेलिफोनमा धेरै व्यस्त भएपछि तीन दिनदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘रगत नपाए बुटवल जानू’ भन्ने पेज सञ्चालन गरेका छन् । त्यसमा १० हजारभन्दा बढी सदस्य बनाएका छन् । ‘तिनै सदस्यमार्फत रक्तदान र अन्य सहयोग संकलनमा लागिरहेको छु,’ चौहानले भने, ‘फेसबुक पेजको सहायताले देशैभरि रगत पठाउन र कहाँ कति अभाव र आवश्यकता छ भन्ने जानकारी लिन सहज भएको छ ।’ करिब पाँच सय जनाको नाम, रगत समूह र कहिले रक्तदान गरे भन्ने विषय आफूलाई कण्ठै रहेको उनले बताए । ‘त्यसले पनि झट्ट सम्पर्क गरेर रक्तदान गराउन सम्भव भएको छ,’ उनले भने, ‘प्रत्येक दिन यो कार्य जारी राखेको छु ।’

कोरोना महामारी नभएका बेला संस्थागत रूपमा हरेक महिना रक्तदान आयोजना गरिन्थ्यो । सदस्य बनेका व्यक्ति रगत दान गर्ने बेला भएपछि आफैं रक्तसञ्चार केन्द्र पुग्थे । अहिले जतिसुकै बेला रगत माग भइरहेकाले दिनरात खटिनुपरेको उनले बताए । अहिले उनीहरू जिल्लामा केन्द्रित छैनन् । मुलुकमा जुन ठाउँमा रगत खाँचो पर्छ, सामाजिक सञ्जालमार्फत साथीहरूसित समन्वय गरेर त्यहीं रगत उपलब्ध गराइरहेका छन् । सामाजिक सञ्जालले गर्दा रगतको जोहो गराउन, यसको महत्त्वबारे बुझाउन सजिलो भइरहेको चौहानले बताए । कोरोना महामारीका बीच गत वर्ष प्रत्येक अस्पतालले प्लाज्मा अनिवार्य गरेका थिए । त्यसबेला काठमाडौं, हेटौंडा, पोखरासम्म प्लाज्मा पठाउन सफल भएको उनले बताए । यसपटक मेडिकल काउन्सिलले प्लाज्माको प्रयोग नगर्ने भनेपछि केही आरामजस्तो भएको उनले बताए ।

अस्पतालले प्रयोग नगर्ने भने पनि बिरामीका आफन्त निको हुन सघाउँछ कि भनेर प्लाज्माको खोजीमा भौतारिने गरेका छन् । त्यसैले माग गर्ने र दान गर्न चाहने व्यक्तिलाई बोलाएर सहयोग गरिरहेको उनले बताए । यसबाहेक गर्भवती, किड्नी डायलसिसका बिरामी, दुर्घटनामा परेका र रक्तअल्पता भएका व्यक्तिका लागि नियमित रूपमै रगत उपलब्ध गराइरहेको उनले बताए । ‘त्यसका लागि लामो समयसम्म राख्न सकिनेलाई त्यही आधार र केही घण्टामा प्रयोग गर्नुपर्ने रगतलाई सोही अनुसार व्यवस्थापन गर्ने गरिएको छ,’ उनले भने । व्यक्तिलाई रक्तदान गर्न लगाउँदा ब्लड बैंकबाट गरिने र समूहगत कुनै संस्थाले सहकार्यका लागि आह्वान गरे प्राविधिकसहित संस्थामै पुग्ने गरेको चौहानले बताए । रगतको कमी भएर बिरामीलाई अप्ठ्यारो नहोस् भनी नेपाल नियमित रक्तदाता संघले जिल्लाका विभिन्न स्थानमा पुगेर रगत जम्मा गर्ने र चाहिएका बिरामीलाई उपलब्ध गराइरहेको छ । सधैंभरि रगत चाहिरहने बिरामीको आवश्यकताअनुसार रक्तदान गर्ने समूह खोज्दै जाने र रगत संकलन गरेर ल्याउने गरेको चौहानले बताए । ‘कतिपय संस्था, व्यक्ति हाम्रो सम्पर्कमा आउनुहुन्छ,’ नियमित रक्तदाता संघका संयोजक लेखनाथ भण्डारीले भने, ‘केही हामी खोज्दै जान्छौं ।’ रगत संकलन गर्न सकिने स्थानको पहिचान गरी त्यहाँका युवालाई सक्रिय बनाएर आफ्नो टोली जाने र रक्तदान कार्यक्रम गरेर संकलन गर्ने गरेको उनले बताए ।

महामारी भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जाने गरेको र बिरामीलाई उपलब्ध गराउने गरेको उनले जनाए । कोरोना महामारीले जन्माएको रोटरी रोट्याक्ट कोभिड–१९ सहजीकरण अभियानले पनि ब्लड बैंकले खोजेअनुसार आफ्ना सदस्यलाई रक्तदानका लागि परिचालन गर्ने, बिरामीको सहयोगका लागि उपलब्ध गराउने गरेको छ । फेसबुक पेज र सदस्यको पहुँचका आधारमा रगत चाहिएका तर कहाँ जाने, कसलाई भन्ने जानकारी नभएकालाई खोजीखोजी सेवा गर्ने गरिएको अभियानका संयोजक सुरज खरेलले बताए । ‘हामी रोटरीको नियमित कार्यक्रमअनुसार वर्षको एक/दुईपटक रक्तदानको कार्यक्रम गर्छौं,’ उनले भने, ‘महामारीका बेला भने अप्ठ्यारोमा पर्ने हरेक बिरामीका लागि रगत, बेड, अक्सिजन र चिकित्सकीय सचना प्रदान गरिरहेका छौं ।’ प्लेटलेट्स चाहिने बिरामी, शल्यक्रिया र डायलसिसका बिरामी कार्यक्रमबाट लाभान्वित भइरहेको उनले बताए । यीबाहेक यहाँका राजनीतिक दल, सहकारी, क्लब र ब्लड बैंकको सम्पर्कमा आई विभिन्न व्यक्तिले रक्तदान कार्यक्रम सञ्चालन गरी सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । कोरोना महामारी नहुँदा ७५ प्रतिशतसम्म रगत चाहिने स्थिति रहे पनि अहिले ३५ प्रतिशतसम्म खपत भइरहेको अस्पतालले जनाए ।

अस्पतालमा अहिले बिरामी आउने क्रम नै कम रहेकाले रगतको खपत घटेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । पहिले सरदर मासिक १ हजारदेखि १ हजार ५ सय प्रसूति, अन्य शल्यक्रिया २० वटासम्म हुने गरेकामा अहिले ५ सय प्रसूति र ५ वटासम्म शल्यक्रिया भइरहेको उनले बताए । ‘पहिले ८ देखि १० पोका रगत दिनको प्रयोग हुन्थ्यो,’ उनले भने, ‘अहिले दुईदेखि चारवटा पोकाले काम भइरहेको छ ।’ कोरोनाको हकमा पनि प्लाज्मा प्रयोग गत वर्षजस्तो नभएकाले कोरोना बिरामीको स्थिति हेरेर प्लाज्मा अनिवार्य नरहेकाले रगतको आवश्यकताअनुसार पूरा भइरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७८ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×